१४ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

विश्वप्रकाश भन्छन्: गठबन्धनबाट जितेको २७ भन्दा एक्लै जितेको १९ सिट महत्त्वपूर्ण

नेपाली कांग्रेसका महामन्त्री एवं उपनिर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले गठबन्धन गरेर जितेको २७ सिट भन्दा एक्लै लडेर जितेको १९ सिट कांग्रेसका लागि बढी महत्त्वपूर्ण रहेको बताएका छन् । भर्खरै सम्पन्न उपनिर्वाचन नतिजालाई कांग्रेसले उत्साहपूर्ण रूपमा लिएको भन्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

‘उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रूपमा लिएका छौँ । सकारात्मक रूपमा लिएका छौँ,’ महामन्त्री शर्माले भने, ‘यदि गणितीय हिसाबमा जाने हो भने नेपाली काँग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली कांग्रेसले तत्कालीन चुनावको परिस्थिति, मनोविज्ञान, त्यस बेलाका समीकरण र अहिलेको परिस्थिति, मनस्थिति र समीकरणलाई हेर्ने हो भने गुणात्मक रूपले यो महत्त्वपूर्ण छ । 

गत निर्वाचनमा गठबन्धनको बलमा लडेको भन्दै शर्माले अगाडि भने, ‘गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरीकन प्राप्त भएको १९ सिट विशेष रूपले महत्त्वपूर्ण छ ।’

महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रस्ताव पारित गरेको बताउँदै यो नतिजाले कांग्रेस एक्लै निर्वाचन लडोस् भन्ने सन्देश दिएको पनि बताए ।  

उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरूले पाएको मतलाई  प्रणालीप्रतिको विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर जनताले राजनीतिक दलहरूलाई घचघच्याएको जनादेशमा रूपमा बुझ्नुपर्ने महामन्त्री शर्माले बताए । यद्यपि कांग्रेस नतिजाबारे थप समीक्षा भने गर्ने उनले बताए । 

प्रकाशित: १९ मंसिर २०८१ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App