रौतहट र सर्लाहीमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा करिब ५८ प्रतिशत मत खसेको छ भने सर्लाहीमा पनि चारवटै निर्वाचन क्षेत्रमा करिब ५५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनका क्रममा दुवै जिल्लाका सबै मतदान केन्द्र र मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।
सुरक्षाकर्मीहरूको उच्च सतर्कता र प्रभावकारी व्यवस्थापनले कुनै किसिमको अप्रिय घटना हुन सकेको छैन। मतदाताहरू बिहानैदेखि उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भएका थिए।
मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएपछि नेपाली सेनाको रोहवरमा कडा सुरक्षा घेराबिच मतपेटिका सिल गरेर मतगणनाका लागि लगिएको बताइएको छ।
मुख्य निर्वाचनको कार्यालयले दिएको जानकारी अनुसार मतपेटिका संकलनको कार्य भइसकेपछि मत गणनाको लागि प्रतिस्पर्धामा सहभागी दलहरूको सर्वपक्षीय बैठकबाट मत गणना सुरु हुने जनाइएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १७:४७ बिहीबार





