१ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

न रहे आफन्त, न घर: छैन दसैँको रौनक

दसैँ नजिकिँदै गर्दा निराजन पौडेलको मन पटकपटक झुक्किन्छ। बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, 'ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।'  

तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ। दसैँको झल्कोसँगै उनको मनमा भोटेकोशी बाढीको अकल्पनीय कल्पना आउँछ र त्यसले आफ्नो गाउँबस्तीको बिभत्स दृश्य आँखै अगाडि ल्याइदिन्छ।

जुन घरमा दसैँको खुसी छाउँथ्यो, परिवारसँगै बसेर विगतका दसैँहरु मनाइन्थ्यो आज त्यो घर नै छैन। जुन घरको आँगनमा परिवार र आफन्तसँग आत्मीयता र अपनत्व खुल्थ्यो, आज त्यो आँगन बाढीले बगर बनाइदिएको छ। बाढीले घरसँगै गाउँ फर्कने र रमाउने निराजनको सपना पनि बगाइदिएको छ। त्यसैले एकैछिनको मनको उमङ्गले उनलाई पटकपटक झस्काउँछ।

दसैँ आयो, कैयौँ प्रदेशी घर फर्कन पाउँदैनन्। कसैलाई रोजगारीले रोक्छ, कसैलाई गरिबीले, त कसैलाई बाध्यताले छेक्छ। तर निराजनको पीडा यी सबैभन्दा फरक छ। उनको फर्कने घर नै छैन। अरूका लागि घर पुग्ने हतारो भइरहेको दसैँ उनका लागि भने आँशु भएर आएको छ।  

विडम्बना पनि कस्तो भने दसैँको यो छेकोमा निराजनको मन भने आफूले गुमाएको घरको सम्झनामा डुबुल्की मारिरहेको छ। दसैँमा घर पुगेका कैयौँले यतिखेर आफ्ना घरको ढोका खोलिरहँदा निराजनको मनले भने सम्झनाको ढोका खोलिरहेको छ र त्यो खाली घरमा विगतका खुसीहरू खोजिरहेको छ।

दसैँमा गाउँ फर्कने बाटो त बनेको छ तर तर टेक्ने आँगन छैन। सम्झनामा घर छ तर आँखा अगाडि भने बगर। अनि छातीभित्र कहिल्यै निको नहुने घाउ र नपुरिने रिक्तता। हो, यतिखेर सहरतिर दसैँको माहोल बढ्दै जाँदा निराजनलाई भने भदौ १० गतेको कहालीलाग्दो बज्रपातले पिरोलिरहेको छ। त्यो दिन उनलाई न सम्झन मन छ, न बिर्सन नै सक्छन्।

नुवाकोटको विदुर नगरपालिका स्थित सोलेका निराजन पौडेलले भदौ १० गते सर्वस्व गुमाउन पुगे। बुबा वासुदेव पौडेलसहित आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बाढीमा बेपत्ता भए।

अहिले उनीसँग न ती प्रियजन छन्, न बाबाआमाले सिन्कासिन्का जोडेर परेवाले गुँड लगाए झैँ जोडेको सम्पत्ति नै बाँकी रह्यो। आफ्नो घरखेत कहाँनिर थियो भन्ने सङ्केत नै छैन।  

'बाबा, दसैँ आयो नी। हामी गाउँ कहिले जाने ? आमाबुबा (हजुरबा-हजुरआमा) ले ‘पिङ खेल्न आऊ है झट्टै’ भनेर किन फोन नगरेको होला ? आजभोलि भिडियो कल किन नगरेको ? दसैँमा घर जाँदा म त रिसाउने हो।'

यसरी पाँच वर्षीय छोरा लियान पौडेलले बारम्बार राखिरहेको जिज्ञासाले निराजन आँशु नै थाम्न सक्दैनन्। छोराले थाहा नपाओस् भनेर कहिले बाथरुममा, कहिले अर्को कोठामा गएर रुन्छन् र पानीले आँखा धुन्छन्। 'बाबा, दसैँमा सोले घर गएर पिङ खेल्नुपर्छ भनेर छोराले सोध्दा म त आफूलाई सम्हाल्न नै सकिरहेको हुन्न', निराजन भन्छन्।

अबोध छोरा लियानलाई के थाहा ? भोटेकोशीको बाढीले सोलेको घर छैन, हजुरबा र हजुरआमालाई पनि बाढीले बगायो भनेर। लियानलाई दसैँ आएपछि गाउँको घर पुगिन्छ, हजुरबुबाले हालिदिएको पिङ खेलिन्छ, हजुरआमासँग भेट हुन्छ र पोहोर सालको जस्तै रमाइलो हुन्छ भन्ने लागिरहँदो हो। छोराको चित्त कसरी बुझाउने भनेर निराजन अलमलमा छन्।

