१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीको सरकार फेरिँदैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गठबन्धन फेरिँदैमा कोशीको सरकार नफेरिने दाबी गरेका छन्।

शुक्रबार मोरङको झोडाहाट स्थित सरस्वती माविमा आयोजित पुरस्कार वितरण तथा सम्मान  कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले केन्द्रको गठबन्धन फेरिँदैमा कोशी प्रदेको सरकार नफेरिने दाबी गरेका हुन्।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा नयाँ सरकार बनाउने भन्ने चर्चा निक्कै चलिरहेको भन्दै नयाँ सरकार बनाउने संवैधानिक आधार भने कसैले देखाउन नसकेको स्पष्ट पारे। ‘नयाँ सरकार बनाउने चर्चा छ तर, संविधानको कुन धारा अनुसार बनाउने भन्ने कसैले बताएको सुनिएको छैन ’ कार्कीले भने। उनले आफू संविधान अनुसार अघि बढ्ने बताउँदै संविधान विपरीत कुनै पनि काम नगर्ने स्पष्ट पारे। कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत पु¥याउने सांसदको नेतृत्वमा सरकार छ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखकोमा सांसदको हस्ताक्षर लिएर जाने कुरा पनि संभवन नभएको बताए। ‘प्रदेश प्रमुखकोमा सांसदको सही लिएर संविधानको कुन धारा अनुसार जाने?’  भन्ने प्रश्न गरे। कार्कीले कोशी प्रदेशको सरकार फेर्ने संविधानमा कुनै पनि बाटो नरहेको बताए। उनले कोशीको सरकार फेर्न खोजे मध्यावधिबाहेक संविधानमा अरु विकल्प नरहेको स्पष्ट पारे।

कार्यक्रममा यो वर्षको झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुशिला पाठकलाई प्रदान गरिएको छ। नारदमुनी–पवित्रादेवी लुइँटेल स्मृति कोषले पत्रकार पाठकलाई ११ हजार रुपैयाँ राशीको झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो। यस अघि पत्रकार अभयकुमार राई र विनोद सुवेदी झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भई सकेका छन्।

यस्तै छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मानबाट उक्त, विद्यालयका सेवा निवृत्त शिक्षकहरू हरिनन्दन दास अछामी र शिवनारयण चौधरी सम्मानित भएका छन्। पुरस्कृत तथा सम्मानित हुनेहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोषका संरक्षक शंकर लुइँटेललगायतले सम्मानपत्र तथा दोसल्लाले सम्मानित गरेका थिए। यस्तै उक्त विद्यालयका तीन जना  गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ। छात्रवृत्ति पाउने विद्यार्थीहरूमा कक्षा ९ की आरती सरदार, दिनेश खत्री, कक्षा ८ की मलिका विश्वास र  कक्षा ७ मा अध्ययनरत दिपीका माझी रहेकी छिन्।  

प्रकाशित: ९ चैत्र २०८० १८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App