राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले र राष्ट्रपतिको ठाउँमा राजा राख्दैमा व्यवस्था बदलिएको नहुने बताएका छन्।
'राष्ट्रपतिको ठाउँमा राजा राख्दैमा व्यवस्था बदलिएको हुँदैन। यो त शिरमा लगाएको टोपी परिवर्तन गरेको जस्तो मात्रै हो। शिरको टोपी राजाको लाउनुहोस् वा राष्ट्रपतिको तर, टाउकोदेखि शरीरसम्मका थुप्रै अङ्गको यहाँ उपचार आवश्यक छ,' उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।
उनले व्यवस्था बदलिनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताएका छन्। उनले थपेका छन्, 'न्यायलय, अख्तियारलगायत निकायमा हुने दलीयकरण अन्त्य गर्दै छिटो छरितो न्याय सेवा र शक्तिशाली अख्तियार बनाएर, इन्तु, किन्तु, परन्तु केही नभनी प्रदेश खारेज गरेर, झन्टझटिलो सार्वजनिक सेवाको आमूल रूपान्तरण गरेर, निर्वाचन प्रणाली बदलेर, जनताको माग- सनातन हिन्दूत्वको पहिचान जोगाएर र राइट मेन एट राइट प्लेस हुनेगरी राजनीतिक हस्तक्षेपमुक्त राज्यका सेवामा नियुक्ति, सरूवा, बढुवाको प्रणाली स्थापना गरेर व्यवस्था बदल्न सकिन्छ।'
उनले चैत १५ को आन्दोलनमा पुष्पकमल दाहाललाई दुर्गा प्रसाईंले उछिन्ने दाबीसमेत गरेका छन्। 'चैत्र १५ गतेको आन्दोलनमा जनसहभागिताको हिसाबमा दुर्गा प्रसाईंले प्रचण्डलाई उछिन्ने छन् र भोलिकै दिनबाट नेपालमा 'प्रचण्ड युग'को अन्त्य सुरु हुनेछ,' उनले लेखेका छन्।
प्रकाशित: १४ चैत्र २०८१ १९:१९ बिहीबार