नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो नलगाउँदा कोशी सरकारमा सहभागी हुन नसेको बताएका छन्।
आइतबार नेपाली कांग्रेस प्रदेश कार्यालय विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले केन्द्रबाट सरकारमा पठाउने मन्त्रीको टुंगो नलगाएका कारण कोशी सरकारमा सहभागी हुन नसकेको बताएका हुन्।
थापाले केन्द्रमा नेताहरूबसेर सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाए पछि कोशी सरकारमा कांग्रेस सहभागी हुने स्पष्ट पारे। थापाले प्रदेश सरकारमा सहभागिता हुने विषयमा कांग्रेस भित्र कुनै पनि समस्या नरहेको दाबी गरे। थापाले भने,‘सरकारमा सहभागी हुने विषयमा कुनै समस्या छैन। केन्द्रले मन्त्रीको नाम टुंगो लगाएका पठाएपछि हामी सहभागी हुन्छौँ।’ थापाले केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो नलगाई कहिले सहभागी हुने भन्ने यकिनकासाथ भन्न नसकिने बताए।
थापाले भने,‘केन्द्रमा कोशी सरकारमा मन्त्री पठाउने विषयमा छलफलै सुरू नभइसकेका कारण कहिले मन्त्रीको नाम टुंगो लाग्छ र कहिले सहभागी हुन्छौँ अहिलै भन्न सकिँदैन।’ उनले कोशी सरकारमा सहभागी हुन अझै एक हप्ता दश दिन लाग्ने बताए। नेपाली कांग्रेस प्रदेश समिति सभापतिसमेत रहेका थापाले प्रदेश सरकारको विषयमा प्रदेश समितिले नभई केन्द्रले नै निर्णय गर्ने परम्परा रहेको स्पष्ट पारे। उनले भने,‘प्रदेशको बारेमा केन्द्रले नै निर्णय गर्ने परम्परा रहेका कारण प्रदेश समितिले कुनै निर्णय गर्दैन।’
थापाले अन्य प्रदेशमा टुंगो लगाइसकेपछि कोशीमा पनि टुंगो लाग्ने बताए। कोशीमा कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डासमेत टुंगो लागिसकेको छ। कोशीका ९ मन्त्रालयमध्ये एमालेलाई मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ वटा मन्त्रालय पाउने सहमति भइसकेको छ।
प्रकाशित: २० श्रावण २०८१ १८:०७ आइतबार





