पाल्पाकोे भगवती जात्रा युद्धमा विजय हासिल भएपछि त्यसकै सम्झनामा मनाइने विजयोत्सव हो। आफ्नो साम्राज्यमा कहीँ कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफूलाई अब्बल दर्जाको ठान्ने अंग्रेज साम्राज्य थियो कुनै बेला। अरूलाई किञ्चित नमान्ने यस्तो साम्राज्यको ठूलो इकोनोमिक इन्जिनको रूपमा रहेको इस्ट इन्डिया कम्पनीलाई पटक–पटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाइन्छ। कृष्णजन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजीरसिंह थापाको तरबार हातमा लिई रथ परिक्रमामा राखिने भगवतीको मूर्तिलाई खटमा राख्ने गर्छन्। भोलिपल्ट शुभसाइतमा सेनाको गारदले बढाइँका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु हुन्छ। त्यस बेला सरदार सूर्य थापा, लप्टन अमर अधिकारी, कुम्भदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानियाँ एवं जुठे बस्नेतसहित पाँच सयले वीरगति प्राप्त गरेको माटोमा राष्ट्रियता तरंगित हुन पुग्छ। काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजीरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा रगडिँदै उर्लेर आएको राटि्रय भावना जयजयकारको स्वरले गुञ्जायमान हुन्छ।
सांस्कृतिक विविधतापूर्ण नेपालमा वर्षभरिजसो थुप्रै देवीदेवताको रथयात्रा हुने गर्छ। पाल्पा भगवतीको रथयात्रा अरूसँग समान देखिए पनि सारपक्ष भिन्न छ। यो जात्रा धार्मिक आस्थामा मात्र होइन युद्ध विजय अनि राष्ट्रियतासँग पनि गाँसिएको छ।
भौगोलिक विवाद र विजय
पूर्वका २२ वटा गाउँलगायत बुटवल र स्यूराजको विषयमा कम्पनी सरकार र नेपाल सरकारबीच ती भूभागमा आ–आफ्नै दाबी चलिरहेको थियो। सन् १८०१ मा कम्पनी सरकार र नेपाल सरकारबीच भएको सन्धिको धारा ५ अनुसार दुई देशबीच कुनै सीमासम्बन्धी विवाद उठे सोही धाराअनुरूप सुल्झाउने प्रावधान भए पनि कम्पनी सरकारले नेपालउपर एकतर्फी युद्ध घोषणा गर्यो । युद्ध घोषणा गर्ने लर्ड फ्रान्सिस रवान्डो मोरिया (जो सन् १८१२ देखि सन् १८२३ सम्म ब्रिटिस इन्डियाका गभर्नर जनरल थिए, पछि हेस्टिङका मार्क्यूस भए) को कदमबारे लन्डनमा आलोचना भयो। त्यसको बचाउ गर्दै उनले नेपाललाई नै आक्षेप लगाए र दोष नेपालमै थुपार्दै तीन बुँदा उल्लेख गरी स्पष्टीकरण दिएका थिए। युद्ध गर्नुपर्ने कारणलाई औंल्याउदै दिएको स्पष्टीकरणमा सैनिक, राजनीतिक र व्यापारिक उद्देश्य लुकेको थियो।
ती बुँदामाः पहिलो, दक्षिणतिर बढिरहेको नेपालको विस्तारलाई रोक्नु र युद्ध रुचाउने नेपालीलाई कम्पनी सरकारको सैनिक शक्तिको पाठ सिकाउनुका साथै नेपाललाई युद्धमा हराइसकेपछि ब्रिटिस राजनीतिको अधिनमा ल्याउनु थियो। दोस्रो, भर्खरै विजित कुमाउँ र गढवालको भूमिमा नेपाललाई अधिकारबाट वञ्चित गराएर छेक्नु थियो। तेस्रो, कुमाउँ र गढवालको भूभाग जुन ब्रिटिसराजमा समामेलन भएकोे छ, त्यसबाट ब्रिटिसलाई तिब्बत जाने नयाँ बाटो खुल्नेछ र खास गरी पस्मिना पछ्यौरा उत्पादन हुने क्षेत्रको लागि बाटो सुगम हुनेछ। यसले इन्डो–तिब्बेटियन ट्रेडलाई प्रोत्साहित गर्नेछ भन्ने रहेको थियो।
