२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

काम चलाउ मन्त्रीलाई प्रगति विवरण सार्वजनिक गर्न भ्याइनभ्याई

प्रगति विवरण सार्वजनिक गर्दै कृषि मन्त्री राजेन्द्रमान श्रेष्ठ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलकै सिको गर्दै बागमती प्रदेशका काम चलाउ मन्त्रीहरूलाई आफ्नो कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न भ्याइनभ्याई रहेको छ।

आइतबार बिहान मुख्यमन्त्री जम्कट्टेलले आफ्नो १८ महिने कार्यकालमा भएका राम्रा कामहरू भन्दै उपलब्धि सार्वजनिक कार्यक्रमको आयोजना गरेका थिए। बिहान ८ बजेका लागि राखिएको कार्यक्रम प्रगति विवरणको किताब आइपुग्न ढिला भएपछि करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो।

उनकै सिको गर्दै काम चलाउ अवस्थामा पुगेका बाँकी मन्त्रीहरुले पनि आफ्नो कार्यकालमा मन्त्रालयले गरेको कार्य विवरण सार्वजनिक गर्दै आफू ‘सफल’ भएको दाबी गरिरहेका छन्। मुख्यमन्त्री जम्कट्टेलकै प्रगति विवरणमा सबै मन्त्रालयले गरेका काम समेटिसकेको अवस्थामा अन्य मन्त्रीहरुले समेत आफ्नो नेतृत्वमा भएको कामको विषयमा पत्रकार सम्मेलनको आयोजना गरिरहेका हुन्।

काम चलाउ मुख्यमन्त्री जम्कट्टेलले झैँ सबै काम चलाउ मन्त्रीहरुले आफ्नो कार्यकाल प्रदेशको संस्थागत विकास र अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भएको र राम्रो गरेको दाबी गरिरहेका छन्। जम्कट्टेलले प्रगति विवरण सार्वजनिक गरेका दिन आइतबार प्रदेशकै श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रगति विवरण सार्वजनिक गरेका थिए।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मन्त्रालयमै छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेका छन्। बागमती प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मंगलबार बिहानका लागि प्रगति विवरण सार्वजनिक कार्यक्रम तय गरेका छन्।

मन्त्री भएका बेला समाचारका लागि प्रतिक्रिया वा अन्तरवार्ता लिन समय माग्दा फोन नै नउठाउने, बोल्नै नखोज्ने मन्त्रीहरुले अहिले पद छोड्ने बेलामा अनावश्यक मिडियाबाजी गर्न खोजेको पत्रकारहरूकै प्रतिक्रिया रहेको छ।

प्रकाशित: ७ श्रावण २०८१ १७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App