दैलेखमा चक्कु प्रहारबाट एक १६ वर्षीय किशोरको मृत्यु भएको छ। दुल्लू नगरपालिका-४, शान्ति बजारका प्रकाश खनालको चक्कु प्रहारबाट ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उपचारका क्रममा दुल्लू अस्पतालमा खनालको मृत्यु भएको हो। फुटबल खेलेर घर फर्किरहेका खनालमाथि दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका दुल्लू नगरपालिका-१०, गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डा क्षेत्रको जंगलबाट पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा घटना भएको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि दुल्लू क्षेत्र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २९ माघ २०८२ १८:४५ बिहीबार





