नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालको गणतन्त्रविरुद्ध लागेको कुरामा आफूलाई विश्वास नभएको बताएका छन्। सोमबार भारतीय नेतासमेतको उपस्थितिमा गणेशमानसिंह फाउन्डेसनले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याउनुभएको योगदान विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘कहिलेकाहीँ कुरा उठिरहेका छन्, तर मलाई विश्वास छैन। कि नेपालमा राजसंस्था चाहिएको छ, पूर्व राजा। भारतको के छ ? भन्ने हल्ला चलिरहेको छ,’ सभापति देउवाले भने, ‘कहिलेकाहीँ कुरा उठाउँछन्, भारतले नै उचाल्यो कि भन्ने पनि छन्।’
फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीले भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर बोकेको प्रसङ्ग पनि देउवाले उठाए।
‘यहाँ आदित्यनाथको फोटो समेत छापियो। तर, मलाई के थाहा छ भने भारत गणतन्त्रको पक्षमा छ,’ उनले भने। आदित्यनाथले आफै त्यो विषय खण्डन गरेको पनि देउवाले बताए। उनले भने, ‘भारतमा हाम्रो दूतावास छ, आदित्यनाथजी दूतावासमै गएर झुटा कुरा हो, नेपालमा मेरो कुनै हात छैन । नेपाली जनता जे चाहन्छन् त्यही हुन्छ । हामी राजा ल्याउने पक्षमा छैनौँ भनेर आफैले भनेको कुराले हामीलाई के लागेको छ भने अवश्य नै भारत नेपालसित छ। गणतन्त्रसित छ। प्रजातन्त्रसित छ। खिलाफमा छैन भन्ने हामीलाई लागेको छ।’
अहिले नेताहरू आइदिएर पनि त्यो कुरा थप पुस्टाइ भएको सभापति देउवाले बताए। ‘तपाईँहरूमार्फत भारतीय सरकार र जनतालाई पनि धन्यवाद दिन चाहन्छु,’ उनले भने।
प्रकाशित: २५ चैत्र २०८१ १६:३१ सोमबार