४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मेरो इमानको सुरुवात देशभक्ति र जनताको भलोबाट हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इमान र कर्तव्यबोधको सुरुवात नै देशभक्तिबाट हुने बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफू देश र जनताप्रति सबैभन्दा बढी बफादार रहेको बताएका हुन्।

लोयल्टी (बफादारी) र इमान्दारिताका धेरै पाटा हुने भए पनि आफ्नो मूल इमान राष्ट्रप्रतिको जिम्मेवारी भएको उनले प्रष्ट पारे।

‘यो देशप्रति, यो राष्ट्रप्रति, यस देशका बासिन्दाहरूप्रति र मानव जातिप्रतिको मेरो इमान, मेरो कर्तव्यबोध सबैभन्दा प्रारम्भिक कुरा हो, यहीँबाट मेरो जवाफदेहिता सुरु हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘म कतैप्रति इमानदार छु भने मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ। जनताको भलो चिताउने, त्यसबाहेक नचिताउने कुराबाट र मानव जातिप्रतिको दायित्वबाट सुरु हुन्छ।’

अध्यक्ष ओलीले जिम्मेवारी र जवाफदेहिता भनेको केवल हिसाब-किताब बुझाउनु मात्र नभएको बताए। उनले यसलाई आमा र बच्चाको उदाहरण दिँदै प्रष्ट्याए।

‘जिम्मेवार भनेको कसैप्रति हिसाब बुझाउनुपर्ने वा जवाफ दिनुपर्ने भएर होइन, हृदयबाट र स्वभावले हुनुपर्छ,’ उनले भने, ‘आमा बच्चाप्रति जस्तो जिम्मेवार हुन्छिन्, त्यो स्नेहले गवर्न गरेको हुन्छ। त्यहाँ अकाउन्टेबिलिटीको कुरा होइन, स्नेह र कर्तव्यको कुरा हुन्छ।’

आफ्नो राजनीतिक जीवन र सार्वजनिक दायित्वलाई पनि आफूले सोही ‘लोयल्टी’ र कर्तव्यबोधका साथ लिएको उनले बताए।

प्रकाशित: २३ पुस २०८२ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App