७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

रुकुम पश्चिममा भएको हत्याको घटना अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा  प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराए।  

उनले भने “रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा मा २०७७ साल जेठ १० गते घटेको घटनाको सम्बन्धमा अघिल्ला बैठकहरुमा पनि कुरा उठेको र आजको बैठकमा पनि मानीय पुष्पा भुसाल गौतमले कुरा उठाउनुभएको छ। त्यसैले यी विषयहरुलाई सम्बोधन गर्न उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने व्यहोरा माननिय सदस्यहरुलाई जानकारी गराउँदछु।”

यसअघिका प्रतिनिधिसको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए। तर संसदीय समिति गठनको प्रक्रिया अघि नबढेपछि शुक्रबारको बैठक सुरुहुने वित्तिकै प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। लगत्तै सभामुखबाट बोल्ने समय पाएकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले घटनालाई राजनीतिकरण गर्न खोजेकाले प्रतिपक्षी दल संशकित भएको भन्दै संसदीय समिति गठन को माग गरिएको बताइन्। उनले घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी गरिन्।  

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए।

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App