२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

दाहाललाई महेश बर्तौलाको आग्रह : समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

'भविष्यमा कतै भेटै नहुने गरी अभिव्यक्ति नदिन आग्रह'

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरू राजनीतिक नेतृत्वले दिन नहुने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको उल्लेख गरे। बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए।

उनले भने, ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ। सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ। हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीहरूले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ। हामी भुईं पस्ताका युवाहरूको एउटा आग्रह छ। राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्नैपर्छ।'

बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुने गरी अभिव्यक्ति नदिन आग्रह गरे। उनले पदहरू अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे।

प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरीकन अभिव्यक्ति दिनुपर्ने बताए। भविष्यमा भेट हुन्छ भन्ने स्मरण गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित: १९ पुस २०८१ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App