सुनसरी भोक्राह नरसिंहमा बिहीबार मृत्यु भएका आफन्त तथा गाउँलेले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दा केहीबेर स्थिति तनाबग्रस्त बन्यो । नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रृग्याँस समेत प्रहार गर्यो ।
बिहीबार विराटनगरबाट मार्बल र टायल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक भोक्राहा नरसिंह वडा नं. ८ मा अनियन्त्रित भई सडकमा पल्टिँदा सुनसरी बर्जु वडा नं. १ का पाँच जना मजदुरको मृत्यु भएको थियो । मृतकका आफन्त तथा गाउँलेले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेको डिएसपी चन्द्र खड्काले बताए । पीडित पक्षले बिहीबार पनि हुलाकी राजमार्ग अन्तर्गत बर्जुमा यातायात अवरुद्द गरेका थिए ।
पीडित पक्ष, प्रहरी र ट्रक व्यवसायीबिच शुक्रबार ११ बजेदेखि जिल्ला प्रहरी कार्यालयमा क्षतीपूर्तिकै लागि वार्ता भएकोमा ट्रक व्यवसायीले पीडित पक्षले दावी गरेजति क्षतीपूर्ति दिन अस्वीकार गरेको थियो । जसले गर्दा वार्ता चलिरहकै बेला पीडित र गाउँलेहरु आक्रोसित भएर दिउँसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै ढुंगामुढा प्रहार गरे । सो क्रममा प्रहरीले लाठीचार्ज र आश्रृग्याँस प्रहार गरियो ।
अन्ततः तीन पक्षीय वार्तामा ट्रक व्यवसायीले जनही ११ लाख रुपैयाँ क्षतीपूर्ति दिने सहमति भएको छ । बर्जु गाउँपालिका अध्यक्ष जिवछकुमार रायका अनुसार बिमा बापतको पाँच लाख र अरु छ लाख रुपैयाँ थपेर जनही ११ लाख रुपैयाँ दिने सहमति भएको छ । सहमतिसँगै प्रदर्शनका क्रममा पक्राउ परेका तीन जनालाई पनि छाडिएको छ । पीडित पक्षले जनही १५ लाख रुपैयाँ क्षतीपूर्ति माग गरेका थिए
सहमतिसँगै मृतकका आफन्तले अब पोष्टमार्टमपछि शव बुझ्ने छन् । शव जिल्ला अस्पताल इनरुवामा राखिएको थियो ।
ट्रक दुर्घटनामा बर्जु वडा नं. १ का ३२ वर्षे वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षे ब्रम्हदेव गुरुङ, ५० वर्षे टेकबहादुर गुरुङ, २८ वर्षे निसु गुरुङ र ५५ वर्षे चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।
ट्रकको अगाडिको क्याविनमा चालकसहित चार जना र पछाडि पाँच जना रहेकोमा लोड गरिएको मार्बल र टायलले किचेर पाँचै जनाको मृत्यु भएको थियो । अगाडि क्याविनमा बसेका तीन जना घाइते भएका थिए ।
प्रकाशित: २ माघ २०८२ १८:३६ शुक्रबार





