२५ चैत्र २०८१ सोमबार
image/svg+xml ०:४३ पूर्वाह्न
राजनीति

दाहालको टिप्पणी: मेरो हिरो र ज्ञानेन्द्रको भिलेन रोलले गणतन्त्र आयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्गलवार भाषणकै क्रममा एउटा कथानक शैलीमा छोटो ‘स्क्रिप्ट’ सुनाए। पछिल्लो समय राजावादी शक्तिको सक्रियता बढेका बेला दाहाल दिनहुँ पूर्व राजा ज्ञानेन्द्र शाहमाथि आक्रामक प्रस्तुत हुँदै आएका छन्। उनले सुनाउन खोजेको कथाको स्क्रिप्ट पनि सोही प्रसङ्गसँग सम्बन्धित छ। 

अध्यक्ष दाहालले नेपालमा गणतन्त्र स्थापना हुनुमा घुमाउरो शैलीमा आफ्नो हिरोको रोल रहेको टिप्पणी गर्न भ्याए। कथा, उपन्यास र फिल्ममा जस्तै हिरोको रोलले मात्रै सफल नहुने भएकाले त्यसमा पूर्व राजा शाहले भिलेनको सक्रिय रोल निभाउँदा गणतन्त्र आएको उनले टिप्पणी गरे। 

‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यति बेला तत्कालीन राजा ज्ञानेन्द्र, अहिले त पूर्व राजा भन्ने गरिएको छ । मैले भनेको थिएँ हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्‍यौं । र, ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो भनेको थिएँ,’ अध्यक्ष दाहालले पूर्व राजा शाहको रोलबारे टिप्पणी गर्दै भने,‘उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लात्ता नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे।’ त्यस कारण गणतन्त्र आउनुमा भिलेनको रूपमा पूर्व राजा शाहको भूमिका पनि महत्त्वपूर्ण भूमिका रहेको उनले बताए। 

अहिले सुरु भएको बहसले नेपाली जनतालाई अझ पनि चेतनशील हुन र समाजवादी क्रान्तितिर अग्रसर हुन नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसरका रूपमा आफूले देखेको अध्यक्ष दाहालले बताए। उनले भने, ‘नेपालमा राजतन्त्र पुनः स्थापना त असम्भव छ। बरु यो बहसले नेपालमा समाजवादको यात्रा फराकिलो पार्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ।’ यस अर्थमा पनि पूर्व राजा शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्ने उनले बताए। 

‘कुनै पनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ । भिलेनको रोल सक्रिय भएन भने हिरो सफल नहुन सक्छ । भिलेन अलि खतरानाक भएर आइदियो भने अनि हिरो पनि सम्पूर्ण ताकतसाथ त्यसलाई पराजित गर्ने गर्छ। अहिले भइराखेको त्यही हो,’ अध्यक्ष दाहालले भने। 

प्रकाशित: ५ चैत्र २०८१ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App