१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपेन्द्र र सिकेबिच टकराब बढ्दै

यस कारण बाहिरियो जनमत मधेस सरकारबाट

तराई मधेसमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबिच टकराब बढ्दै गएको छ। यही टकराबको कारण मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ।  र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। अब जनमतले मधेस सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको छ।

जसपा स्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अघिल्लो साता नै मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई  जनमतलाई सरकारबाट हटाउन निर्देशन दिएका थिए। केन्द्रीय अध्यक्षको निर्देशन पछि मुख्यमन्त्रीले जनमतका दुई मन्त्री महेश यादव र चन्दन सिंहलाई सरकारबाट हटाउने तयारी गरेका थिए । सार्वजनिक रूपमै जनमतलाई सरकारबाट हटाउने तयारी भएको मुख्यमन्त्री यादवले घोषणा गरेका थिए।  मुख्यमन्त्री यादवले लामो समयसम्म जनमतका मन्त्रीलाई मन्त्रालय खोसेर जिम्मेवारी नदिई विना विभागीय राखेका थिए। बाध्य भएर जनमत सरकारबाट बाहिरिएको थियो।

स्रोत भन्छ, 'जनमतलाई केन्द्र सरकारबाट पनि हटाउन यादवले प्रधानमन्त्री र गठबन्धनका नेताहरूलाई दबाब दिइरहेका छन्। जनमत सरकारमै रहेर पनि राष्ट्रिय सभाको निर्वाचनमा मधेस र प्रदेश र लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन बाहिरबाट छुट्टै उम्मेदवारी दिएको छ। यसबाट गठबन्धन र जनमतबिच दुरी बढेको छ।'

यद्यपि जनमत पार्टीका प्रवक्ता शरत्सिंह यादवले राष्ट्रिय सभामा छुट्टै उम्मेदवारी दिए पनि केन्द्र सरकारबाट बाहिरिने विषयमा गृहकार्य नभएको बताए। उनले भने, ‘सङ्घीय सरकारबाट जसपाका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले हामीलाई हटाउन सक्छन् भने हटाएर देखाउन्। हाम्रो चुनौती हो।’ जनमतले जनताको पक्षमा काम गरेको तर जसपाले लुट्ने मात्र काम गरेको उनको भनाइ छ।

मधेस प्रदेश सभामा जनमत र जसपाको संख्या उस्तै उस्तै छ। जनमतका सांसद १३ छन् भने जसपाका १६ जना छन्। प्रवक्ता यादवका अनुसार पोहर साल मधेसमा प्रदेशमा सरकार निर्माण हुँदा जसपा र सत्तारुढ गठबन्धनबिच सहमति भएको थियो। जस अनुसार एक वर्ष मधेस सरकारको नेतृत्व जसपाले गर्ने, त्यसपछिका २ वर्ष जनमतले गर्ने र त्यसपछिका दुई वर्ष नेपाली काँग्रेसले गर्ने सहमति भएको थियो। सो सहमतिलाई जसपाले ठाडै उल्लङ्घन गरेको यादवको भनाइ छ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावको पछि उपेन्द्र र राउतबिच टकराब बढ्दै गएको हो। दुवै नेताले सप्तरी २बाटै उम्मेदवारी दिए। राउतले चुनाव जिते। उपेन्द्र हारे। त्यसपछि २०८० वैशाखमा सम्पन्न उप निर्वाचनमा गठबन्धन दलहरूले उपेन्द्रलाई सहयोग गरे तर राउतले उपेन्द्रलाई हराउन जनमतबाट छुट्टै उम्मेदवारी दिन लगाए। त्यति बेला उपेन्द्रले चुनाव जिते। यसबाट यादव र राउतबिच  बिग्रेको सम्बन्ध अझै सुधार भएको छैन।

प्रकाशित: १० माघ २०८० १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App