प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारितको कार्यसूची तय गरिएको छ।
बुधबार दिउँसो एक बजे बस्ने तयारी भएको प्रतिनिधि सभाको कार्यसूचीमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको उक्त विधेयक पारित गर्ने उल्लेख छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमामा विधेयकमाथि छलफल हुने र उक्त विधेयकलाई बुधबारको बैठकबाटै पारित गर्ने कार्यतालिका बनाइएको हो। प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने र छलफलपछि पारित गर्ने एकल कार्यसूची छ।
विधेयकमाथि सहमति जुटाउन बनाइएको प्रमुख तीन दलका नेताहरु सम्मिलित समितिले उक्त विधेयकमा सहमति जुटाइ शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो। सुझावसहितको उक्त प्रतिवेदन संसदको कानुन समितिले पारित गरेपछि बुधबारको बैठकमा प्रस्तुत हुन लागेको हो।
प्रकाशित: ३० श्रावण २०८१ १२:४८ बुधबार