थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावातबीच आज भेटवार्ता हुँदैछ।
थाइल्याण्डको सरकारी भवनमा हुने भेटवार्ताअघि ओली थाइ समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो।
यो भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच छ वटा सहमतिपत्र आदानप्रदान हुने छन्।
सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि ओली थाइ समकक्षी सिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन्। आजै ओलीले थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणका लागि मङ्गलबार अपराह्न बैङ्कक आइपुगेका हुन्। प्रकाश सिलवाल/रासस
प्रकाशित: २० चैत्र २०८१ ०६:५३ बुधबार