नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ। केन्द्रीय निर्देशनअनुसार जिल्लाका आठवटै स्थानीय तहका गाउँ र टोलसम्म पुगेर अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ।
बिहीबार सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज मणि खम्बु किरातीले कात्तिक १७ गते केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अभियान उद्घाटन गरिसकेको जानकारी दिइन्। अभियानमा संगठन विस्तार, सदस्यता वितरण तथा नवीकरण, जनभेला, अन्तरक्रिया, नागरिकसँग भेटघाट, प्रशिक्षण र श्रमदानलगायत कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।
अभियानका क्रममा महँगी, भ्रष्टाचार, बिचौलियातन्त्र, कालोबजारी, बेरोजगारी र नागरिक असुरक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाइनेछ। संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, मानव अधिकार र जनजीविकाका सवाललाई पनि अभियानले प्राथमिकता दिने पार्टीले जनाएको छ।
आउँदो मङ्सिर २० गतेभित्र वडादेखि स्थानीय तहसम्मका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। विद्यार्थी, युवा, महिला, मजदुर तथा पेसा व्यवसायसँग सम्बन्धित जनवर्गीय संगठनका भेला र सम्मेलन पनि सम्पन्न गरिने इन्चार्ज किरातीले बताइन्।
जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठवटै स्थानीय तहमा नेताहरूको जिम्मेवारी बाँडफाँट गरी अभियान सञ्चालन गरिएको छ।
जिल्ला कमिटी अध्यक्ष विनोद खड्काको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू काजीमान तामाङ, ज्ञानबहादुर बस्नेत, द्रोण पौडेल, लक्ष्मण पौड्याललगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
प्रकाशित: १९ कार्तिक २०८३ २१:५९ बिहीबार





