४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सघाउँछ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्। 

महिला उद्यमी महासङ्घको आयोजनामा 'महिला उद्यमीहरूले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरूको डिजिटलाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरूको आर्थिक सशक्तीकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरूलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उनले महिला उद्यमशीलता विकासका लागि प्रदेश सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताएका हुन्।

उद्यमशीलता नहुँदा महिला परनिर्भर बन्न बाध्य भएको बताउँदै उनले भने,'उद्यमशीलतामार्फत महिलाको आम्दानी हुन्छ। यसले महिलाको जीवनस्तर पनि उकास्छ। र समग्रमा महिलालाई आत्मनिर्भर बनाउँदै महिला सशक्तीकरण गर्न पनि सघाउँछ।’

मुख्यमन्त्री पाण्डेले घरबास (होमस्टे)मा पारिवारिक वातावरण हुनुपर्ने बताए। तर अहिलेका होमस्टेमा त्यस्तो वातावरण नहुने गरेको बताउँदै उनले भने,'होमस्टेमा स्थानीय संस्कृति र स्थानीय उत्पादन हुनुपर्छ। तर अहिले सहरबाट ब्रोइलर कुखुरा र तरकारी बोकेर पर्यटकसँगै गाउँ जान्छन् । यस्तो होमस्टे हुँदैन र यो राम्रो होइन।’ उनले स्थानीय उत्पादन र स्थानीय संस्कृति नभएका होमस्टेलाई अबदेखि अनुदान नदिइने पनि प्रस्ट्याए। गण्डकी प्रदेश पर्यटकीय प्रदेश भएको बताउँदै उनले त्यही भएर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको बताए। नेपाल आउने पर्यटकको पहिलो गन्तव्य काठमाडौं बाहिर पोखरा भएको बताउँदै उनले भने,'तर उनीहरु कति आए भन्नेमा मात्र सीमित नहोऔँ। बरु उनीहरुले कति खर्च गरे? त्यसले उद्यमशीलतामा कति सघायो भन्नेमा ध्यान दिऔँ।’

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले आर्थिक सशक्तीकरण गर्न महिला सशक्तीकरण जरुरी रहेको बत्ताइन्। सामाजिक र पारिवारिक जिम्मेवारीले महिला उद्यमशीलतामा बाधा पुगेको बताउँदै उनले भनिन्,'महिला उद्यमशीलता आजको आवाज र आवश्यकता हो। महिलाले उद्यमी र व्यवसायी बन्न पाउनु अधिकार हो। यसमा सबैले सहयोग गर्नुपर्छ।’ उनले महिलालाई उत्पादनमा जोड्ने र ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउनका लागि महासङ्घले डिजिटल मार्केटिङका लागि डिजिटल लिट्रेसी कार्यक्रम आयोजना गरेको बताइन्।

गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापाले विदेश जानेलाई यहीँ गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताए। महिलाहरूलाई आत्मनिर्भर बनाऔँ,उनले भने,'संस्कृति र प्रकृति बेचेर पर्यटनलाई समृद्ध बनाऔँ।’

महासङ्घकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला उद्यमी तथा व्यवसायीहरूलाई उनीहरूको व्यवसायहरूको डिजिटाइजेसन गर्न सघाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन्।

महासङ्घकी तृतीय उपाध्यक्ष तथा च्याप्टर अध्यक्ष बासन्ती प्रधानले महिलालाई आत्मनिर्भर बनाउँदै महिला सशक्तीकरणका लागि कार्यक्रम गरिएको बत्ताइन्।

कार्यक्रममा महासङ्घकी बोर्ड सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल रेग्मी, कास्की अध्यक्ष सरु बराल, बागलुङ अध्यक्ष उमा शाक्य, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी लगायतले महिलालाई उत्पादनमा जोड्ने, ती उत्पादित सामग्रीको बजारीकरणमा सघाउने भन्दै त्यसका लागि सरकारले पनि दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।

महासङ्घले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कसँगको सहकार्यमा बागलुङको भकुण्डे सामुदायिक होमस्टे र अतिथि सत्कार होमस्टेका सञ्चालक तथा सञ्चालन गर्न इच्छुकहरूलाई दुई हप्ते व्यवसायहरूको डिजिटाइजेसन सम्बन्धी तालिम दिएको हो। तालिममा सहभागीहरूलाई बिहीबार पोखरामा समापन कार्यक्रमको अवसर पारेर प्रमाणपत्र पनि वितरण गरिएको थियो।

सो अवसरमा महासङ्घले हामेस्टेका प्रत्येक सञ्चालकलाई होमस्टेमा आवश्यक पर्ने म्याट, प्रेसर कुकर, थर्मस, राईस कुकर, कित्लीलगायतको एक÷एक सेट भाँडाकुँडा तथा दुई होमस्टेलाई दुई÷दुई सेट वाद्यवादन सामग्रीहरू प्रदान ग¥यो। तालिममा सहभागीहरूले भने तालिम लिने अवसर प्रदान गर्नुका साथै सहयोग पनि प्रदान गरेकोप्रति महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीलाई सम्मान गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०८१ १८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App