आफ्नो अनुहार देखिने गरी जुत्ता टिलिक्क टल्काएर हिँडेका एक युवक सुन्धाराको फुटपाथमा बिग्रेको ब्लकमा अनजानै कच्याक्क कुल्चिन्छन्। उनको टल्केको जुत्ताको हविगत बिग्रन्छ। ब्लेडको धारजस्तै मिलाएर क्रिज लगाएको पाइन्टमा हिलोको छिटा पर्छ। सँगै हिँडेका अन्य बटुवा पनि झस्किन्छन्। सबैले उनैलाई घोरिएर हेर्छन्। उनी लाजले रातोपिरो हुन्छन्। मुर्मुरिन्छन्। र, सरकारलाई गाली गर्न थाल्छन्।
दृश्य २
एक जोडी रमाइलो मुडमा ठमेलस्थित स्वप्न बगैंचाबाट बाहिरिँदै छन्। हेर्दै थाहा हुन्छ, स्वप्न बगैंचाभित्रको बसाइले उनीहरूलाई कत्ति प्रफुल्ल बनाएको छ। मूल ढोकाबाट बाहिर निस्कनासाथ एक सडक बालक हात फैलाउँदै आइपुग्छन्। युवकलाई त्यो मन पर्दैन। ऊ झर्किन्छ। सँगै रहेकी युवतीले भने आफ्नो पर्स खोतल्न थाल्छिन्। सायद उनले खुद्रा पैसा भेट्दिनन्। उनी युवकतर्फ पुलुक्क हेर्छिन्। अब युवक जंगिन थाल्छ, 'उता जा। छैन पैसा।' सडक बालकले युवकको खुट्टै समात्छ। तैपनि उनी पैसा दिने मुडमा आउँदैनन्। त्यसपछि सडक बालक रिस पोख्न थाल्छ, 'भित्र गएर लभ गर्न पैसा हुन्छ। गरिबलाई दिन पैसा हुँदैन?' दुवै जना कालोनिलो मुख लाउँदै त्यहाँबाट बाटो लाग्छन्।
दृश्य ३
सिमसिम पानी परिरहेको छ। नेपाल एयरलाइन्सको भवन सुन्धारा अगाडि यात्रुहरुको भिड छ। ट्याँट्याँ–टुँटुँ गरिरहेका माइक्रो लाम लागेका छन्। माइक्रोभित्र बस्ने ठाउँ पाउनु भनेको ठूलो युद्ध जितेजस्तो! सहचालक सकेसम्म यात्रुलाई भित्र कोच्न खोज्दै छन्। सडकमा उभिएका ट्राफिक प्रहरीको ध्याउन्न भने सकेसम्म छिटो माइक्रोलाई त्यहाँबाट धपाउनेमै छ। एक महिला भरिभराउ माइक्रोमा चढ्न खोज्छिन्। ढोकाबाट टाउको घुसारेकी मात्र के थिइन्, सहचालक उनको नितम्बलाई छुँदै भित्र जानुस् भन्छन्। उनी रातो मुख लाउँदै माइक्रोबाट ओर्लन्छिन् र छाता खोलेर ओत लिन्छिन्। उनी निकै बेरसम्म खाली माइक्रोको पर्खाइमा त्यहीँ उभिइरहन्छिन्।
...
राजधानी काठमाडौंमा हामीले दिनदिनै अनेकौं यस्ता समस्या झेलिरहेका हुन्छौं। जति नै सुन्दर र व्यवस्थित राजधानीको कल्पना गरे पनि यी दृश्यहरू हामीले भोग्दै आइरहेका छौं।
यस्ता समस्या कति देखिन्छन् कति देखिँदैनन्। कति बेवास्ता गरिन्छन्। राजधानीको समस्या फराकिला सडकदेखि साँघुरा गल्लीसम्म, सुकुम्बासी बस्तीदेखि गगनचुम्बी अपार्टमेन्टसम्म छरपष्ट छन्।
बबिता पाठक बानेश्वरमा बस्न थालेको छ वर्ष भयो। पढाइका लागि सिन्धुपाल्चोकबाट आएकी उनी धेरै समस्यासँग अभ्यस्त भइसकेकी छिन्। उनलाई न बर्सेनि एकोहोरो भट्याइने बजेटका कुनै बुँदामा विश्वास छ न नीति तथा कार्यक्रममा। बिहान उठेर सजिलैसँग आफ्नो काममा जान पाए र बेलुकी कोठामा फर्कन पाए अरू चाहिन्न। 'नेताहरू त ठूला कुरा गर्नेमात्र हुन्। समस्या भोग्नेचाहिँ हामी,' उनी भन्छिन्, 'हामीजस्तो समस्या भोगेका व्यक्ति नेता भए पनि हुने त्यही हो। सुधार होला भन्ने त विश्वासै लाग्दैन।'
यस्ता समस्यामा सुधार ल्याउन सरकारले केही नगरेको पनि होइन। हरेक आर्थिक वर्षको बजेटमा राजधानी सिँगार्ने सपना देखाउने अर्थमन्त्रीहरूले यसपालि पनि त्यसै गरे। आर्थिक वर्ष २०७२/७३ को बजेटमा काठमाडौं उपत्यकालाई राष्ट्रिय राजधानी बनाइने प्याकेजको घोषणा गरिएको छ। उपत्यकाको एकीकृत विकासको गुरुयोजनाअनुसार नै कार्यक्रम सञ्चालन गर्ने बजेट भाषणमा उल्लेख छ। उपत्यकाको विकासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले १५ वर्षे गुरुयोजना बनाएको छ।
