डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को बिहीबार (आज) सम्पन्न पहिलो महाधिवेशनमा ३५ लाखभन्दा बढी खर्च भएको छ।
माघ २७ गते सुरु भएर आज सकिएको महाधिवेशनमा प्रतिनिधिहरूबाट प्राप्त शुल्क, व्यक्ति तथा संस्थाहरूले स्वत:स्फूर्त रूपले गरेको सहयोग गरी जम्मा ५५ हजार ५० लाख रकम जम्मा भएको आर्थिक संयोजक हिसिला यमीले जानकारी दिइन्।
उनका अनुसार त्यसमध्ये ३५ लाख ६९ हजारभन्दा बढी खर्च भएको छ। बाँकी झन्डै २० लाख भने नाफा भएको उनले बताइन्। 'हामीले अहिले नाफामा छौँ,' उनले भनिन्। उनले पार्टीले पैसा मात्रै नभएर जिन्सीका रूपमा समेत सहयोग लिएको जानकारी दिइन्।
यमीका अनुसार बुद्ध एयरले ५० बोरा चामल, नेपाल साल्ट ट्रेडिङले ५० वटा सिलिन्डर र भ्याली कोल्ड स्टोरले २०० केजी चिकेन सहयोग गरेका छन्।
यसैगरी शुभेच्छुक भगवती कार्की र डा. भीमलाल तामाङले एक/एक हजारवटा अन्डा, दिनेश कुमार र रमेश उप्रेतीले क्रमश: ३० र २० केजी कालो दाल, शशी पौडेलले १० लिटर तोरीको तेल र पाँच लिटर घ्यू, उमेश मानन्धरले पाँच केजी चिया र ५० केजी चिनी, दुर्गा शोबले ५० थुङ्गा फूल, लक्ष्मीप्रसाद भट्टराईले १ केजी जिम्मु र एक केजी टिमुर, उद्योग व्यापार महासङ्घले काजगका कप तथा प्लेट सहयोग गरेका छन्।
प्रकाशित: १ फाल्गुन २०८१ १९:५७ बिहीबार