३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘जनयुद्ध’ को त्यो पहिलो फौजी कारबाही

नेता गणेशमान पुन ।

राजतन्त्र समाप्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्धमा जाने अन्तिम तयारीमा माओवादी थियो। आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गर्ने माओवादीले तयारी गर्‍यो। रुकुम आक्रमणको नेतृत्व गर्ने मौका माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले मौका पाए।

त्यतिबेला क्षेत्रीय ब्युरो (हालका गृहमन्त्री रामबहादुर थापा उक्त ब्युरो इन्चार्ज थिए) ले गणेशमान पुनलाई रुकुमको आठबीसकोटमा रहेको प्रहरी चौकीमा फौजी कारबाही गर्ने टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको थियो। क्रान्ति र संघर्षको मैदानमा होमिएका पुनका लागि यो जिम्मेवारी चुनौती मात्रै थिएन, सिंगो पार्टीको अभियानसँग पनि त्यो जोडिएको थियो। ‘उक्त जिम्मेवारी पाउँदा मैले गर्वको महसुस गरें,’ उनले भने।

२०५२ फागुन १ गते तत्कालीन माओवादीले थालेको ‘जनयुद्ध’ २०६३ मंसिर ५ सम्म चलेको थियो। 

उनका अनुसार पार्टीले फागुन १ गते राति दुलीको खोलाखेतमा जम्मा हुन निर्देशन गरेको थियो। अस्ताउँदो सूर्यसँगै योद्धा (लडाकु) खोलाखेतसम्मको यात्रामा हिँडे। गणेशमान पनि पीपल, छिन्खेत हुँदै खोलाखेत पुगे। ‘त्यहाँ पुग्दा केही साथीको जमघट भइसकेको थियो। अरू साथीहरू पनि आउनुभयो,’ पुनले भने, ‘करिब ३०/३५ जनाको संख्यामा थियौं। हामीसँग हतियारका नाममा भरुवा बन्दुक मात्र थियो। अरू घरेलु हतियार मात्रै थिए। पार्टी इन्चार्ज सुदर्शन (हेमन्तप्रकाश ओली) ले राजनीतिक प्रशिक्षण दिनुभयो। त्यतिबेला सबैलाई जिम्मेवारीपूर्वक लडाइँ लड्ने भन्ने निर्देशन भयो।’

उच्च मनोबल र विद्रोही भावना लिएर जनयुद्धको प्रथम लडाइँमा पाइला चालेको उनले बताए। ‘ठूलो चुनौती थियो। दुस्मन (प्रहरी) सँग हतियार थियो। तर राजनीतिक प्रशिक्षणबाट ती हतियारभन्दा घरेलु हतियार नै शक्तिशाली र प्रभावकारी भन्ने कुरा हाम्रो मस्तिष्कमा घुसेको थियो,’ उनले भने। खोलीखेतबाट हिँडेको टोली बीच बाटोमा कैयौं अप्ठ्यारा परिस्थिति चिर्दै आठबीस डाँडागाउँको बार्खुमा पुग्यो। मध्यरात भएकाले गाउँ सुनसान थियो। बार्खुमा टोलीले अन्तिम प्रशिक्षण पायो। त्यहाँ टोलीको नेतृत्व गरेका पुनले प्रशिक्षण र निर्देशन दिएका थिए। त्यहाँ चार समूहमा विभाजन हुनेगरी जिम्मेवारी बाँडिएको उनले बताए।  