नेपालसँग युद्ध गर्नु कम्पनी सरकारको भित्री आशय आफ्नो व्यापार घाटालाई पूर्ति गर्न अवलम्बन गरेका माध्यम पनि थियो। युद्ध सुलह भएपछि गरिएको सुगौली सन्धिमा उनीहरूको ध्यान चीन जाने बाटो र चियाको खेतीयोग्य भूमि हासिल गर्नु थियो भन्ने यस कुराले छर्लंग हुन्छ, किनकि कम्पनी सरकारले भारतका अन्य विजित राज्यसँग गरेको सन्धिजस्तो 'सुगौली सन्धि' थिएन। अरू विजित राज्यसँग संरक्षकत्व, नैतिक र राजनीतिक प्रभुत्व कायम गर्ने गरी सन्धि गरिएको थियो।
नेपालउपर गरिएको युद्ध घोषणा पूर्वाग्रही भने पक्कै थियो। अंग्रेजले कुमाउँ र गढवालतिरको भूभाग हडप्न पहिल्यैदेखि योजनाबद्ध तरिकाले आँखा गाडिरहेको थियो भन्ने कुरा यसरी पुष्टि हुन्छ।
काशीपुरमा कम्पनी सरकारले भाङ (अफिम) को कारखाना खोलेको थियो। त्यहाँ कम्पनी सरकारका अफिसरहरू आउँदा कुमाउँको प्राकृतिक मनोरम छटाबाट अचम्भित हुन्थे। त्यहाँको जंगल, जलवायु र साधारण परिस्थितिको निरीक्षण गर्न बैलेसीले मिस्टर गाटलाई इसं १८०२ मा सुटुक्क पठाएका थिए। सन् १८११/१२ मा मुरक्रेस्ट र क्याप्टेन हेरसी तिब्बतमा पक्रिएका थिए, त्यहाँबाट छुटेर फर्केपछि कुमाउँको बारेमा रिपोर्ट पेस गरेका थिए। त्यसपछि कुमाउँको प्राकृतिक संशाधन र प्राकृतिक छटाको वर्णन गरी गार्डनरले पनि रिपोर्ट पेसे। इतिहासका पाना पल्टायौंैं भने हेस्टिङका मार्क्यूस, फ्रान्सिस रुवान्डा मोइरो काशीपुरको बाटो हँुदै कुमाउँ पुगेका थिए। कुमाउँबारे रिपोर्टमा 'म सपनीमा पनि कुमाउँको अद्भुत दृश्य एवं हिमालयको नैसर्गिक छटालाई देख्ने गर्छु, साथै ईश्वरसँग प्रार्थना गर्दछु कि त्यो दिन छिट्टै आओस्, जब यो सुन्दर देश हाम्रो हातमा आएको हुनेछ।' यस कुराले नेपालसँग युद्ध हुनुअघि नै कम्पनी सरकारलेे कुमाउँलाई अंग्रेजी राज्यमा मिलाउने निश्चय गरिसकेको देखिन्छ।
युद्धपछिको परिदृश्यमा भने कुमाउँका भूभाग अंग्रेजराजमा स्थापित भएपछि सन् १८२३ को बन्दोबस्तअनुसार भूमिको सीमा कोरिएपछि कुमाउँका राम्रा जमिन आफूले पाउनुपर्ने अंग्रेजको माग थियो। पहिले विनाआज्ञा अंग्रेजहरूलाई निजी सम्पत्ति जोड्न अनुमति थिएन। सन् १८२७ मा डा. राँयलले कुमाउँको खेती नहुने ठूलो भूमिमा चिया खेती गर्न युरोपियनहरूलाई दिन आग्रह गरेका थिए। सन् १८२८ देखि १८३७ बीच ब्रिटिस पार्लियामेन्टमा भारतमा अंग्रेजहरूले निजी सम्पत्ति राख्न पाउने कानुन धेरै वादविवादका बीच पारित भएको थियो। बेटनले खेतीयोग्य जलवायु रहेको अग्लाअग्ला टाकुरा अंग्रेजलाई 'फ्रि सिम्पल' याने सित्तैमा दिने प्रावधानअनुसार फलफूल र चियाको खेती गर्नका लागि बाँडेका थिए। 'फ्रि सिम्पल' जमिनहरू अलमोडा जिल्लाको दुनागिरि स्टेट, लोध, कौसानी, श्याली, डुमलोट, बेनीनाग चौकोडी, झलतोला, लोहाघाट, भैसोहा स्टेट, हवालवारा, पोत साथै नैनीताल जिल्लाको भवालीका दुई ठाउँ, भीमताल र कैपन कुशामा गरी चार ठाउँमा अंग्रेजलाई 'फ्रि सिम्पल' जमिन दिइएको थियोे। यही नै कम्पनी सरकारको हिडेन इन्ट्रेस्ट थियो।
