१० पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

आकांक्षीहरू शक्ति केन्द्र धाउँदा बढुवामा विलम्ब

नेपाल प्रहरीमा एक वर्षको अवधिमा आठजना एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र डिएसपीका आकांक्षी चार महिनादेखि बढुवाको प्रतीक्षामा छन्। सरकारको ध्यान एआइजी बनाउनेमा मात्र केन्द्रित हुँदा एसएसपी, एसपी र डिएसपीको बढुवा समयमै हुन नसकेको हो।

कात्तिकयता एआइजीका रिक्त तीन पदमा बढुवा गरिसक्दा पनि एसएसपीको बढुवामा गृह मन्त्रालयले चासो दिएको छैन। छोटो अवधिका लागि एआइजी बनाएर अवकाशमा पठाउने गरिएको छ। पछिल्लो पटक दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई एआइजीमा बढुवा गर्ने निर्णय भयो। निर्णयअनुसार दुर्गासिंह चन्द र भरतबहादुर बोहरा एआइजीमा बढुवा भइसकेका छन्। बोहरा यही पुस १४ गते अवकाशमा जाँदै छन्। त्यस्तै एआइजी किरण बज्राचार्य पनि उमेरहदका कारण यही पुस १६ मा अवकाशमा जाँदैछिन्।

बोहरा र बज्राचार्यको स्थानमा बढुवाका लागि सिफारिसको तयारी हुँदैछ। तर पनि एसएसपी बढुवाका लागि गृह मन्त्रालयले चासो दिएको छैन। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले धेरै पटक एसएसपीको बढुवा कोसिस गरे पनि गृहमन्त्री रमेश लेखकले यो विषयमा चासो नदिँदा प्रहरीमा कामकाजी दर्जाको वृत्ति विकासमा असर परेको छ। पछिल्लो पटक छोटो अवधिका लागि एआइजीमा बढुवा गर्दै अवकाशमा पठाउँदै गर्दा राज्यलाई आर्थिक दायित्व थपिएको छ।

प्रहरीमा एआइजीबाट अवकाश हुने उमेरहद ५६ वर्ष तोकिएको छ। अवकाशको सम्मुखमा एआइजीमा बढुवा गर्ने क्रम अझै रोकिएको छैन। कुनै बेला नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ थियो। २०७४ कात्तिकमा एआइजीको दरबन्दी १६ पु¥याइएको थियो। अहिले एआइजीको दरबन्दी आठ छ। एक वर्षमा आठजना एआइजीमा बढुवा र अवकाशमा जाने अवस्था बनेको छ। प्रहरी महानिरीक्षक कुँवरका ब्याचीहरू तीनजनाबाहेक सबै एआइजी भएर बिदा हुँदैछन्। यसै वर्ष मीरा चौधरी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, किरण राणा, केदार ढकाल, भीम ढकाल, उमेरहदका कारण एआइजीबाट अवकाशमा गइसकेका छन्। एक साताभित्र बोहरा र बज्राचार्य पनि अवकाशमा जाँदैछन्।

एसएसपी बढुवा लागि गृह मन्त्रालय र एसपी तथा डिएसपी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले मूल्यांकन गर्ने व्यवस्था छ। एसएसपी बढुवाका लागि गृहसचिवको संयोजकत्वमा मूल्यांकन हुन्छ भने एसपी र डिएसपी बढुवा लागि प्रहरी महानिरीक्षक अध्यक्ष रहेको समितिले मूल्यांकन गर्छ। गत भदौयता एसएसपीका २३ पद रिक्त भएका छन्। ती पदका लागि ४० एसपीहरू प्रतिस्पर्धामा छन्। सबै आकांक्षीले बढुवाका लागि शक्तिकेन्द्रबाट दबाब दिन थालेपछि गृह मन्त्रालयले बढुवा सूचना निकाल्न नसकेको स्रोत बताउँछ। 

यसले एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने अर्काेतर्फ बढुवामा ढिलाइ हुँदा तल्लो तहसम्मको वृत्ति विकास प्रभावित भएको प्रहरी अधिकृतहरूको गुनासो छ। प्रहरी प्रधान कार्यालयले बढुवा तयारी भइरहेको जनाएको छ। ‘आवश्यक तयारी भइरहेको छ, चाँडै नै बढुवा हुनेछ’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विश्व अधिकारीले भने। भदौ १५ मा एसएसपीका १७ पद रिक्त भएका थिए। त्यसपछि एसएसपीका ६ पद रिक्त भएका हुन्। पद खाली भएको चार महिनासम्म पनि पूर्ति नहुँदा कामकाज प्रभावित बनेको विषयमा प्रहरी प्रधान कार्यालय संवेदनशील बनेको भए पनि बढुवाका आकांक्षीहरू शक्ति केन्द्र धाएकोमा असन्तुष्ट बनेको छ।

यसपटक २०५६ असार ३ र २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ फागुन १३ मा एसपीमा बढुवा भएका अधिकृत एसएसपीमा बढुवाका दाबेदार हुन्। त्यसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल २०५६ का भर्ना हुन्। रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महत्तो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरलगायत बढुवाका आकांक्षी हुन्। 

यीमध्ये केहीको कामको सिलसिलामा विवादमा परेका छन्। तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत पनि एसएसपीमा बढुवाका दाबेदार हुन्। २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना अधिकृत पनि अहिले एसएसपी बढुवा प्रतिस्पर्धामा छन्। होविन्द्र बोगटी, बेद विष्ट, राजकुमार सिलवाल, सञ्जयसिंह थापा, शान्तिराज कोइराला, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, पदमबहादुर विष्ट, प्रवीण धिताल, प्रभुप्रसाद ढकाल, ऋषिराज कँडेल पनि बढुवाका आकांक्षी हुन्। 

प्रहरी महानिरीक्षक कुँवरले कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेकालाई अगाडि ल्याउन नमानेपछि बढुवा रोकिएको बताइएको छ। गृहसचिव गोकर्णमणी दुवाडीले पनि कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्ने अडान लिएका छन्। ‘शक्ति केन्द्रको दबाबमा गृह मन्त्रालयमा धर्ना दिने र नेताहरूको घरघरमा धाउनेहरूले कार्यसम्पादान मूल्यांकनमा अब्बल अधिकृतलाई पछि पार्न दिएको दबाब आइजिपी कुँवरले नमान्दा एसएसपी बढुवामा केही ढिला भएको स्रोत बताउँछ।

प्रकाशित: १० पुस २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App