१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नीति र थितिबिनाको कांग्रेस

नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो। ८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० नकटेका युवाहरूको साथले कांग्रेसमा नीति र थिति बस्नेछ भन्ने विश्वास सबैमा थियो। तर महाधिवेशन भएको डेढ वर्षमा कांग्रेसमा थिति बसाउने त परको कुरा, नीतिसमेत स्पष्ट छैन।

१०४ वर्ष लामो राणाशासन अन्त्य भएदेखिका सबै राजनीतिक तथा सामाजिक आन्दोलनहरूको नेतृत्व कांग्रेसले गर्दै आएको छ। संविधानसभाबाट संविधान जारी गर्नेदेखि तीनै तहको निर्वाचन गराएर संविधान कार्यान्वयनसम्मको नेतृत्व कांग्रेसले गरेको थियो। तर त्यसपछिका दिनमा कांग्रेस नीतिगत रूपमा कहाँ जाने र कोसँग सहकार्य गर्ने भन्नेमा अलमलिएको र दुविधामा परेको देखिएको छ।  

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष नेताहरू माओवादी केन्द्रलगायत दलसँग चुनावी तालमेल र सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। इतर पक्षका केही नेता त्यसको विपक्षमा उभिँदै आएका छन्। उनीहरूले निर्वाचनअघिको तालमेल आवश्यक नरहेको स्पष्ट पार्दै आगामी दिनमा त्यसो नगर्ने बताउँदै आएका छन्।  

तर मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसहितका दलहरूसँग मिलेर चुनावी तालमेलबाट कांग्रेस पहिलो दल बनेको छ। संसद्को ठुलो दल बनेकै आधारमा कांग्रेस कार्यसम्पादन समितिले चुनावपछिको सरकारको नेतृत्व दाबी गर्ने निर्णय गर्यो। पार्टी निर्णय कार्यान्वयन गर्न खोज्दा कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताच्युत हुन पुगेको थियो।

८० वर्ष टेकेको परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० नकटेका युवाहरूको साथले कांग्रेसमा नीति र थिति बस्नेछ भन्ने विश्वास सबैमा थियो। तर महाधिवेशन भएको डेढ वर्षमा कांग्रेसमा थिति बसाउने त परको कुरा, नीतिसमेत स्पष्ट छैन।

पार्टी सत्ताच्युत हुँदा गठबन्धनको विरोध गर्ने नेताहरू नै आलोचनामा उत्रिए। अहिले कांग्रेस फेरि पुरानो गठबन्धनलाई निरन्तरता दिँदै केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहभागी भएको छ। सभापति शेरबहादुर देउवासहितका नेताहरू अहिलेको गठबन्धनको पक्षमा देखिएका छन्। तर केही पदाधिकारीहरू आआफ्नो ढंगले प्रस्तुत हुँदा कांग्रेसको सरकार, गठबन्धनसहित पछिल्लो अवस्थालाई हेर्ने नीति के हो भन्नेमा अलमल र दुविधा देखिएको छ। जसको नीति उसको नेतृत्व भन्ने प्रचार गरेर अघि बढेको कांग्रेसको महाधिवेशनमा पनि पार्टीको नीति तथा कार्यक्रमका विषयमा कुनै छलफल नै भएन।

पार्टी विधानको व्यवस्थाविपरीत नीति र नेतृत्व चयनका लागि अलग महाधिवेशन गर्ने बताइयो। पार्टीको डेढ वर्षअघि भएको १४औं महाधिवेशनबाट केवल नेतृत्व चयन गर्ने मात्र काम भयो। नेतृत्व चयनका लागि भएको महाधिवेशनपछि ६ महिनाभित्र नीति महाधिवेशन गर्ने घोषणा कांग्रेसले गरेको थियो। तर डेढ वर्ष बित्दासमेत कांग्रेसले नीति महाधिवेशन होइन, विधानको व्यवस्थाअनुसार महासमिति बैठकसमेत बोलाउन आवश्यक ठानेको छैन।

महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमितिको बैठक विधानतः प्रत्येक वर्ष बोलाउनुपर्ने व्यवस्था छ। महाधिवेशनको वर्षबाहेक हरेक वर्ष विधानतः बस्नुपर्ने कांग्रेस महासमिति बैठकले पार्टीको नीति तथा कार्यक्रमका साथै विधान संशोधनसहित महत्वपूर्ण विषयमा निर्णय लिन सक्नेछ। अहिले कांग्रेसमा पार्टीले लिने नीतिका विषयमा कुनै छलफल हुँदैन। बरु नेता र नेतृत्वकै विषयमा कांग्रेसका वडादेखि केन्द्रसम्मका नेताहरूको ध्यान केन्द्रित भएको छ।

त्यति मात्र होइन, ८० पारिको परिपक्व नेतृत्वसँगै ६० वारिका पदाधिकारीले कांग्रेसलाई विधि–विधानमा हिँडाएर थिति बसाउने अपेक्षा धेरैले गरेका थिए। यथास्थितिमै रमाउँदै अघि बढेको नेतृत्वलाई नयाँ जोस तथा जाँगर मात्र होइन, विधि र विधानको कुरा गर्दै नेतृत्व उन्मुख रहेका युवा नेताहरूले कांग्रेसमा थिति बसाउला भन्ने आशा गरिएको थियो। तर पछिल्लो डेढ वर्षमा कांग्रेसमा थिति होइन, बेथिति मौलाएर गएको छ। 

