१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन: नेकपाले कर्णालीबाट एक सिट गुमाउँदै

राष्ट्रिय सभा सदस्यको माघ ११ गते हुने निर्वाचनमा कर्णालीका दुई सिटका लागि चार जनाको उम्मेदवारी परेको छ । केन्द्रमा भएको सहमति अनुसार प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अन्यतर्फ प्रदेश सभापति ललितजंग शाहीले उम्मेदवारी दिएका छन् भने महिलातर्फ नेकपा एमाले केन्द्रीय सदस्य मिनासिंह रखालले उम्मेदवारी दिएकी छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट अन्यतर्फ रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र महिलातर्फ डोल्पाकी अञ्जु महतारा (शाही)ले उम्मेदवारी दिएका छन् ।

कांग्रेस कर्णाली प्रदेशका सभापतिसमेत रहेका शाही २०७९ मा प्रदेशसभाको निर्वाचनमा पराजित भएका थिए । उनलाई कांग्रेसबाटै बागी उम्मेदवारी दिएका देवेन्द्रबहादुर शाहीले पराजित गरेका थिए । शाहीको प्रस्तावकमा प्रदेशसभा सांसद एवम् जाजरकोटका कांग्रेस सभापति बेदराज सिंह छन् भने समर्थकमा प्रदेशसभा सदस्य एवम् सुर्खेतका पार्टी सभापति खड्क पोखरेल छन् ।

यस्तै दुई दलीय गठबन्धनबाट महिला क्लस्टरमा उम्मेदवारी दिएकी रखालको प्रस्तावकमा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य टेकराज पछाई छन् भने समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल छन् । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् । उनी एमालेको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला संयोजक हुन् ।

नेकपाबाट अन्यतर्फ उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा प्रदेश सांसद महेन्द्र केसी छन् भने समर्थकमा मिलन खड्का रोक्का छिन् । महताराको प्रस्तावकमा प्रदेश सांसद उर्मिला विश्वकर्मा छिन् भने समर्थकमा जुम्कित लामा छिन् । नेकपाबाट उम्मेदवार बनेका शर्मा माओवादी पृष्ठभूमिका हुन् भने महतारा तत्कालीन एकीकृत समाजवादीकी हुन् ।  

नेकपालाई घाटा

चुनाव हुन लागेको अन्य क्लस्टर साविक माओवादीको हो । माओवादीका मायाप्रसाद शर्मा तत्कालीन नेकपा हुँदा निर्वाचित भएका थिए । महिला कलस्टरतर्फको सिट एमालेको हो । एमालेकी सुमित्रा बिसी सदस्य छिन् ।

कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभामा ४० सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छ । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १३, एमालेका १० र राप्रपाका १ सांसद छन् । यस्तै स्थानीय तह प्रमुख र उपप्रमुखहरुको संख्या कांग्रेसको ५८ छ भने एमालेका स्थानीय तहमा ३५ वटा प्रमुख तथा उपप्रमुख छन् । नेकपाका प्रदेशसभामा १३ जना र स्थानीय तहमा प्रमुख र उपप्रमुखहरुको संख्या ५० छ ।

प्रकाशित: २३ पुस २०८२ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App