२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयता बलियो बनाउन प्रदेश संरचना बलियो बनाउनुपर्छः निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीयतालाई बलियो बनाउका लागि प्रदेश संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्।

उनले संविधानमा लेखिएका कुराहरु कार्यान्वयन नहुँदा जनताले संघीयताको अनुभूति गर्न नपाएको बताए। ‘सरकार हुनका लागि प्रहरी र कर्मचारी चाहिन्छ, तर प्रदेश सरकारसँग अहिलेसम्म आफ्नै प्रहरी र कर्मचारी छैनन्,’ सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संविधानमा लेखेका कुराहरु कार्यान्वयन गर्न नसक्दा जनताले संघीयताको अनुभूति गर्न पाएका छैनन्।’

कांग्रेसका पूर्व उपसभापति समेत रहेका निधिले प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व पनि प्रदेशलाई अधिकार दिने कुरामा सकारात्मक नदेखिएको बताए। ‘संविधानमा तीन तहको सरकारको हामीले व्यवस्था गरेका छौं, त्यो मध्ये प्रदेश सरकार हाम्रा लागि नयाँ संरचना हो,’ उनले भने, ‘संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश संरचनालाई बलियो बनाउनेतर्फ शीर्ष नेतृत्वले बेलैमा सोच्न आवश्यक छ।’

निधिले प्रदेशका आफ्नै प्रहरी–प्रशासन र कर्मचारी नहुँदा प्रदेश सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताए। ‘जबसम्म प्रहरी–प्रशासन र कर्मचारी सरकारको मातहतमा हुँदैन, त्यसलाई सरकार भन्नै मिल्दैन्,’ उनले भने, ‘अहिलेको हाम्रो प्रदेश संरचना प्रहरी र कर्मचारीविनाको निरिह बनेको छ।’ उनले संविधानमै हरेक प्रदेशमा आफ्नै प्रहरी संगठन र निजामति कर्मचारी हुने उल्लेख भएपनि त्यो कार्यान्वयन हुन नसकेको बताए।

निधिले कांग्रेसमात्रै एकमात्र लोकतान्त्रिक पार्टी भएकाले अहिलेको संघीय व्यवस्थाको कार्यान्वयनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए। उनले संविधान जारी गर्ने बेलामै संविधानमा आवश्यक संशोधन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै संविधान संशोधनमा जहिल्यै एमालेले अवरोध गरिरहेको बताए। ‘संविधानमा संघीय व्यवस्था बदल्नका लागि नभएर संघीयता, गणतन्त्र, संसदीय प्रर्णालीलाई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गर्न खोजिएको हो,’ उनले भने, ‘कांग्रेस यसमा तयार छ, तर एमालेले साथ दिँदैन्।’ उनले केन्द्रीकृत सोचका कारण प्रदेशमा अधिकार आउन अझै समय लाग्ने बताए।

पूर्व उपसभापति निधिले कर्णाली सबैभन्दा ठूलो भूगोल र प्राकृतिक रुपले सम्पन्न प्रदेश भएकाले यसले समग्र देशलाई आर्थिक रुपमा योगदान पु¥याउन सक्ने बताए। ‘अहिले कर्णालीलाई दुर्गम, पिछडिएको क्षेत्रका रुपमा चित्रण गर्ने गरिएको छ,’ उनले भने, ‘यहाँको प्राकृतिक स्रोत, जडिबुटी, जलस्रोतको सही प्रयोग गर्न सकेको खण्डमा कर्णाली समृद्ध भएर समग्र देशलाई समृद्ध बनाउन सक्छ।’

प्रकाशित: २२ आश्विन २०८० १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App