२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml १९:३७ अपराह्न
राजनीति

माओवादी: सहर पसे, रहर फेरे

सन्दर्भ: फागुन

राेल्पाकाे हाेलेरी बजार। तस्वीर: नागिरक

तत्कालीन माओवादीले २०५२ फाल्गुन १ गते सशस्त्र द्वन्द्वको बिउ रोपेको रोल्पाको होलेरी र सिंगो रोल्पा आज पनि उस्तै अपेक्षाहरू सँगालेर बसेको छ। रोल्पाको एउटा मात्र गतिलो, ठुलो अनि अलपत्र योजना ‘सहिद मार्ग’ हुँदै जिल्ला भित्रिएको वेथिति र कुशासनका लप्काले बहसमा रहेको ‘माओवादी द्वन्द्व’लाई गिज्याइरहेको देखिन्छ। करिब तीन दशकअघि होलेरीबाट सुरु भएको माओवाद होलेरीकै मझेरी हराएको छ ।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकी र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले विधिवत सशस्त्र युद्धको सुरु भएको घोषणा गरेको थियो।

उक्त दिनदेखि करिब एक दशक चलेको सशस्त्र द्वन्द्वमा रोल्पाका ९६९ जनाले ज्यान गुमाए भने ३३ जना आज पनि बेपत्ताको सूचीमा छन्। घाइते, अपांग, एकल महिला, टुहुरा र यौनहिंसा खेपेकाहरूको त तथ्यांकसमेत खोजिएन।

२०५१ फाल्गुन १ गते होलेरी आक्रमण गर्दा माओवादी नेता तथा पूर्वमन्त्री वर्षमान पुनको कमान्डमा रहेको टोली अघिल्लो दिन नै होलेरीमाथिको गढीलेक आएर बसेको थियो। हिउँ परिरहेकाले बसाइ निकै कठिन थियो। टोलीका सहकमान्डर पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन थिए। लडाकु टोलीका सदस्य पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश ५ का पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, पूर्व प्रदेशमन्त्री दीपेन्द्र पुनलगायत थिए। सत्ताको रजगजमा वर्षौं रमाएको आरोप लागेका उनीहरूप्रति जनगुनासो सुनिनसक्नुको छ।

उतिबेला १२ दरबन्दी रहेको होलेरी प्रहरी चौकीमा आठजना मात्रै कार्यरत थिए। मानवीय क्षति नभएको उक्त आक्रमणपछि रोल्पामा माओवादीको जगजगी चल्यो। मार्नेमर्नेको गन्ती हुन छोड्यो। २०५८ असार २८ गते बिहानीपख होलेरी प्रहरी चौकीमा दोस्रो आक्रमण भयो।

प्रहरी हवल्दार राजबहादुर गिरीको हत्या हुनुका साथै ७२ जना प्रहरीलाई माओवादीले नियन्त्रणमा लिए। सबै सरकारी कार्यालयमा आगजनी गरे। त्यतिबेला लडाकु कमान्डर नन्दबहादुर पुन र वर्षमान पुन नै थिए।

प्रहरीलाई नियन्त्रणमा लिएर अलिपर नुवागाउँको डाँडामा राखियो। भोलिपल्ट बिहान खाना खाइरहेका बेला नेपाली सेनाका तीनवटा हेलिकोप्टर आए। सेना वरपर डाँडामा छाडेर हेलिकोप्टर फर्कंदै गर्दा माओवादीले गोली प्रहार गरेपछि हेलिकोप्टर भाग्यो। हेलिकोप्टरमा केही क्षति पुग्यो। हेलिकोप्टर आउने जाने क्रम दिनभर चलिरह्यो। स्थानीय स्तरमा त्रासको वातावरण बढ्यो।

माओवादीले नियन्त्रणमा लिएका प्रहरीलाई लडाकुको एक टोलीले सल्यानतर्फ लिएर गयो। एक हजार पाँच सय जनाको लडाकु टोलीमध्ये पाँच सय जनाको टोली नुवा गाउँतर्फ झर्‍यो। नुवागाउँमा झर्दै गर्दा हेलिकोप्टरमा आएका सेनाको टोलीसँग जम्काभेट भयो। एकैछिनपछि सरकारी सञ्चार माध्यममा माओवादी लडाकुहरू सेनाको घेरामा रहेको समाचार आयो। त्यही क्रममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्रसमक्ष सेना परिचालनको प्रस्ताव लगे। राजाले असहमति जनाएपछि कोइरालाले राजीनामा दिएका थिए।

यस घटनाका कारण पनि होलेरी अलि बढी चर्चामा आएको थियो। त्यही वर्ष मंसिर ८ गते दाङ सदरमुकाम घोराहीमा आक्रमण भयो। पहिलो पटक सैनिक ब्यारेक कब्जा गरेका धेरै माओवादी मंसिर ९ गते बिहान होलेरी पुगेका थिए। त्यहाँ माओवादीको मेला नै थियो। हतियार ओसारपसार भइरहेका थिए। त्यसबेला पनि होलेरी सरकारी निगरानीमा प¥यो।

होलेरीसँग युद्धका कथा र गाथा गनिनसक्नुका छन्। शान्ति स्थापनापछि अब तङ्ग्रिन्छ भनेको रोल्पा समयक्रमसँग भन्दा वेग गतिमा कहिल्यै चल्न सकेन। पूूर्वक्रान्तिकारीको अकस्मात फेरिएको जीवनशैली अनि जिल्लाको अवस्थासँग कहिल्यै सामीप्य गास्न नचाहने नेतृत्वको व्यवहारका कारण यति बेला रोल्पाली दिक्क छन्।

