८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ का लागि तीन नाम प्रस्ताव

पहिलो पटकको प्रयास असफल भएपछि प्रदेश २ को नाम अंकबाट अक्षरमा बदल्ने कसरत पुनः सुरु भएको छ। प्रदेशको राजधानीमा सत्ताधारी दल र माओवादी केन्द्रको एउटै नामको प्रस्ताव दर्ता भएको छ भने नेकपा एमाले र नेपाली कांग्रेसको फरकफरक नामको प्रस्ताव दर्ता भएको छ। प्रदेशको नाममा तीन प्रस्ताव दर्ता भएका छन् भने राजधानीको नाममा चारै दलको एकमत प्रस्ताव छ।

नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको राजनधानी जनकपुरमा एकमत छ । तर राजधानीमा नेकपा प्रदेशको नाममा सता पक्ष जनता समाजवादी पार्टी र माओवादी केन्द्रले मधेस र नेकपा एमालेले जानकी प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको प्रस्ताव मिथिला भोजपुरा छ।

एमालेका प्रदेश सांसद प्रमोदकुमार यादवले प्रस्ताव गरेको जानकी नाममा सांसद वेंची लुंगेली, डिल्लीप्रसाद उप्रेती र नागेन्द्र राय यादवले समर्थन गरेका छन। एमालेका सांसद रवीन्द्र बैठा धोबीले प्रस्ताव गरेको जनकपुरधाम राजधानीलाई सांसदहरू डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव र हसिमा खातुनले समर्थन गरेका छन्।

प्रदेश नामकरण र स्थायी राजधानी तोक्न जसपा र माओवादी केन्द्रले एउटै नामको प्रस्ताव दर्ता गराएका छन्। जसपाका सांसद शैलेन्द्रकुमार यादवले दर्ता गराएको मधेस प्रदेश प्रस्तावमा सांसदहरू रानीकुमारी तिवारी, वविता कुमारी र सावित्रीदेवी साहले समर्थन जनाएका छन्। जसपा सांसद प्रमेश्वर साहको जनकपुरधाम राजधानी प्रस्तावमा सांसदहरू चमेलीदेवी दास, सञ्चमाया मोक्तान र नीराकुमारी साहले समर्थन गरेका छन्। माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम प्रस्तावमा सांसदहरू दिलीपकुमार साह र जगत प्रसाद यादवले समर्थन गरेका छन्।

 नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ हुनुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएको छ। बिहीबार कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए। कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावको प्रदेशसभा सदस्य मन्जु कुमारी यादव र प्रमिला देवी दासले समर्थन गरेकी छिन्। राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले दर्ता गराएका छन्। यस प्रस्तावको समर्थन प्रदेशसभा सदस्य नरेशकुमार यादव र वीरेन्द्र प्रसाद सिंहले गरेका छन् । कांग्रेसले यसअघि पनि प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराएका थिए।  

एमाले–माओवादीको एकिकृत पार्टी नेकपाले यस अघि प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेका थिए। अहिले दुई पार्टी पहिलाकै अवस्थामा फर्केपछि माओवादी केन्द्र मधेस प्रदेशको पक्षमा उभिएका छन्। जसका कारण प्रदेशको नामांकन र राजधानीको टुंगो लगाउन बाटो सहज भएको छ । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ बहुमत चाहिन्छ। प्रस्ताव दर्ताका लागि बिहीबार ३ बजेसम्मको समयसीमा तोकिएको थियो। प्रदेशसभामा माओवादी केन्द्रका ४ जना निलम्बन भएपछि १ सय ३ जना सांसद छन्। दुईतिहाइ हुन ६९ सासदको मत आवश्यक। सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेस १९ र नेपाल समाजवादी पार्टीका एकजना सांसद छन्।

प्रकाशित: १० वैशाख २०७८ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App