प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तनबारे टिप्पणी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन्। उनले अवकाश प्राप्त व्यक्तिलाई नियुक्त गरेर चमत्कारको रूपमा व्याख्या गरिएको भन्दै आपत्ति जनाए।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘म र मेरो सानुबुबा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो ? अनि अहिले नियुक्ति गर्ने बित्तिकै उज्यालो आएको हो ?’
उनले वर्षौं लगाएर गरिएको मेहनतलाई ‘जादु’ र ‘चमत्कार’ भन्दै प्रचार नगर्न पनि चेतावनी दिए।
प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तनलाई लिएर एकजना मित्रको स्ट्याटस पढेको प्रसङ्ग उल्लेख गर्दै भने, ‘अवकाश प्राप्त भइसकेको मान्छेलाई फेरि ल्याएर नियुक्त गरियो। कुनै नयाँ व्यक्ति बाहिरबाट ल्याइएको होइन, त्यहीँ हुर्केको क्याडरलाई नियुक्त गरिएको हो। त्यस्तो व्यक्तिलाई निकम्मा बनाइएर सरुवा गरियो, अनि अर्को ठाउँमा अवकाश प्राप्त व्यक्तिलाई ल्याएर राखियो।’
उनले थपे, ‘अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यही काममा बितेको हो। त्यसबेला उज्यालो आएको थिएन, तर नियुक्ति गर्ने बित्तिकै बिजुली, ट्रान्समिसन लाइन, चिम बोकेर आएका हुन् ?’
प्रधानमन्त्री ओलीले वर्षौं लगाएर गरिएको मेहनतको श्रेय एकैपटक नयाँ नेतृत्वलाई दिन खोज्नु गलत भएको भन्दै भने, ‘वर्षौँको लगानीलाई जादु वा चमत्कार भनेर व्याख्या गर्नु गलत हो। कोही पनि भ्रममा नपरून्।’
उनले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए। उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहरुहरुले विरोध सुरु गरिसकेको सुनाए। आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको उनको भनाइ थियो।
प्रकाशित: १२ चैत्र २०८१ १६:१५ मंगलबार