काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालय प्रवेशसँगै रोकिएको तलब एकमुष्ट वितरण सुरु गरेको छ।
सोमबारबाट तलब निकासा थालेको महानगरले आधाभन्दा बढी कर्मचारीको खातामा रकम जम्मा गरिसकेको छ।
प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो। सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले यो हप्ताभित्र सबैको तलब भुक्तानी सकिने बताए।
गुरागाईं गत बिहीबार कार्यालयमा हाजिर भएपछि तलब निकासालाई पहिलो प्राथमिकता दिएका थिए। शिक्षकहरूले ५ महिना र कर्मचारी तथा जनप्रतिनिधिले ३ महिना (चैतसम्म) को तलब पाउन बाँकी थियो।
महानगरले चैतसम्मको तलबका लागि करिब ४० करोड रुपैयाँ खर्च गरेको छ। जुन एनआइसी बैंक र नेपाल बैंकमार्फत वितरण भइरहेको छ।
महानगरमा स्थायी, करार, दोहोरो हाजिरी र ज्यालादारीसहित ४ हजारभन्दा बढी जनशक्ति छन्, जसमध्ये १७ सयभन्दा बढी शिक्षक छन्। प्रत्येक महिना तलबमा साढे १२ करोड खर्च गर्ने महानगरले यसपटक एकमुष्ट भुक्तानी गरेको हो।
मेयर बालेन्द्र साहको तलब निकासा भइसकेको स्रोतले जनाएको छ। माघदेखि रोकिएको उनको तलब जनप्रतिनिधि र कर्मचारीसँगै निकासा भएको थियो।
प्रशासकीय अधिकृतको अभावमा तलब रोकिएको अवस्थामा उपमेयर सुनिता डंगोल र जनप्रतिनिधिले गुरागाईंलाई बिहीबार हाजिर गराएका थिए।
प्रकाशित: २५ चैत्र २०८१ १६:४१ सोमबार