'छोरालाई केही थाहा छैन। अझै पनि दसैँमा सोले घर जाने र पिङ खेल्ने भनिरहेको छ। म अर्को कोठामा हुँदासमेत उसको आमाको फोनबाट घर अनि अघिल्लो दसैँमा नै हालिदिएको पिङ देखाउन भन्छ। ऊ आफ्नो घर छ कि छैन भनेर निश्चित हुन खोजिरहेको जस्तो गर्छ', निराजनले भने।

गाउँघरको दसैँको रौनक निराजनका लागि अब सम्झनामा मात्रै छ। आमाले कमेरो र रातोमाटो लगाएर घर लिपपोत गर्न थालेपछि दसैँ घरआँगनीभित्र भित्रिन तम्तयार भएको भान हुन्थ्यो। थाक्रोमा पाकेर पट्ट फुट्न लागेको काँक्रा हुन्थे। दसैका लागि भनेर आमाकै हातले बनाएका अचार हुन्थे। दसैँमा काट्नुपर्छ भनेर वरपर घाँस नकाटी राखिन्थ्यो। घरवरपरका झाडी सफा गरेर चिरिच्याट्ट बनाइन्थ्यो। निराजन दसैँ बिदा भएपछि दसैँका लागि भनेर दाउरा खोज्न गएर आमालाई सघाउँथे। प्रदेशीहरू गाउँ फर्कन्थे।

'गाउँ नै रमाइलो, दसैँ रमाइलो,

दसैँ आउँदा मनमा पीर भए नी यसै रमाइलो।'

अघिल्लो दसैँसम्म शिव हमालको शब्द तथा सङ्गीत र विमल परियार तथा सविता परियारको स्वरमा सजिएको यो दसैँको गीत घन्कन थालेपछि निराजनको मनमा पनि उत्सवको माहोल आउँथ्यो। दसैमा झनै रौनक देखिने, रमाइलो लाग्ने त्यो गाउँ नै अब त उजाड बगर बनिसकेको छ।  

जब पढाई र रोजगारीको सिलसिलामा निराजन काठमाडौं आए, कहिले छुट्टी होला र गाउँ जाउँलाजस्तो हुन्थ्यो। यसपटक बुबाले घरमा प्लास्टर गरेका थिए। त्यही प्लास्टर गरेको घरमा बसेर टीका र जमरा लगाउँला, आफन्त र साथीभाइसँग भेटौँला भन्ने सोच बनाएका थिए निराजनले। ती आफन्त, काकाकाकी अनि साथीभाइलाई बाढीको भेलले बगायो, अब कहिल्यै भेट्न नपाइने गरी।

'बुबाआमाले हरेक वर्ष फोन गरेर सोध्नुहुन्थ्यो, 'दसैँमा कहिले आउँछौँ ? कति दिन बस्छौँ ? कति मासु खाने ?', निराजन भन्छन्। सधैँको दसैँमा जस्तै यसपटक पनि आमाले यसो भन्दै फोन गरिदिए पनि हुन्थ्यो जस्तो लाग्छ निराजनलाई।

'अहिले हामीलाई दसैँ आएको हो कि अरू कुनै दिन हो, छुट्याउनै गाह्रो छ। पहिला दसैँ आउँदा छुट्टै खुसी हुन्थ्यो। अहिले त चाडपर्व आएको अनुभूतिसमेत हुँदैन', निराजन भन्छन्।

भूकम्पले विस्थापित, बाढीले सर्वस्व  

विसं २०७२ को भूकम्पले निराजनको परिवारलाई घरबाट विस्थापित गरेको थियो। भूकम्पले गाउँको घर बस्न नमिल्ने भएपछि परिवारका केही सदस्य तल बेँसीतिर झरेका थिए। त्यहाँ जग्गा किनेर घर बनाइएको थियो।

खेतीपातीबाट हुने आम्दानी पनि परिवारको जीवनयापनको आधार बनेको थियो। भूकम्पपछि बनेको घरमा परिवारले विस्तारै जीवन व्यवस्थित गर्दै लगेको थियो। घर निर्माण भएको एक दशकभन्दा बढी समयपछि बल्ल त्यसलाई अझ राम्रो बनाउने योजना अघि बढ्यो। बुबाले दुई महिनाअघि मात्रै घरमा प्लास्टर गर्न लगाएका थिए। दसैँमा परिवारका सबै सदस्य आउँदा घर राम्रो देखियोस् भन्ने उनको चाहना थियो। घरको स्वरूप फेरिँदै थियो। परिवारका सपना पनि साकार हुँदै थिए। तर, भदौ १० गते आएको बाढीले ती सबै सपना क्षणभरमै बगाइदियो।

बाढी आउनुभन्दा केही समयअघि निराजनले परिवारलाई गाउँमा नबस्न आग्रह गरेका थिए। अघिल्लो वर्ष पनि भोटेकोशीमा बाढी आएपछि जोखिम बढेको महसुस गर्दै उनले बुबाआमालाई काठमाडौं आउन भनेका थिए। नातिको हेरचाह गर्नका लागि पनि परिवारलाई काठमाडौं ल्याउने सोच थियो निराजनको। तर, बुबा विद्यालयमा अध्यापन गराउँथे। अवकाश हुन अझै तीन वर्ष बाँकी भएकाले बुबाले अब दसैँको पेस्की लिएर सोचौँला भनेको निराजन सुनाउँछन्।

