२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २०:९ अपराह्न
राजनीति

सधै‌ हिउँले ढाक्ने माछापुच्छ्रे कालापत्थर जस्तो देख्दा दुःख लाग्छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनका कारण नेपालले नगरेको अपराधको सजायँ भोग्नु परेको बताएका छन् । विश्वका विभिन्न देशले उत्पादन गरेको कार्वन उत्सर्जनको असर नेपालको जलवायु परिवर्तनमा असर परेको उनको भनाइ थियो ।

नेपालमा कृषि, वन तथा भू उपयोग  क्षेत्रका चुनौतीहरू र अवसरहरूको उपयोगलाई सम्बोधन गर्दै नेपालमा पुनर्जन्मशील बागवानी मूल्य शृङ्खलालाई सुदृढ पार्न आयोजित कार्यक्रमको आइतबार उद्घाटन गर्दै सभामुख घिमिरेले पृथ्वीको बढ्दो तापक्रमले नेपालको सुन्दर हिमश्रृंखलाको हिंउ पग्लिएर काला पत्थर भइसकेको उल्लेख गरे ।

‘अस्ति म पोखरा गएँ । हिँउले भरिएको माछापुच्छ्रे हेर्ने बानी परेको म यसपटक त माछापुच्छ्रे कालापत्थर जस्तो देखिएको रहेछ । त्यहाँ हिउँ पर्न छोडेछ’ सभामुख घिमिरेले भने, ‘माछापुच्छ्रे एउटा उदाहरण मात्र हो हाम्रा हिमाली चुचुराहरुमा हिंउ देखिन छाडेको छ । यसलाई हाम्रो वातावरणीय चक्रलाई नै असर पारेको छ ।’

सभामुख घिमिरेले जलवायु परिवर्तनले गर्दा कतिपय ठाउँमा पानीका मुहान सुकेका र  खानेपानीकै अभावमा मानिसहरुले थातथलो छाड्नु परेको उल्लेख गरे । 'चिसोमा मात्र बाँच्न सक्ने जनावारहरु लोप हुने चरणमा पुगेका छन् । उच्च हिमाली क्षेत्रमा फास्टाउने बनस्पतिले आवश्यक मात्रामा चिसो हावा पाउन छाडेका छन् । यसले हाम्रो समग्र पारिस्थितिक प्रणाली माथी नै धावा बोलिरहेको महसुस भएको छ' घिमिरेले भने ।

नेपालले जलवायु परिवर्तन, भू-क्षयीकरण, बाढी पहिरो र माटोको घट्दो उत्पादकत्वको चुनौतीको सामना गर्नु परिरहेको दृष्टान्त दिंदै घिमिरेले यी चुनौतीहरुलाई सम्बोधन गर्न हरित अर्थतन्त्रलाई बढावा दिनको लागि कृषि क्षेत्र संग सम्बन्धित रैथाने बाली तथा बोट बिरुववाको सरक्षण र संम्बर्धनलाई प्रोत्साहन गर्न आग्रह गरे । नेपालको कोशी, मधेस, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १३ वटा जिल्लाहरुका खाली जमीनमा बृक्षारोपण गरेर थोरै भए पनि वातावरण सुधारको प्रयास गरेकोमा सरोकारवालाहरुलाई सभामुखले धन्यवाद पनि दिए । सहारा नेपालले कोकाकोला फउण्डेसनको आर्थिक सहयोग तथा बराह क्लाईमेट एजि।को सहकार्यमा नेपालको कृषि क्षेत्रलाई प्रवर्दन गर्नको लागि बिभिन्न पहल कदमीहरुको शुरुवात गरेकोमा घिमिरेले प्रशंसा गरे ।

कोकाकोला फाउण्डेसनकी उपाध्यक्ष देवियानी राज्यलक्ष्मी राणाले कोकाकोला फाउण्डेसनको सानो लगानीले नेपालको वातावरणीय र जिविकाको क्षेत्रमा सानो भए पनि सहयोग हुने अपेक्षा आफूले लिएको बताइन्। अघिल्ला वर्षमा ११ वटा जिल्लामा फलफूलका करिब अढाइ लाख विरुवा रोपिएकोमा यस वर्ष कार्यक्षेत्र विस्तार गरिने उनले जानकारी दिइन् ।  साहारा नेपालका सदस्य सचिव महेन्द्र गीरीले नेपालमा जलवायु परिवर्तन र यसले निम्त्याएका तत्कालिन र दीर्घकालिन असर निराकरणका लागि साहारा नेपालले प्रयास गरिरहेको बताए ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही लगायतको पनि उपस्थिति थियो ।

प्रकाशित: २७ माघ २०८१ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App