नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्राकृतिक स्रोत र खनिज पदार्थले भरिपूर्ण रहेको बताउँदै यहाँका खोलामा बालुवा चाल्दा समेत सुन भेटिने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा सबै थोक रहेको र त्यसको सही पहिचान र सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
‘हाम्रो देश खनिजले भरिएकै छ, हामीले अहिले त्यसको छानबिन गर्ने, जाँच गर्ने कुराहरू अलि पाएका छैनौं, गर्न सक्या छैनौं, पत्ता लाग्दै छन् हाम्रा खानीहरू,’ अध्यक्ष ओलीले भने, ‘यहाँ के छ, के छैन ? खोलामा बालुवा चाल्दाखेरि सुन निकालिरहेका छन्। अहिले पनि त्रिशुलीमा निकालिरहेका छन्, राप्तीमा निकालिरहेका छन्।’
दाङको राप्ती क्षेत्रमा कतिपय मानिसहरूको पेसा नै बालुवा चालेर सुन निकाल्ने रहेको उदाहरण दिँदै उनले देशका नदीनाला र भूगर्भभित्र बहुमूल्य धातुहरू रहेको जिकिर गरे।
उनले भने, ‘के छ, के छैन यस देशमा ? हामीलाई अरु देश चाहिएको छैन। आफ्नो देश चाहिएको छ। जे छ यहाँ, त्यो हाम्रो हो। हामी त्यसको सदुपयोग गर्छौं।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपाललाई अरूको देश वा भूभाग नचाहिने बताउँदै आफ्नै देशमा भएका स्रोत साधनको अधिकतम उपयोग गरेर समृद्ध बनाउन सकिने धारणा राखे।
उनले देश बनाउन र बचाउनका लागि भूतपूर्व सैनिक तथा प्रहरीहरूको भूमिका र अनुभव पनि महत्त्वपूर्ण हुने बताए।
प्रकाशित: २३ पुस २०८२ १६:५५ बुधबार





