१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले यसरी पक्राउ गर्यो मादुरोलाई, मिसनका बेला ट्रम्प कहाँ थिए ?

अमेरिकी जासुसहरूले लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको हरेक गतिविधिमाथि निगरानी राखिरहेका थिए । 

अमेरिकी जासुसहरूको एउटा सानो टोली थियो, जसमा भेनेजुएला सरकारभित्रकै केही मानिस सामेल थिए । अमेरिकाका उच्च सैनिक अधिकारीहरूका अनुसार ६३ वर्षका मादुरो कहाँ सुत्थे, उनले के खान्थे, के लगाउँथे भन्नेमा जासुसहरूले निगरानी राख्दै आएका थिए । मादुरोका घरपालुवा जनावरहरू के के छन् भन्नेमा जासुसले जानकारी लिइरहेका थिए । 

जासुसहरूले विभिन्न सूचना लिएपछि डिसेम्बरको सुरुमा अमेरिकाले ‘अपरेसन एब्सुल्युट रिजोल्भ’ नामक मिसनलाई अन्तिम रूप दियो । जुन महिनौंसम्म सूक्ष्म रूपमा तयार पारिएको योजना र अभ्यासको परिणाम थियो । योजनाअन्तर्गत अमेरिकी विशेष (एलिट) सैनिकहरूले भेनेजुएलाको राजधानी काराकासस्थित मादुरोको सुरक्षित ठेगाना (आवास स्थल) को प्रतिरूप बनाएर त्यसमा विभिन्न बाटो हुँदै प्रवेश गर्ने अभ्यास गरेका थिए । 

यो योजना पूर्ण रूपमा गोप्य राखिएको थियो । यो अपरेसन शीतयुद्धपछि ल्याटिन अमेरिकामा गरिएको अमेरिकाको सबैभन्दा असाधारण सैनिक हस्तक्षेपमध्ये एक हो । अमेरिकाका वरिष्ठ सैनिक अधिकारी जनरल ड्यान केनले शनिबार बिहान पत्रकार सम्मेलनमा भनेका थिए, ‘क्रिसमस र नयाँ वर्षको अवधिभर अमेरिकी सेनाका महिला र पुरुषहरू पूर्ण तयारीका साथ बसे, सही संकेत र राष्ट्रपतिको आदेशको धैर्यपूर्वक प्रतीक्षा गर्दै ।’ 

अन्ततः शुक्रबार राति स्थानीय समयअनुसार १० बजेर ४६ मिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पबाट मिसन सुरु गर्ने आदेश आयो । ट्रम्पले शनिबार ‘फक्स एन्ड फ्रेन्ड्स’सँग भने, ‘हामी यसलाई चार दिनअघि, तीन दिनअघि वा दुई दिनअघि गर्न लागेका थियौं तर अचानक अवस्था अनुकूल भयो र हामीले भन्यौं—जाऊ, गर ।’ जनरल केनका अनुसार ट्रम्पले अपरेसन सुरु हुनुभन्दा अघि भने, ‘शुभकामना, तपाईंहरू सफल हुनुहोस् ।’ 

ट्रम्पको आदेश भेनेजुएलाको राजधानी काराकासमा मध्यरात हुनु केही समयअगाडि आएको थियो । तम्तयार सेनाले अँध्यारोमा मिसन पूरा ग¥यो । भेनजुएलाका राष्ट्रपति मादुरोलाई पक्रउ गरी अमेरिका पु¥याइयो । आकाश, जमिन र समुद्र गरी तीनै क्षेत्रबाट सञ्चालन गरिएको यो अपरेसन २ घण्टा २० मिनेटमै सम्पन्न भएको थियो । यसको आकार र सटीकताका हिसाबले यो लगभग अभूतपूर्व थियो । 

यो घटनाले वाशिङ्टन र विश्वभरका धेरैलाई चकित बनाएको छ । विश्वका कैयन क्षेत्रीय शक्तिहरूले यसको निन्दा गरेका छन् । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले भेनेजुएलाका नेताको हिंसात्मक रूपमा गरिएको पक्राउलाई ‘सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि अर्को अत्यन्त खतरनाक उदाहरण’ भएको बताए । 

मिसनका बेला ट्रम्प कहाँ थिए ? 

ट्रम्पले ह्वाइट हाउसबाट यो मिसन हेरेनन् । त्यो बेला उनी फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार–ए–लागो क्लबमा सल्लाहकारहरूसँग बसेका थिए, जहाँबाट उनले सिआइए निर्देशक जोन र्‍याटक्लिफ र विदेशमन्त्री मार्को रुबियोसँगै अभियानको प्रत्यक्ष प्रसारण हेरेका थिए । 

अपरेसनबारे ट्रम्पले भने, ‘यो हेर्दै अविश्वसनीय थियो । म त यसलाई टिभी सोझै हेर्दै थिएँ । उनीहरूको गति र हिंसा देख्दा वास्तवमै अचम्म लाग्दो थियो । ती मानिसहरूले अद्भूत काम गरे ।’  

