२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

छोटी नाकाबाट दिनहुँ तस्करी

नेपालगन्ज— बुधबार भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको टोलीले बर्दिया, मोहमदपुरस्थित अइनुदिन सेखको घरमा १० लाख रूपैयाँ बराबरको एक सय ५० क्विन्टल लसुन बरामद ग¥यो । प्रहरीका अनुसार उक्त लसुन सेखले लौकाई नाकाबाट भारत लैजान घरमा लुकाएर राखेका थिए।साताअघि मात्रै बर्दिया प्रहरीले बिभिन्न भारतीय नाकाबाट अवैध रूपमा भित्रिएको तीन हजार लिटर इन्धन बरामद गरेको थियो । सामान्य अवस्थामा ठप्पप्रायः रहने दाङको कोइलावास नाकामा अहिले बाक्लो चहलपहल छ । त्यहाँबाट तस्करीको इन्धनदेखि अन्य सामान सहजै नेपाल भित्रिने गर्छ ।

यी केही प्रतिनिधिमूलक दृष्टान्त हुन् । भारतीय नाकाबन्दीको कारण तराईका जिल्लामा रहेका 'छोटी भन्सार नाका' हरू अहिले अवैध रुपमा मालवस्तु ओसारपसार गर्ने सहजमार्ग बनेका छन् । सामान्य समयमा समेत तस्करीका कारण चुनौती बन्ने गरेका यी नाकाबाट अहिले खुलेआम तस्करी भरहेको छ । नाकाबन्दीतर्फ केन्द्रित प्रहरी–प्रशासनको ध्यान यसतर्फ पुग्न सकेको छैन ।

नाकाबन्दीयता मुख्य भन्सार नाकामा कडाइ हुन थालेपछि छोटी भन्सार नाकामा तस्कर गिरोह सक्रिय भएको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । उनीहरूका अनुसार तस्करले इन्धन, मल र निर्माण सामग्री भिœयाइरहेका छन् ।

बर्दियाको कोठियाघाट छोटी भन्सार नाकाबाट दैनिक ठूलो परिमाणमा इन्धन, सयौँ बोरा मलखाद र अन्य मालसामान भित्रिरहेको स्थानीय एक होटल व्यवसायीले बताए । 'हामीले गनेर बस्ने कुरा त हुँदैन,' उनले भने, 'नाकाबाट दिन–रात सामान भित्रिरहेको छ ।' कोठियाघाट नाका सदरमुकाम गुलरियादेखि २४ किलोमिटर पश्चिममा पर्छ ।

कपिलवस्तुको सीमावर्ती क्षेत्रका सर्वसाधारण छोटी भन्सार नाकामा सबैभन्दा बढी पेट्रोलियम तस्करी हुने गरेको बताउँछन् । उनीहरूका अनुसार तस्करीमा दुवै देशका सर्वसाधारण संलग्न छन् । कपिलवस्तुमा मात्र नौवटा छोटी भन्सार नाका सञ्चालनमा छन् । सीमाक्षेत्र मर्यादपुरमा चियानास्ताको पसल सञ्चालन गर्दै आएकी रीता गुप्ता नाकाबन्दीयता मर्यादपुर नाकामा चहलपहल निकै बढेको बताउँछिन् । नाका हुँदै साइकल र मोटरसाइकलमा दैनिक उपभोग्य सामग्रीसँगै पेट्रोलियम ओसारिरहे पनि दुवैतर्फका सुरक्षाकर्मीले रोकेका छैनन् । 'नाकाबन्दीयता तेल तस्करी बढेको छ,' उनले भनिन्, 'यसमा दुवै देशका व्यक्ति संलग्न छन् ।'

आँखैअघि तस्करी भइरहे पनि प्रहरीले वास्ता नगरेको सीमाक्षेत्र सोमडिहका मुकेश पाठक बताउँछन् । 'तेल र उपभोग्य सामान तस्करी बढेको छ,' उनले भने, 'तस्करहरूले दुवैतर्फ 'सेटिङ' मिलाएकाले निर्बाध सामान ओसारिरहेका छन् ।'

भन्सार नहुँदा समस्या

सशस्त्र द्वन्द्वकालमा विस्थापित छोटी भन्सार नाकाहरू अहिलेसम्म पुनःस्थापना नहुुनु तस्करी बढ्नुको मुख्य कारण हो । बर्दियाका आठ छोटी भन्सार नाकामध्ये गुलरिया र तारातालबाहेक ६ नाका अझै पुनःस्थापना भएका छैनन् ।

