पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गर्न देशभर कांग्रेस र वाममोर्चा मिलेर २०४६ सालमा पहिलो जनआन्दोलन भयो। पहिलो जनआन्दोलन २०४६ फागुन ७ देखि चैत २६ सम्म चल्यो। त्यो आन्दोलनले ३० बर्से पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र पुनर्स्थापना भयो। त्यस आन्दोलनमा सुनसरीका कांग्रेस नेता रामबहादुर बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रजातन्त्र पुनस्र्थापनापछि २०४९ सालको स्थानीय तह निर्वाचनमा बस्नेत नै कांग्रेसका तर्फबाट जिल्ला विकास समिति सुनसरीको सभापति निर्वाचित भए। उनी सुनसरीमा कांग्रेसमा १० र ११औं महाधिवेशनबाट दुईपटक जिल्ला सभापति पनि भए।
२०६२/६३ मा सात राजनीतिक दलले मिलेर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको जनआन्दोलन भाग २ मा त बस्नेतले नै सुनसरीमा अगुवाइ गरेका थिए।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बस्नेत अब सदा स्मरणमा मात्र रहने र उनको योगदानलाई पार्टीका अगुवा नेता एवम् कार्यकर्ताले अनुशरण गर्नुपर्ने १३औं पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रमका वक्ताले बताए। बस्नेतको निधन माघ ७ गते ७८ वर्षको उमेरमा भएको हो।
पञ्चायती व्यवस्था हुँदा २०१७ सालदेखि २०४६ सालसम्म सुनसरी त्यसमा पनि इनरुवामा दिलबहादुर श्रेष्ठ र होमबहादुर श्रेष्ठको जगजगी थियो। उनीहरूविरुद्ध कसैले पनि गतिविधि गर्ने हिम्मत गर्दैनथे, तर कांग्रेस नेता बस्नेत पञ्चायती व्यवस्थाविरुद्ध कहिल्यै नझुकी संघर्षमा उत्रने गरेका नेता बस्नेतको निधनले पार्टीमा क्षति पुर्याएको कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले बताए। उनले कार्यकर्तालाई कसरी न्याय गर्ने भन्ने कुरा बस्नेतबाट सिक्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बस्नेतको निधनले पुगेको क्षति अब परिवारका सदस्यलाई उचित न्याय प्रदान गरेर पूर्ति गर्नुपर्ने बताए। सो क्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले लोकतन्त्र र परिवर्तनका लागि बस्नेतको योगदानको मूल्यांकन सधैं हुनुपर्ने बताए।
हक्की र निडर स्वभावका बस्नेत ‘आफ्नालाई भर र दुस्मनलाई डर’ दिन सक्ने नेता भएको अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए। ‘बस्नेतले जसरी नेतृत्व गर्नुभयो, त्यसको अनुशरण हामी सबैले गर्नुर्छ’, उनले भने, ‘उहाँ कार्यकर्ताप्रति जसरी न्याय गर्नुहुन्थ्यो, आज कांग्रेसका नेताहरूले पनि सिक्नुपर्छ।’
कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरु बरालले बस्नेतले देखाएको बाटो पार्टीका अरू नेता तथा कार्यकर्ताका निम्ति संगठन र न्यायका लागि गतिलो सिकाइ हुने बताए। सो क्रममा केन्द्रीय सदस्य राजीव ढुंगानाले बस्नेतको अभाव परिवारका सदस्यबाट पूर्ति गर्ने वातावरण सबैले खेल्नुपर्ने बताए।
सो क्रममा अर्का केन्द्रीय सदस्य विजयकुमार गच्छदार, कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापा, कोसी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस नेता हरि सापकोटा, सीताराम मेहता, कांगेस सुनसरी जिल्ला सभापति केदार भण्डारी लगायतले बस्नेतको योगदानका बारेमा चर्चा गरेका थिए।
प्रकाशित: २० माघ २०८१ ०९:१२ आइतबार