एनआईसी एशिया बैंकले इटहरी शाखामा कर्मचारीमाथि कलुषित मनसायले गरिएको गालीगलौज र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ स्थलमा स्वीकार्य नभएको स्पष्ट पारेको छ।
शाखा कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनी वा जिउज्यानमा हानि पुर्याउने उद्देश्यले पेट्रोल जस्ता अति प्रज्वलनशील पदार्थ प्रयोग गर्ने प्रयासले कर्मचारीसँगसगैं समग्र बैंकिङ क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार यस प्रकारका कार्यकलापले मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु-याइरहेको बैंकिङ क्षेत्रमा नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा गम्भीर प्रभाव पर्ने सम्भावना छ।
बैंकले भनेको छ कि कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हो। यस घटनामा संलग्न व्यक्तिबिरुद्ध सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न र बैंक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न बैंकले अनुरोध गरेको छ।
प्रकाशित: २४ पुस २०८२ २१:५७ बिहीबार





