ताप्लेजुङका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । सिरिजङ्गाका ११ विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न थालिएको हो ।
बुधवार तेल्लोक माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिए । सिरिजङ्गा गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुकपेजमा सिरिजङ्गा गाउँपालिका र प्रतिनिधिसभाका सदस्यहरुको पहलमा न्यानो कपडा बाँड्ने वातावरण बनेको जनाएको छ ।
सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानका अनुसार वाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीले न्यानो कपडा पाउने छन् । पालिका भरका सबै विद्यालयहरुका विद्यार्थीलाई न्यानो कपडा वितरणको जिम्मेवारी लिइदिन आग्रह गरेपनि पहिलो चरणमा ११ विद्यालयका विद्यार्थीलाई उक्त सुविधा प्रदान भएको चौहानले जानकारी दिए । उनका अनुसार बाँकी रहेका विद्यालयका विद्यार्थीले अर्कोबर्ष यस्तो सुविधा पाउने छन् ।
पालिका अध्यक्ष चौहानका अनुसार आम्बेगुदिन माध्यमिक विद्यालयका ८१ जना,गणेश माध्यमिक विद्यालय खेवाङका ७४ जना, कञ्चनजंघा माध्यमिक विद्यालय याम्फुदिनका ५९ जना, सरस्वती माध्यमिक विद्यालय सिकैचाका ६७ जना,भगवती आधारभूत विद्यालय आम्बगुदिनका १ सय २७ जना र पञ्चकन्या आधारभूत विद्यालय खेवाङका ५० जनाले न्यानो कपडा पाउनेछन् । यस्तै फुन्द्रुवा आधारभूत विद्यालय तेल्लोकका ५८ जना, राष्टिङ मावि पेदाङका ५० जना, सिनाम मावि सिनामका २ सय १० जना,तेल्लोक माविका ८९ जना र याङपाङ आधारभूत विद्यालयका ४६ जनाले न्यानो कपडा पाउने सिरिजङ्गा गाउँपालिकाले जनाएको छ । न्यानो कपडा वितरण कार्यक्रममन चाइना फाउण्डेसन रुरल डेभलपमेन्ट र न्यू लाइट फाउण्डेसनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको सिरिजङ्गा गाउँपालिकाले जनाएको छ ।
प्रकाशित: २३ पुस २०८२ १७:०८ बुधबार