जिल्लामा सडक सञ्जालबाहेक मानवीय विकास कछुवाको गतिमा छ। माओवादी शान्ति प्रक्रियामा आएको केही वर्ष फाल्गुन १ मा गरिने कार्यक्रम अनि सशस्त्र द्वन्द्वको सम्झना याद गर्न छोडेको माओवादी नेतृत्व सत्ताको स्वादमा भुलेको रोल्पाली गुनासो गर्छन्। ‘सहर छिरेपछि माओवादीले रहर फेरे।’

माओवादीका जिल्ला स्तरीय एक नेता भन्छन्, ‘जनयुद्ध जनताका लागि थियो तर नेतृत्व जनताको भावनाअनुसार चलेन।’

कुनै बेला एमालेसँग पिरती गाँस्दा किनारामा पन्छाइएको माओवाद यतिबेला दलको नाममा झुन्ड्याइएको भए पनि व्यवहारमा हराएको विश्लेषकहरूको ठम्माइ रहेको छ।

२०५२ फाल्गुन १ गते होलेरी प्रहरी चौकी आक्रमणका कमान्डर तथा पूर्वमन्त्री वर्षमान पुनले नागरिकसँग कुरा गर्दै २०४६ सालमा बहुदल आएपछिको २०४८ को पहिलो आम निर्वाचनमा र २०४९ को स्थानीय निर्वाचनमा तत्कालीन जनमोर्चाबाट सहभागिता जनाएको बताउँदै उतिबेला बहुमत पाएको कांग्रेसको गैरराजनीतिक व्यवहारले विद्रोहको बिउ सुरु भएको बताउँछन्।

‘२०४८ मा बहुमत ल्याएको कांग्रेसले देश सञ्चालनमा सफलता पाएन। आफ्नो दल वा आफ्नालाई मात्र अवसर हुनुपर्ने भयो। दुर्गमका गाउँघरमा हिजो पञ्चायतका जाली फटाहा कांग्रेस बने। झुटा मुद्दा, पूर्वाग्रहका काम र नयाँ शोषण सुरु भयो। जनतासँगै प्रतिवाद गर्दै जनमोर्चाले पनि आन्दोलन सुरु गर्‍यो। प्रतिवाद गर्दै गर्दा भएको दमनले युद्ध जन्माउन मद्दत ग¥यो ।’ माओवादी नेता पुनले भने, ‘राज्यको असफलता देखेपछि संसदीय राजतन्त्रको विकल्पमा युद्ध सुरु गरियो।’

भूमिगत हुनुपूर्व देउवा सरकारलाई बुझाएको ४० बुँदामा कति बुँदा बाँकी छन् भन्ने नागरिकको प्रश्नमा पुनले पुग्दो गरी सम्बोधन नभएको बताए। ‘जनताको अधिकार, राष्ट्रियता, आन्तरिक राष्ट्रियता सम्बोधन भएको छ। जनता सार्वभौम बने तर परिमार्जन गर्न जरुरी छ। भौतिक विकास, सडक, सञ्चार, शिक्षा, स्वास्थ्यमा जनताको पहुँच बढेको छ।’

उनले थपे, ‘शोषण, उत्पीडन अन्त्य भयो। भौतिक पूर्वाधारमा पहुँच बढेको छ तर गुणस्तर चाहिएको छ। जनताको अपेक्षाअनुसार पुग्दो काम भएको छैन ।’

पुनले सँगै युद्ध लडेको शक्ति विप्लवसँग समाजवादी मोर्चामा रहेको बताउँदै सबै राजनीतिक प्रतिस्पर्धामा आउने बाटो बनेकाले सकारात्मक दिशामा रहेको बताए।

माघको दोस्रो हप्ता रोल्पाको छिमेकी जिल्ला दाङ झरेका माओवादी सुप्रिमो प्रचण्डको स्वागतमा गरिएको तुल, ब्यानर अनि हरेक एक मिटरका पोलमा झुन्डाइएका झन्डा र चुनाव चिह्नको क्रस तादात्म्यले राजसी झल्को मात्र दिएन, नेपाली मौलिकताको क्रान्तिलाई नराम्रोसँग चुनौती दिएको थियो।

यतिबेला देशैभर हुने औपचारिक कार्यक्रमहरूमा राजसी संस्कार नै रहेकाले राजतन्त्रको धङधङी कायम रहेको वा एउटा राजा फालेर धेरै राजा जन्माएको दाबी गर्नेहरूले भनेजस्तै क्रान्तिकारीको दैनिकी देखिने गरेको छ।

तुल, ब्यानर र मालासँगैका पिर्के सलामीले माओवादीको युद्धलाई मजाक बनाएको आरोप लाग्ने गरेको छ। त्यसो त तत्कालीन देउवा सरकारलाई बुझाएको ४० बुँदा करिब दुई दशक सत्ता र शक्तिमा रहँदा माओवादीको स्मरणमा नरहेको गुनासो पनि छ। ‘अब त जनयुद्ध दिवस पनि बिर्सिने बेला भइसक्यो ।’ एक माओवादी पूर्वलडाकु भन्छन्, ‘नेतृत्व स्वार्थका लागि सती गएको देखियो।’

प्रकाशित: १ फाल्गुन २०८१ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App