पछिल्ला महिनाहरूमा हजारौैं अमेरिकी सैनिक भेनेजुएलाको क्षेत्र र आसपास तैनाथ गरिएका थिए । एक विमानवाहक युद्धपोत र दर्जनौं युद्धपोतसहित यो दशकौं यताकै सबैभन्दा ठुलो सैनिक अपरेसन थियो । ट्रम्पले मादुरोमाथि लागुऔषध तस्करी र ‘नार्को–आतंकवाद’मा संलग्न भएको आरोप लगाउँदै आएका छन् । अमेरिकी सेनाले लागुऔषध बोकेका दर्जनौं डुंगा नष्ट गरेको पनि समाचारमा जनाइएको छ । 

‘अपरेसन एब्सोल्युट रिजोल्भ’ सुरु भएको प्रारम्भिक संकेत काराकासको आकाशमै देखिन थालेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार वमवर्षक, लडाकु विमान र निगरानी विमानसहित १५० भन्दा बढी विमान परिचालन गरिएको थियो । 

यसबारे ट्रम्पले फक्स न्युजसँग भने, ‘यो अत्यन्त जटिल थियो । अभ्यास, अवतरण, विमानको संख्या, प्रत्येक सम्भावित अवस्थाका लागि हामीसँग एउटा लडाकु विमान तयार थियो ।’ भेनेजुएलाको समयअनुसार बिहान करिब ०२ः०० बजे काराकासमा ठुलो विस्फोटको आवाज सुनियो र सहरमाथि मुस्लाहरू उठेको देखियो ।

बिबिसीसँग कुरा गर्दै स्थानीय पत्रकार आना भेनेसा हेरेरोले भनिन्, ‘मैले एकदमै ठुलो आवाज सुने । झ्यालहरू हल्लिए । त्यसपछि पूरै दृश्य ढाक्ने गरी धुवाँको बादल देखें । पूरै सहरभरि विमान र हेलिकोप्टर उडिरहेका थिए ।’ 

अधिकारीहरूका अनुसार केही हवाई हमलामा एयर डिफेन्स प्रणाली र अन्य सैनिक स्थललाई निसाना बनाइयो । ट्रम्पले मिसन सुरु हुनुअघि काराकासको बिजुली काटिएको बताए तर कसरी भन्ने खुलाएनन् । उनले भने, ‘हाम्रो विशेष क्षमताका कारण राजधानी काराकासको बिजुली धेरै हदसम्म बन्द गरिएको थियो । त्यहाँ अन्धकार थियो र त्यो घातक थियो ।’ 

मादुरो पक्राउ

काराकासमा आक्रमणसँगै अमेरिकी सैनिकहरू सहरभित्र प्रवेश गरिरहेका थिए । अमेरिकी समाचार सस्था सिबिएससँग सम्बन्धित स्रोतहरूका अनुसार अमेरिकी सेनाको शीर्ष विशेष मिसन युनिट ‘डेल्टा फोर्स’का सदस्यहरू पनि यसमा सामेल थिए । उनीहरू भारी हतियारले सुसज्जित थिए र आवश्यक परे राष्ट्रपति निकोलस मादुरोको ‘सेफ हाउस’का धातुका ढोका काट्न ‘ब्लोटर्च’ पनि बोकेका थिए । 

अमेरिकी जनरल केनका अनुसार स्थानीय समय ०२ः०१ बजे आक्रमण सुरु भएको केही समयमै सैनिकहरू मादुरोको ठेगानामा पुगेका थिए । ट्रम्पले त्यस स्थानलाई काराकासको बिचमै रहेको कडा सुरक्षा भएको सैनिक किल्ला भनेका छन् । सैनिकहरू मादुरोको ठेगानामा पुगेपछि गोलीबारी सुरु भयो र एउटा अमेरिकी हेलिकोप्टरमाथि पनि प्रहार गरियो तर त्यो उड्न सफल भयो । केनले भने, ‘मादुरोलाई पक्राउ गर्ने टोली आवास परिसरमा अवतरण ग¥यो र तीव्रता, सटीकता र अनुशासनका साथ अपरेसन अघि बढ्यो ।’ अमेरिकी सेनाले मादुरोसँगै उनीकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गर्‍यो । 

त्यसपछि के भयो ?

अमेरिकी पक्षका एकदुई जना घाइते भए तर कुनै सैनिकको मृत्यु भएन । भेनेजुएलाका अधिकारीहरूले यो घटनामा आफ्नातर्फ भएको मृत्युसम्बन्धी पुष्टि गरेका छैनन् । स्थानीय समयअनुसार बिहान ०४ः२० बजेसम्म मादुरो र उनकी पत्नीलाई अमेरिकी न्याय मन्त्रालयको हिरासतमा पुर्‍याइएको थियो । उनीहरूलाई हेलिकोप्टरमार्फत भेनेजुएलाको सीमाबाहिर लगिएको थियो । 

उनीहरूलाई आपराधिक मुद्दा चलाइने तयारी अमेरिकाको छ । करिब एक घण्टापछि ट्रम्पले विश्वलाई उनीहरूको पक्राउको खबर दिए । उनले भने, ‘मादुरो र उनकी पत्नीले अब अमेरिकी न्याय प्रणालीको पूर्ण शक्ति सामना गर्नु पर्नेछ ।’ –बिबिसीको सहयोगमा

प्रकाशित: २० पुस २०८२ १९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App