१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसिसी ल्याउनेलाई छाड्दैनौं : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) जबरजस्ती ल्याइए जलाउने चेतावनी दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले एमसिसी जबरजस्ती ल्याइए एमसिसी जलाउनुका साथै त्यो ल्याउनेलाई पनि नछाड्ने चेतावनी दिएका हुन्। एमसिसी राष्ट्रको विरुद्धमा छ, जनताको विरुद्धमा छ। यो नगरौं, यो गर्नुहुँदैन’, उनले भने, ‘एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी रहनेवाला छैन। त्यो एमसिसी त जल्छजल्छ, एमसिसी ल्याउनेलाई पनि छाड्दैनौं, त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्छ।’ उनले एमसिसी राष्ट्रघाती भएको बताए।  

विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे। त्यसैले यसका विरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे। ‘हतार हतारमा जबरजस्ती एमसिसी लादेर एमसिसीको कार्यान्वयनको नाममा सेना ल्याउने, एमसिसीको सुरक्षाको नाममा प्रहरी प्रयोग गर्न थालियो भने त्यो उचित हुन्न’, उनले भने, ‘त्यसो गरिए यो जनताको बिरुद्धमा अपराध हुन्छ। दमन गरेर देश बेच्न पाईंदैन।’ डलरसँग देश साट्न नपाइने भन्दै उनले थपे,‘ त्यसविरुद्ध हामी छौं यहाँ, नेपाल कम्युनिष्ट पार्टी छ।’

एमसिसीविरुद्ध आफूहरुमात्र नभई कर्मचारी र सेना, प्रहरी पनि रहेको उनले दाबी गरे। ‘एमसिसी कर्मचारी, प्रहरी, सेना सबैलाई मनमा ठीक छैन भन्ने लागेको छ। सेना, प्रहरी र कर्मचारीले गलतलाई साथ दिनुपर्छ भन्ने हुँदैन, यसका विरुद्ध उभिन सक्नुपर्छ’, उनले भने।

विप्लवले एमसिसी ल्याउनै पर्ने भए जनताको सहमति र अनुमतिमा ल्याउनुपर्ने बताए। त्यसका लागि राजनीतिक शक्तिहरु, बुद्धिजिवीलगायतसँग गहन छलफल र बहस गर्नुपर्ने बताए। उनले नेपालका राजनीतिक दलहरु कमिसनको लोभमा एमसिसी ल्याउन लागिपरेको आरोप लगाए।

प्रकाशित: ६ आश्विन २०७८ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App