२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

शितगंगामा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीसँग माग

अर्घाखाँचीको शितगंगा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै नगरपालिकाको एक प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

नगर प्रमुख छविलाल पौडेल नेतृत्वको टोलीले आइतबार गृह मन्त्रालय पुगी नगरपालिकाको वडा नम्बर–३ स्थित ठाडामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो।

क्षेत्रफलका आधारमा नेपालकै सबैभन्दा ठुलो स्थानीय तह रहेको शितगंगामा भौगोलिक विकटताका कारण नागरिकलाई प्रशासनिक सेवा लिन सास्ती भइरहेको ज्ञापनपत्रमा उल्लेख छ।

टोलीले भौगोलिक अवस्था, जनसङ्ख्याको वितरण र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै नागरिकता, राहदानी लगायतका सेवा प्रवाहलाई सहज बनाउन ठाडामा कार्यालय अत्यावश्यक रहेको जिकिर गरेको छ।

१४ वटा वडा रहेको यस नगरपालिकाका बासिन्दालाई सदरमुकामसम्म पुग्न पर्ने आर्थिक तथा सामाजिक भार कम गर्न तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन पनि इलाका प्रशासन आवश्यक रहेको टोलीले गृहमन्त्रीलाई जानकारी गराएको छ।

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो।

सोही सन्दर्भमा शितगंगा नगरपालिकाले पनि आफ्नो आवश्यकता औंल्याउँदै सरकारको ध्यानाकर्षण गराएको हो।

प्रकाशित: २० पुस २०८२ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App