नाकाबन्दीयता यी नाकाबाट इन्धन तस्करी गर्नेहरू बढेको स्थानीय जयबहादुर बुढाले बताए । 'भारतीयले जिप र कारमा तेल ओसारिरहेका छन्,' उनले भने, 'मुख्यतः राप्तीपारिको गढवा क्षेत्रमा तेल कालोबजारी मौलाएको छ ।' बर्दियामा पेट्रोल प्रतिलिटर १ सय ६० र डिजेल १ सय ४० रुपैयाँमा खुलेआम बिक्री भइरहेको छ ।

भारतसँग सीमा जोडिएका दाङका २६ मध्ये २५ नाका सडक सञ्जालसँग नजोडिँदा सञ्चालनमा छैनन् । तस्करले अहिले यसैको फाइदा उठाइरहेका छन् । यिनै नाकाबाट भारतीयले इन्धन नेपालसम्म ल्याइदिने गरेका छन् । तेल नेपाल भिœयाएबापत भारतीय तस्करले प्रतिलिटर १० रुपैयाँ लिने गरेको खुलेको छ । 'ती तस्करलाई सीमानाकामा कुनै रोकावट हुँदैन,' एक स्थानीयले भने, 'तस्करले भारतीय नाकामा 'सेटिङ' मिलाएका कारण उनीहरूलाई सीमामा रोकावट नभएको हुन सक्छ ।'

प्रहरीले भने छोटी नाकाबाट तस्करी नभएको दाबी गरेको छ । 'मोटरसाइकल ट्यांकीमा तेल ल्याउनु त सामान्य कुरा हो तर ठूलो परिमाणमा तस्करी गरेको हामीलाई जानकारी छैन,' दाङको सीमावर्ती प्रहरीचौकीका एक अधिकृतले भने ।

कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयप्रमुख धु्रवबहादुर विश्वकर्मा छोटी भन्सार नाका पुनःस्थापित हुन नसक्दा तस्करी नियन्त्रण चुनौती बढेको बताउँछन् । यद्यपि, सरोकारवाला निकायको समन्वयमा योजनाबद्ध तरिकाले काम गरे तस्करी नियन्त्रण हुने उनको विश्वास छ ।

नाकाबन्दीयता सामान तस्करले छोटी भन्सार नाका प्रयोग गरिरहेको बर्दियास्थित राजापुर भन्सार कार्यालयका प्रमुख मनोजकुमार विक स्विकार्छन् । द्वन्द्वकालयता ती नाका पुनःस्थापित हुन नसक्दा तस्करी नियन्त्रण चुनौती बनेको उनको भनाइ छ । 'ठूला नाकामा अवरोध हुँदा तस्करले छोटी भन्सार नाका प्रयोग गरेको हुन सक्छ,' उनले भने ।

कञ्चनपुर भन्सार कार्यालयप्रमुख रामप्रसाद रेग्मी नाकाबन्दीपछि छोटी नाकामा अवैध रूपमा ओसार–पसार बढ्न नदिन सतर्कता अपनाइएको दाबी गर्छन् । उनले नाकामा तस्करी नियन्त्रणका लागि सशस्त्र र प्रहरीसँग समन्वय गरिएको बताए ।कपिलवस्तुका सहायक प्रजिअ कृष्णबहादुर खड्का भने देशमै पेट्रोलियम र उपभोग्य सामग्री अभाव भइरहेका बेला सीमानाकामा कडाइ गर्न त्यति सहज नभएको बताउँछन् ।

बर्दिया प्रशासनले छोटी भन्सार नाकामा तस्करी हुन नदिन सुरक्षाकर्मी परिचालन गरेको छ । सहायक प्रजिअ श्रीनाथ पौडेलले छोटी भन्सार नाकाबाट तस्करी बढेको जानकारी आएपछि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
(निर्मल घिमिरे– बर्दिया, देवेन्द्र बस्नेत– दाङ, किरणमान बज्राचार्य– कपिलवस्तु र राजेन्द्र भट्ट–महेन्द्रनगर)

प्रकाशित: १७ मंसिर २०७२ २०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App