यज्ञश्वर शर्मा, दौलत घर्ती, मेघबहादुर श्रेष्ठ र महेश्वर गहतराजले एक÷एक समूहको नेतृत्व गरे। यसको प्रमुख नेतृत्वकर्तामै थिएँ। त्यतिबेला टाढाबाट ढुंगामुढा र हातहतियार प्रयोग नगर्ने भन्ने थियो। ‘किनकि हामीले हानेको हतियार उनीहरूसम्म पुग्न सक्दैनथ्यो। उनीहरूले हानेको गोली हामीसम्म आइपुग्न सक्थ्यो। त्यसैले हामीले सरप्राइज (उपहार) दिनेगरी कब्जा गर्नुपर्छ भन्ने रणनीति लियौं। त्यो भनेको प्रहरी सुतेको बेला एक्कासि गएर समाउने,’ उनले भने, ‘त्यतिबेला रेडी अप्रेसन कमान, गो अट्याक भनेपछि मात्र एकसाथ कब्जामा जाने भन्ने निर्देशन गरेको थिएँ। सोहीअनुसार हाम्रो टोली प्रहरी चौकीतिर उन्मुख भयो। त्यहाँ करिब ढेड घन्टाजति तयारी गर्‍यौं। झमक्कै रात परेकाले प्रहरी सुतेका थिए। ब्यारेक थियो। नजिकै प्रमुख सुत्ने छुट्टै, हिरासत र परिवारसहितका प्रहरी बस्ने छुट्टै थियो। सोहीअनुसार हामी विभाजित थियौं।’

पुनका अनुसार प्रहरीचौकी पुग्नुभन्दा पहिला एउटा समूह थियो, जसले त्यहाँको अवस्थाबारे जानकारी दिन्थ्यो। सबै सुतिसकेको अन्तिम जानकारी आएपछि टोली प्रहरी चौकी पुग्यो। ‘मैले निर्देशन दिनेबित्तिकै अरू साथीहरूले ढोका फोरेर भित्र पस्नुभयो। सुतिरहेको हुँदा प्रहरीले प्रतिकार गर्न पाएनन्। मैले उनीहरूलाई जनयुद्धको सुरुवात भइसकेको, इतिहासको जिम्मा जनताको हातमा आएको हुँदा यसमा सहयोग गर्नुस् भन्दै सम्झाएँ। त्यतिबेला हामीले हत्या गर्ने मनशायले धम्काएनौं,’ उनले भने, ‘हामीले आक्रमण गर्दा करिब २ बजेको हुँदो हो। प्रहरी चौकी कब्जा गर्न भने समय लागेन। दोहोरो भिडन्त भएको भए लामो समय लाग्थ्यो।’

टोली कार्यालयमा भएका विस्फोटक पदार्थ, हतियार र कागजात कब्जामा लियो। प्रहरीका व्यक्तिगत सामान, पैसा, कपडा फिर्ता दियो। जनता पनि प्रहरी चौकीसम्म पुगे। माओवादीको अभियानलाई हौसला दिए। ‘शाही सत्ताको निरंकुश व्यवस्थाले आजित जनताले हामीलाई धन्यवाद दिँदै त्यहाँबाट बिदाइ गरे। त्यतिबेला मिर्मिरे उज्यालो हुन लागेको थियो,’ पुनले भने, ‘प्रहरीचौकी कब्जा हुँदा मैले पाएको जिम्मेवारी एकखालको पूरा भएको अनुभूति भयो। तर राजतन्त्रलाई समाप्त गरेर जनगणतन्त्र स्थापना गर्ने कैयौं आन्दोलन बाँकी नै थिए।’  

उनका अनुसार त्यो पहिलो युद्धमा कमला रोका, नारायणी शर्मा, लालकुमारी रोकालगायत महिला लडाकु पनि सहभागी थिए। जनयुद्धको पहिलो फौजी कारबाही सफल भएपछि पार्टी नेतृत्वले धन्यवादले ठूलो मनबल बढाइदिएको उनले बताए। ‘जनयुद्ध घोषणा हुँदाको पहिलो फौजी कारबाहीको नेतृत्व मैले गर्न पाएँ र सफल पनि भएँ,’ उनले भने, ‘जीवनको पहिलो सुखी त्यही विजयको क्षण थियो। हामी जनतालाई जनताको शासन दिन चाहन्थ्यौं। मेरो आजसम्मको अध्ययन र अनुसन्धानमा विश्व इतिहासका कुनै पनि क्रान्ति यति विस्तृत तयारी र योजनाबद्ध ढंगले सुरु गरिएका छैनन्।’ २०५२ फागुन १ गते तत्कालीन माओवादीले थालेको ‘जनयुद्ध’ २०६३ मंसिर ५ सम्म चलेको थियो।

प्रकाशित: १ फाल्गुन २०७७ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App