नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई जनकमान्डर बनायो। 'दरबार'कै सक्रियतामा 'बनेको' उक्त समितिले प्रसाईंलाई जनकमान्डर बनाएपछि धेरैले राजेन्द्र लिङ्देन र कमल थापालाई सम्झिए, जसले राजावादी दल राप्रपा र राप्रपा नेपाल नेतृत्व गरेर बसिरहेका छन्।
तर, राजावादी आन्दोलनको जनकमान्डर भने कसरी प्रसाईं बने ? जसको पृष्ठभूमि राजावादी होइन, जसले बढी जीवन मूलत: वामपन्थी राजनीतिमा बिताएको छ। तर, लिङ्देन-थापाले राजनीतिक जीवन नै राजावादी कित्तामा बिताएका छन्। अनि उनीहरूको उपादेयता प्रसाईंहरूको भन्दा कम कसरी भयो यो मामलामा ? यसबारे मुख्यत: सामाजिक सञ्जालहरूमा एक तहको बहस उठेको छ। धेरैले भनेका छन्- प्रसाईं लिङ्देन-थापाहरूको पनि ‘नेता’ बने।
तर, कसरी ? यसबारे थोरै चर्चा गरौँ।
यसका लागि लिङ्देन-थापाको व्यक्तिगत तथा राजनीतिक चरित्र र प्रवृत्तिसम्म आउनुपर्छ। त्यसो त उनीहरू राजावादीका नाममा 'साझावादी' बन्दै आएका छन्। 'साझावादी' अर्थात् आफूअनुकूल चल्ने, नकी दरबारको चाहनामा!
धेरै पर जानै परेन, पछिल्लो आधा दशकको मात्रै कुरा गरे पुगिहाल्छ। यसबीचमा लिङ्देन-थापाहरूको कदम दरबारको 'कोर सर्कल'को मान्यताविपरीत भयो। लिङ्देन गणतन्त्रवादी दलहरू नेतृत्वको सरकारमा सहभागी हुने विषय होस् वा उनीहरूसँग चुनावी साँठगाँठ गर्ने विषय, ती दरबारको मान्यताविपरीत नै थियो।
लिङ्देनसँग पार्टी अध्यक्षको चुनाव हार्नेबित्तिकै पार्टी त्यागेर हिँड्ने थापाको कुरा के गर्नु, उनले पछिसम्म यो भनेकै हुन् कि 'मलाई दरबारकै योजनामा चुनाव हराइयो'। उनले पछि संसदीय चुनावमा एमालेसँग चुनाव चिह्न साटेकै हुन्।
यी केही प्रतिनिधि घटना हुन्, जसका कारण लिङ्देन-थापाहरूसँग दरबार खुसी छैन। यस्ता धेरै घटनाहरू छन्, जसको परिणाम आज प्रसाईंहरू दरबारका विश्वासिला भए लिङ्देन-थापाहरूभन्दा। जे होस्, दरबारले लिङ्देन-थापाहरूको एक/एक हिसाबकिताब राखेको देखियो। यति कुरा, दरबार पुस्तौनी हिसाबकिताब राख्छ। लिङ्देन-थापाहरूको विषय कहाँको पुरानो भयो र!