विधानअनुसारको कुनै काम हुन सकेको छैन। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने विधानको व्यवस्था छ। तर अहिलेसम्म कांग्रेसले केन्द्रीय समितिलाई पनि पूर्णता दिएको छैन। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले केन्द्रीय कोषाध्यक्ष मनोनयनको प्रस्ताव बैठकमा पेस गर्नुपर्ने हो। अहिलेसम्म उक्त प्रक्रिया सुरु भएको छैन। पार्टीका विभाग र निकाय गठन यसअघि नै गठन गरिसक्नुपर्ने हो तर अहिलेसम्म प्रचारबाहेक अन्य विभाग गठन नै हुन सकेको छैन।

विधानअनुसारका संगठनलाई पूर्णता दिने र संगठनलाई चलायमान बनाउन सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको मात्र होइन इतर पक्षको पनि ध्यान पुगेको छैन। जसले गर्दा पार्टीको कुनै पनि निकायले पूर्णता पाउन सकेको छैन। पार्टी विधानले महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान, अनुशासन समिति, प्रचारसहितका केहीबाहेकका विभाग गठन गर्ने र नेता तथा कार्यकर्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्य नेताहरूको प्राथमिकतामा परेको छैन।

पार्टी विधानले प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने उल्लेख गरेको छ। तर कांग्रेसमा केन्द्रीय समितिको बैठक नबसेको एक वर्ष भयो। गत वर्षको असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेपछि कांग्रेसको अर्को केन्द्रीय समितिको बैठक बसेको छैन। पार्टी पदाधिकारी र नेताहरू बाहिर विधि र विधानका विषयमा जति मुखर भएका छन्, पार्टीका बैठक र निकायहरूमा त्यसअनुसार प्रस्तुत हुन नसकेको गुनासो निकटहरूले नै गर्न थालेका छन्। 

पार्टी विधानले दिएको अधिकारअनुसार पार्टी संगठन सञ्चालन र परिचालनमा पछिल्ला पुस्ताका नेताहरूले पनि योग्यता र क्षमता देखाउन नसकेको गुनासो कांग्रेसभित्र बढ्दै गएको छ। सबै तहका नेताले आफूलाई केन्द्रमा राख्दा पार्टीको भ्रातृ तथा शुभेच्छुक संगठनहरू कामविहीनजस्तै बनेका छन्। 

२०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघसहित कार्यकाल सकिएका केन्द्रीय समिति भंग गरिएको थियो। तर अहिलेसम्म अधिकांश भ्रातृ संगठनको केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।  

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले महाधिवेशनपछिको डेढ वर्ष नेता तथा कार्यकर्ता मात्र होइन, जनअपेक्षाअनुसार काम हुन नसकेको स्वीकार गरे। विधानअनुसार पार्टीलाई हिँडाउन नसकिएको बताउँदै सहमहामन्त्री पाण्डेले भने, ‘यसमा व्यापक समीक्षासहित नयाँ ढंगबाट पार्टीलाई अघि बढाउन आवश्यक छ।’ प्राध्यापक लोकराज बरालले कांग्रेस महाधिवेशनपछिको डेढ वर्षमा नीति र थिति बसाउने काममा खासै प्रगति नभएको बताए। 

पार्टीको पछिल्लो पुस्ता कांग्रेसलाई विधि र विधानअनुसार चलाउनुपर्छ भन्नेमा रहे पनि निर्णय प्रक्रियामा पुर्याउन सक्ने अवस्थामा अझै नरहेको बताउँदै बरालले भने, ‘प्रयासहरू भएका छन् तर कांग्रेसमा थिति बस्न अझै केही समय लाग्छ।’ कांग्रेस विधानले पार्टी सभापतिलाई नै अधिकार सम्पन्न बनाएको धारणा राख्दै उनले भने, ‘सभापतिलाई विस्थापित गर्न पार्टी संगठन नै त्यसको विरुद्धमा हुनुपर्छ।’

१० विषयमा छलफल, बैठकको प्रत्यक्ष प्रसारण

नेपाली कांग्रेसको एक वर्षपछि मंगलबारदेखि केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार दिउँसो सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले विभिन्न १० अजेन्डा तय गरेको छ। सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकमा समसामयिक विषय (आर्थिक, सामाजिक, परराष्ट्र, सुशासनलगायत) मा छलफल गर्ने अजेन्डा तय गरेको छ। बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ। जसअनुसार कांग्रेसले पार्टीको १४औं महाधिवेशनका क्रममा गर्ने भनिएको नीति महाधिवेशन वा महासमिति बैठकको मिति तोक्नेछ। कांग्रेसले नीति महाधिवेशन असोजमा गर्नेगरी आन्तरिक छलफल चलाएको छ। त्यस्तै बिपी जन्मजयन्तीको अवसर पारेर कांग्रेसले राष्ट्रव्यापी संगठन परिचालनको अभियान सञ्चालन गर्ने जनाएको छ।

कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नुका साथै पार्टी विभागहरूको संख्या थप गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। २७ विभागबाट संख्या बढाउने र तिनीहरूका नाम र कार्यक्षेत्र तोक्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। बैठकमा आठ महिनाअघि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्नुका साथै उक्त चुनाव परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले प्रतिवेदन पेस गर्नेछन्। त्यस्तै आनन्द ढुंगाना नेतृत्वको अनुशासन समिति, प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सदनमा सम्पादन भएका कामहरूको प्रतिवेदन, सरकारका उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे बैठकलाई जानकारी गराउने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अजेन्डा तय गरेका छन्।

साथै मंगलबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाकै प्रस्तावमा बैठकमा हुने छलफल पार्टीको फेसबुक पेजबाट ‘लाइभ’ हुने नेताहरूले जनाएका छन्।

प्रकाशित: २ श्रावण २०८० ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App