सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अदालतमा पेश भएका छन्।
कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईका सहयोगी लिला पछाईंलाई कास्की जिल्ला अदालतमा पेश गरेको छ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि दुई महिनादेखि अनुसन्धान भइरहेको छ। सोमबार प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा अध्ययन प्रतिवेदन बुझाएको थियो।
सोही प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएपछि आज आठौँ पटक म्याद थप्नका लागि लामिछानेलाई अदालतमा पेश गरिएको हो।कास्की प्रहरीले तयार गरेको अध्ययन प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाइएको छ, जसमा ३७ जना फरार छन्। प्रहरीको राय अनुसार उनीहरुविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी पनि गरिएको छ।
प्रकाशित: २ पुस २०८१ १०:५९ मंगलबार