'मैले बुबाआमालाई अब त्यहाँ नबस्नुस्, जोखिम छ, काठमाडौं आउनुस् भनिरहेको थिएँ। तर, यस्तो विपत्ति आउला भन्ने कसैले कल्पना गरेका थिएनौँ', निराजनले सम्झिए। यदि बुबाआमा काठमाडौं आएको भए सम्पत्ति गुमाए पनि उनीहरूलाई त गुमाउनु पर्दैनथ्यो भन्ने लाग्छ उनलाई।

पेसाले पत्रकार निराजन भदौ १० गते कार्यालयमा थिए। रातोपाटीमा कार्यरत उनी बाढी आएको खबर पाउँदा सुरुमा सामान्य बाढी होला भन्ने ठाने। यसअघि पनि खोला बढ्ने र बाढी आउने गरेकाले यसपटक पनि त्यस्तै होला भन्ने लागेको थियो उनलाई। तर, केही समयपछि गाउँमा बाढी पसिसकेको खबर आयो। काठमाडौंमा बस्ने अर्जुन पौडेलले फोन गरेर बाढी सोलेसम्म आइपुगेको बताए। प्रत्यक्ष दृश्य र समाचारबाट बाढीको भयावहता थाहा हुन थालेपछि निराजनले परिवारका सदस्यलाई फोन गर्न थाले। पहिले आमालाई फोन गरे। सम्पर्क हुन सकेन। बुबालाई फोन गरे, लागेन। काका र बहिनीलाई फोन गर्दा पनि सम्पर्क हुन सकेन।

फोन नलागे पनि निराजनको मनमा परिवारका सदस्य सुरक्षित ठाउँमा पुगेको विश्वास थियो। यसअघि बाढी आउँदा गाउँका मानिस माथितिर सुरक्षित स्थानमा गएर बसेका थिए। यसपटक पनि सबै जना जङ्गलतिर वा माथिल्लो गाउँमा पुगेका होलान् भन्ने उनलाई लाग्यो।

'मलाई दिउँसो २ः०० देखि ३ः०० बजेसम्म सबै जना सुरक्षित हुनुहुन्छ होला भन्ने लागेको थियो। फोन नलाग्नु सामान्य समस्या होला भन्ने सोचेको थिएँ', उनले भने। पछि गाउँका मानिससँग सम्पर्क हुन थालेपछि अवस्था झन् भयावह भएको थाहा भयो। कतिपयले स्पष्ट रूपमा केही भन्न सकिरहेका थिएनन्।

गाउँबाट अब सम्हालिनुपर्छ भनेर फोन आउँदा भने उनका मनमा चिसो पस्न थाल्यो। तर पनि उनलाई परिवारका सदस्य कतै जङ्गलमा बसेका होला, फर्किहाल्छन् होला भन्ने लागिरह्यो। दिन बित्दै गए। परिवारका सदस्यको अवस्था पत्ता लागेन। शव पनि फेला परेनन्। कुशको शव बनाएर काजकिरिया गरियो।

'अहिले पनि मनले उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन। कतै जङ्गल या ओडारमा बसिरहनुभएको छ कि भन्ने लाग्छ। कहिलेकाहीँ फोन हेर्न मन लाग्छ। अब दसैँमा घर आउनु भनेर फोन गर्नुहुन्छ कि जस्तो लाग्छ', उनी भन्छन्।

बहिनी हिमानी चीनमा सिभिल इन्जिनियरिङ पढ्दै थिइन् र बिदामा घर आएकी थिइन्। बाढी आएको दिन उनी काकासँग काठमाडौं आउने तयारीमा थिइन्। पन्ध्र किलोमिटर टाढा पढाउने भएकाले बुबा स्कुलनजिकै बस्थे। त्यस दिन भने भतिजीलाई बिदा गर्न घर आएका थिए। त्यही दिन आएको बाढीले सबैलाई बगाएर लग्यो।

निराजनका गाउँका ७८ जना अझै बेपत्ता छन्। अब विपत्तिले दिएको यो मानसिक पीडा कसरी कम गरेर अगाडि बढ्ने भन्ने लागिरहेको छ उनलाई। उनका अनुसार यस्तो विपत्तिबाट प्रभावित मानिसलाई मानसिक रूपमा सम्हालिन समय र राज्यको सहयोग दुवै आवश्यक छ।

'हामीलाई अब राज्यको अभिभावकत्व चाहिएको छ। घर कहाँ बनाउने ? कसरी बस्ने ? कसरी जीवन चलाउने ? भन्ने आधार चाहिएको छ। कतिपय बालबालिकाले अभिभावक गुमाएका छन्। उनीहरूलाई कसरी सम्झाउने र उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने पनि सोच्नुपर्छ', उनको सुझाव छ। 

प्रकाशित: ३० आश्विन २०८३ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App