अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना रोकेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) खुसी देखिएका छन्।
उनले एमसीसी परियोजना रोक्ने घोषणा गरेका ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। विप्लवले आइतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको बताएका छन्। उनले भनेका छन्, 'डोनाल्ड ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ। यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।'
एमसीसीको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीतिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ।
यो पनि पढ्नुहोस्
यस्तै विप्लवले एमसीसी कम्प्याक्टलाई सधैंका लागि खारेज गरी नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह समेत ट्रम्पसँग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'एमसीसी कम्प्याक्ट हिन्द- प्रशान्त रणनीतिको अंग हो। एमसीसी कम्प्याक्ट मार्फत देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबर्जस्त मत रहँदै आएको छ। यसर्थ एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं।'

प्रकाशित: ११ फाल्गुन २०८१ १०:४४ आइतबार