प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्रधानमन्त्रीको सालो भनेर भ्रम फैलाइएको बताएका छन्।
बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै खरेलले भने, ‘मान्छेहरूले जथाभावी जोड्छन्, प्रधानमन्त्रीको सालो भनेर लेखिदिएका छन्। प्रधानमन्त्रीज्युको श्रीमती शाक्य समुदायकी हुनुहुन्छ, त्यसो भए देशभरका सबै शाक्य उहाँका सालो हुने भए, ससुरा हुने भए।’’
खरेलले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा पनि टिप्पणी गर्दै घिसिङलाई सामान्य तहका कर्मचारी भएको बताए। उनको सरकारसँग प्रस्तुत हुने उनको तरिकामाथि प्रश्न उठाए।
‘’कुलमान घिसिङ ११औं वा १२औं तहका कर्मचारी हुन्। नेपाल सरकारसँग त्यस्ता धेरै कर्मचारी छन्। उहाँलाई जस्तै धेरैलाई सरकारले कारबाही गरेको होला। कुलमान आफैं पनि आउँदा कसैलाई हटाएरै आएका हुन्,’’ खरेलले भने।
सरकारले गत चैत ११ गते कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। यस निर्णयविरुद्ध चौतर्फी आलोचना हुँदै आएको छ। घिसिङका पक्षमा काठमाडौंमा प्रदर्शनसमेत भएका छन्।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यबारे टिप्पणी गर्दै खरेलले उनी पहिले नै सोही पदमा काम गरिसकेको हुनाले जिम्मेवारी सम्हाल्नेमा आशा गर्न सकिने बताए। ‘’अब यो विषय अदालतसम्म पुगेको छ। दुवै पक्ष अदालतमा छन्, अदालतले जे गर्छ, त्यसैअनुसार अघि बढ्छ,’’ उनले जोड दिए।
प्रकाशित: १३ चैत्र २०८१ २०:५० बुधबार