नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनताका समस्या र आवाज सम्बोधन गर्न सक्ने पार्टी बनाउन नेतृत्व र नेतृत्वको टिम परिवर्तन हुनुपर्ने बताएका छन्। सोमबार झापाबाट सुरु भएको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्।
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायत सबैजसो शीर्ष नेता उपस्थित कार्यक्रममा शर्माले आफ्नो पुरानै कुरा दोहोर्याएका हुन्।
‘जनताका समस्या र मुद्दा सम्बोधन गर्न माओवादीले मात्रै गर्न सक्छ। तर, केही सर्तहरू छन् । बिनासर्त माओवादीले पनि गर्न सक्दैन,’ शर्माले भने, ‘त्यो सर्त के हो भने माओवादी पार्टीले, माओवादी नेतृत्वको यो टिमले आफूले आफैलाई रूपान्तरण गर्नु छ, आफूले आफैलाई बदल्नु छ।’
त्यो बदल्न सक्ने होइन भने जनताको आवाजको नेतृत्व माओवादी केन्द्रले गर्न नसक्ने पनि शर्माले दाबी गरे । ‘त्यस कारण जनताको यो समस्या र आवाजलाई सम्बोधन गर्नका लागि पहिले माओवादी र माओवादी पार्टीको नेतृत्व टिम बदलिनुपर्छ। रूपान्तरण हुनुपर्छ,’ उनले भने।
त्यसैले माओवादी नेतृत्वले त्यागको भावना राख्नुपर्नेमा शर्माले जोड दिए। उनले भने, ‘नेतृत्वले त्याग गर्ने भावना राख्नुपर्छ । त्याग गर्ने होइन, लोभ, मोहमा फस्ने हो भने हुन सक्दैन ।’
यसअघि सोमबार बिहानै अध्यक्ष दाहालले माओवादी केन्द्रका समस्या नरहेको देखाउन उपमहासचिव शर्मा र अर्को उपमहासचिव वर्षमान पुनसँग अंगालो हाल्दै तस्बिर खिचाएका थिए।
प्रकाशित: १२ फाल्गुन २०८१ १४:४८ सोमबार





