११ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

शेखरको चिन्ता: अध्यादेश ल्याएर के गर्न खोज्नुभएको हो ?

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्। 

शनिवार आयोजित  एक कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले सरकार शंकास्पद् बाटोमा हिँड्न खोजेको भन्दै सचेत गराइरहनुपर्ने अवस्था रहेको बताएका हुन्। 

‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ र अहिले किन चाहियो रु,’ कोइरालाले भने,‘अहिले राम्ररी काम गरेर अगाडि बढौँन। भर्खर १०० दिन पूरा भएको छ। दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर अहिले के गर्न खोज्नुभएको उहाँले ?’

संसद् नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन खोज्नु राम्रो कुरा नभएको उनले बताए।संसद भएको भए त त्यहाँ ल्याएर छलफल गर्नहुन्थ्यो,’ उनले भने। 

यस्ता विषयले कांग्रेसलाई चिन्तित तुल्याएको नेता कोइरालाले बताए। उनले भने,‘यस्ता इस्युले तपाईँ हामीलाई चिन्तित तुल्याइरहेको हुन्छ। सरकार अलि फरक ढंगले हिँड्न खोजेको हो की भन्ने हामीलाई लाग्छ। त्यसैले सरकारलाई सधैँ तिमी गलत बाटोमा हिँड्दैछौं, भनेर सचेत गराइरहनुपर्ने अवस्था छ।’

यस्तै नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसँग सरकारको मतभिन्नताबारे पनि कोइरालाले असन्तुष्टि जनाए। ‘हिजोआज कुरा सुन्नुभयो होला बक्यौताको कुरामा मन्त्री र कुलमानको कुरा मिलेन।अर्बौंको कुरा छ, सरकार भन्छ बक्यौता नलेऊ, बक्यौता नलिएर देश कसरी चल्छ ?,’ कोइरालाले भने । 

यस्तै उपसभामुख इन्दिरा रानामगर हटाउने चर्चाबारे पनि कोइरालाले फरक मत राखे। ‘उपसभामुख भन्नुहुन्छ। उहाँका कमीकमजोरी छैनन् भन्दिनँ। यस्ता कमजोरी पनि देखिएका छैनन्, उहाँलाई पदबाट हटाइदिनुपर्छ भन्ने,’ उनले भने, के कारणले पदबाट हटाउने ? के नेपाली कांग्रेसको उपसभामुख छैन भनेर पदबाट हटाइदिने ?

प्रकाशित: १० कार्तिक २०८१ १७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App