यही इन्ट्रेस्ट बोकेको कम्पनी सरकारले नेपालउपर युद्ध घोषणा गरेर पाँच ठाउँबाट आक्रमण गरेका थिए। ब्रिटिसको बलियो सैन्यशक्ति, सोफिस्टिक हतियार, पउल नफ्री एकातिर थियो भने नेपालको कम नफ्री र कमसल स्थानीय हतियार थियो। १८०१ सालदेखि १८६९ सालतक एकैनास चलेको राज्यविस्तार अभियानमा राष्ट्रसेनाले ६८ वर्षसम्म एकपछि अर्को ७८ वटा लडाइँ लड्यो। चार ठाउँमा भएको युद्ध नेपालले आफ्नोे पक्षमा पार्न सकेन। तर पाल्पा नाकामा भएको युद्धमा नेपालको विजय भयो। नेपालको स्थिति प्रतिकूल भएको भए यो देश अहिलेको आकारमा हुने थिएन। 'लडाइँ त हतियारले होइन, विचारले लडिन्छ' भन्ने मूलमन्त्रलाई आत्मसात गरी नेपालले यस क्षेत्रबाट कम्पनी सरकारलाई पराजित गरेको थियो। अंग्रेजले यस्तो कन्दरामा पनि हामीलाई परास्त गर्ने शक्ति रहेछ भन्ने चेत बोकेर गएका थिए।
युद्ध जित्नका लागि कर्णेल उजीरसिंह थापाले प्रस्तरको सोह्र बाहु भएकोे महिषाशुर मर्दिनी भगवतीसामु भाकल गरेका थिए। युद्ध जितेपछि भगवतीको अठार बाहु भएको अष्टधातुयुक्त मूर्ति स्थापना गर्नुका साथै तीनतले कलात्मक मन्दिर निर्माण गरे। आफ्नो उचाइबराबरको सुनको मोलम्बो लगाइएकोे गजुर चढाए। जुन गजुरले सदा राष्ट्रियता, राष्ट्रिय गौरवलाई झकझक्याइरहेको छ। हरेक वर्ष हर्षोल्लाससाथ रथयात्रा हुनेे गर्छ, त्यस दिन स्थानीय बिदा हुन्छ। रथयात्राको अघिल्लो दिनदेखि चारैचौरासका मानिसको घुइँचो लाग्छ।
युद्धमा नेपालले धेरै भू–भाग गुमायो। पन्जाब अधिराज्यका महाराज रणजीतसिंहले हामीलाई छाडी कम्पनी सरकारसँग साइनो गाँसे पनि आफ्नो राज्य कायम गर्न सकेनन्। यहाँसम्म कि रणजीतसिंहले आफ्नो मुकुटमा सानका साथ सजाएर राखेको 'कोहिनुर हिरा' पनि पछि बेलायती महारानीको ताजमा सजिन पुग्यो। पन्जाबका पछिल्ला महाराज दीलिपसिंहसँग कम्पनी सरकारले गरेको पाँचबुँदे सन्धिअन्तर्गतको तेस्रो बुँदाको व्यवस्थाले यो गुम्यो।
आज हामी देशको सीमानामा राष्ट्रियताको खोजी गरिरहेका छौं। अरूको हस्तक्षेपबीच राष्ट्रियताको खोजी गरिरहेका छौं। दुःखको कुरा, इतिहास केलाउने जाँगर हामीमा छैन। पुर्खाले आर्जेको राष्ट्रिय गौरवको जानकारी लिने समय छैन। सन् १७८० मा पाँचौं पञ्चेन लामाको माईको कारण मृत्यु भएपछि उनका दुई भाइबीच सम्पतिको विषयमा झगडा भयो। एक भाइले नेपालसँग सहायता मागेपछि तिब्बतउपर आक्रमण गर्न नेपाल जुर्मुराएको थियो। एंग्लो नेपाल वारमा कम्पनी सरकारलाई छुत्ति खेलाएको नेपाल, सन् १८५७ को गारदमा अंग्रेजको नाक जोगाइदिएको नेपाल प्रथम र दोस्रो विश्वयुद्धमा अंग्रेजलाई युद्धमा लडाकुमात्र होइन चिया, कम्बल, आर्थिक सहयोग गरेको गौरवपूर्ण इतिहास हामीसँग छ। ती युद्धमा 'डोनेटेड बाई महाराज चन्द्रशमशेर' लेखेको मेसिनगन र 'नेपाल वन र नेपाल टु' अंकित एम्बुलेन्स दिएको नेपालको इतिहासको पाना पल्टाउन युवाहरूसँग फुर्सद छैन।
नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई हाम्रा पुर्खाले कसरी जगेर्ना गरे, कसले कति रगत–पसिना बगाए; यस विषयमा खोजी गर्ने पटक्कै चाहना छैन। अब बेला आएको छ, रणभेरीको नादसँगै उठ्ने पाल्पा भगवतीको जात्राबीच राष्ट्रियता खोज्ने। राज्यले पनि यसको हेक्का राखी भगवती जात्रालाई आञ्चालिक होइन राष्ट्रिय पर्वको रूपमा सम्बोधन गर्नु आजको आवश्यकता हो।
प्रकाशित: १८ भाद्र २०७२ २३:११ शुक्रबार