त्यसोभए प्रसाईंहरूलाई भने दरबारले पूराका पूरा विश्वास गरेको हो ? हो भन्ने पर्याप्त आधार अहिले छैन। यति कुरा, लिङ्देन-थापाहरू 'टेस्टेड' हुन्। तर, प्रसाईंहरू 'टेस्ट' हुनै बाँकी छन्। तर, अहिलेका लागि कमसेकम लिङ्देन-थापाहरूभन्दा दरबारले प्रसाईंहरू नै बेस पात्र ठान्यो। फेरि दरबार यो पनि चाहँदैन कि एक तहमा उठेको यो आन्दोलन यतिकै दबियोस्। त्यसका लागि पनि उसले प्रसाईंहरूलाई अघि बढाएको छ। प्रसाईंहरूको हुती कति छ भनेर हेर्नु पनि छ दरबारलाई, आगे त्यसपछि निर्णय लिनेछ सायद।
अहिलेलाई यति भन्न सकिन्छ कि कमसेकम अहिलेका लागि दरबारलाई लिङ्देन-थापाहरूभन्दा प्रसाईंहरू नै सही लागे। लेखक तथा राजनीतिक विश्लेषक केशव दाहालको विश्लेषणमा लिङ्देन-थापाहरूभन्दा प्रसाईंहरू अघि आउनुमा स्वयम् लिङ्देन-थापाहरूको राजनीतिक चरित्रले नै भूमिका खेलेको छ।
उनी भन्छन्, ‘यसबीचमा लिङ्देन या थापाले जे-जे गरे, त्यो दरबारको कोर सर्कलले अपेक्षाविरुद्ध थियो। त्यसकै एउटा परिणाम हो प्रसाईंलाई अघि बढाउनू।’
लिङ्देन-थापालाई टेर्दैनन् प्रसाईं
यहाँसम्म आइपुग्दा प्रसाईंले लिङ्देन-थापाहरूलाई टेर्न पनि छाडेका छन्। जनकमान्डर बनेपछि त उनी लिङ्देन-थापाहरूका प्रति झन् ‘सार्प’ सुनिन्छन्।
जनकमान्डर बनेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले राप्रपा (राजेन्द्र लिङ्देन) र राप्रपा नेपाल (कमल थापा)हरूको आन्दोलनबारे आफू जानकार नै नरहेको र आफूले आफ्नोबाहेक कसैको आन्दोलनमा समय नखर्चिने बताए।
जबकि, आजको आन्दोलनको अपनत्व लिङ्देन-थापा दुबैले लिएका छन्। हिजो आन्दोलन स्थगितको अनायास हल्ला फिँजाइयो। त्यसका प्रति जनआन्दोलन समितिले खण्डन नगर्दा राप्रपाले गर्यो। प्रेस विज्ञप्ति नै निकालेर राप्रपा प्रवक्ता मोहन श्रेष्ठले त्यो गणतन्त्रवादीहरूको काम भएको आरोपित गरे।
आजको आन्दोलन, जुन सुरुमा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले गर्ने भनिएको थियो। तर, हिजो पत्रकार सम्मेलनमार्फत आन्दोलनको पूरै अपनत्व र जिम्मेवारी जनआन्दोलन समितिले लिने जानकारी दिइयो। त्यसमा लिङ्देनको राप्रपा र थापाको राप्रपा नेपाल पनि मिसिँदैछन्।
राप्रपाले आउँदो २६ गते बृहत् आन्दोलन गर्दैछ। तर, प्रसाईंले भने आफूलाई त्यो थाहा नभएको प्रतिक्रिया दिएका छन्। यसअघि फागुन २५ गतेको आन्दोलनमा पनि लिङ्देन र थापाले पूर्वराजाको छेउमा जस बटुल्नका लागि आफ्नो आन्दोलनमा मिसिएको भन्दै आरोपित गरेका थिए।
जे होस्, प्रसाईंले लिङ्देन-थापाहरूलाई टेर्न छाडेका छन्। हिजो पूर्वराजालाई समेत भेटिसकेका उनले अब आफूबाहेक कसैले राजा फर्काउन नसक्ने ठोकुवासमेत गरेका छन्। पूर्वराजाले 'अघि बढ्नुस्' भनेको सुनाउँदै उनले भनेका छन्, 'अरु कसैले राजा फर्काउन सक्दैन, मबाहेक।'
सङ्कटमा लिङ्देन-थापा
लिङ्देन-थापाहरू त्यतिबेलै हच्किसकेका थिए, जतिबेला दरबारले झन्डै चार दशक राजावादी आन्दोलनको 'ग्रीप'भन्दा बाहिर रहेका ८६ वर्षीय नवराज सुवेदीलाई अघि बढायो।
गत चैत ४ गते सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति बन्यो। जहाँ लिङ्देन र थापा दुबै सदस्य थिए। तर, उनीहरूले समितिमा आफू नरहने घोषणा गरे। तैपनि समितिबाट टाढिन भने सकेनन्। कारण, समितिको माग आफूहरूको भन्दा फरक छैन।
उनीहरूले समितिले गर्ने आन्दोलनहरूमा नैतिक तथा भौतिक समर्थन रहने घोषणा गरेका छन्। तर, आफू नै सहभागी हुने कि नहुने ? दोधारमा छन्। यस मानेमा उनीहरूलाई 'खाउँ भने दिनभरिको सिकार, नखाउँ कान्छा बाउको अनुहार' भनेजस्तो भएको छ। अहिले समितिसँग उनीहरूको सम्बन्ध न टाढाको, न नजिकको जस्तो भएको छ।
प्रकाशित: १५ चैत्र २०८१ ०९:२८ शुक्रबार