राष्ट्रिय राजधानीको वातावरण स्वच्छ पार्न र सौन्दर्य बढाउन सरकारले आगामी वर्ष उपत्यकाका खुला ठाउँमा वृक्षरोपण, हरियाली विस्तार, साजसज्जा र आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र पार्ने भनिएको छ। यसै प्रयोजनका लागि सरकारी जमिनसँगै सरकारले निजी जमिन पनि खरिद गर्नेछ।
खुला स्थानको साजसज्जा, सौन्दर्यीकरण र मर्मतसम्भारमा निजी र सार्वजनिक व्यावसायिक प्रतिष्ठानलाई व्यावसायिक–सामाजिक उत्तरदायित्वअन्तर्गत संलग्न हुन प्रोत्साहित गरिने बजेट भाषणमा उल्लेख छ।
बजेटमा काठमाडौंको चक्रपथ विस्तारका साथै उपत्यकाका सडक मर्मत र विस्तारलाई उच्च प्राथमिकता दिने बताइएको छ। सवारी चाप भएका चौबाटामा फ्लाईओभर निर्माणको पूर्वतयारी गरिने, नगरपालिकाको सहकार्यमा उपत्यकामा आधारभूत सुविधासहितका चार सय सार्वजनिक शौचालय निर्माण हुने भनिएको छ। सरकारले तोकेको कार्यविधिअन्तर्गत सार्वजनिक शौचालयको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई समेत सहभागी गराइने बजेटमा उल्लेख छ।
सरकारले यसखाले वाचा समयको अनुशासनमा रहेर पूरा गरे राजधानीको मुहार साँच्चै परिवर्तन हुन्थ्यो पनि होला। तर, धेरैलाई विश्वास छैन। 'यस्ता वाचाहरू ५० प्रतिशत पूरा भएमात्रै सरकारसँग गुनासो गर्नुपर्ने ठाउँ रहँदैन थियो,' बानेश्वर निवासी बबिता पाठकले भनिन्, 'तर, यो देखाउने दाँतमात्र हो। अब नागरिक नै जाग्ने बेला भएको छ। होइन भने तैं चुप मै चुप!'
दिनहुँ समस्या बढिरहे पनि त्यसैमा अभ्यस्त हुनेहरू 'चलेकै छ' भन्ने मान्यतामा छन्। न उनीहरू सरकारलाई धिक्कार्छन्, न गुनासो बोकेर सम्बन्धित निकायसम्म पुग्ने जाँगर चलाउँछन्। किनभने यसो गर्नुको कुनै औचित्य नभएको बताउँछन्, बानेश्वर निवासी मनोजकुमार भट्ट। शंकरदेव क्याम्पसका विद्यार्थी उनले धारामा पानी नआएका कारण जारकै पानीले भए पनि लुगा पखालेका छन्। 'दिनभर सडकमा चाहर्दा बोकेको धुलो पखाल्नैपर्योा,' उनले भने, 'त्यसैले झोँकैझाँेकमा केहीपटक त जारकै पानीले नुहाउने, लुगा धुने काम गरेको छु।'
सरकारले मनोजजस्ताको समस्यालाई समाधान गर्न उपत्यकामा खानेपानीको वितरण सहज र नियमित तुल्याउन दुई वर्षभित्र मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने यो वर्षको बजेटमा दाबी गरेको छ। ट्यांकरबाट पानी वितरण गर्ने समयतालिका सार्वजनिक गर्ने, तोकिएको समयमा पानी वितरण नगर्ने निकाय प्रमुखलाई कारबाही गर्ने लगायतका व्यवस्थासमेत बजेटमा छ।
हिलाम्मे सडक
वर्षा सुरु भएसँगै राजधानीवासीले भोग्ने अर्को समस्या हो— हिलो। पानी नरोकिएसम्म हिलोको मार र घाम लाग्न थालेपछि धुलो। सडक विस्तारको काम पूरा नहुँदा राजधानीका कतिपय ठाउँको दृश्य असारमा धान रोप्न तयार पारिएको खेतभन्दा कम छैन। केही ठाउँको बाटो देख्दा लाग्छ, सडक होइन खहरेमाथि गाडी गुडिरहेको छ। मूलपानी, गोठाटार, जोरपाटीका भित्री सडक त्यसका पर्यायमात्र हुन्।
राजधानीको अति व्यस्त स्थान बागबजार सडकखण्डको हविगत देख्ने जो कसैको मन कुँडिन्छ। जताततै खाल्डाखुल्डी र माटोको थुप्रो। पुरानो बानेश्वर–सिनामंगल, कोटेश्वर–कलंकी सडकखण्डको दुर्दशाले त्यस क्षेत्रका बासिन्दा आजित भएको एक वर्ष बितिसक्यो। सुन्धारा क्षेत्र वरपरकै फुटपाथलाई नयाँ बनाउने भनेर वर्षा सुरु हुनुअघि मात्रै खन्न थालिएको थियो। वर्षा सुरु हुँदा पनि काम नसकिएपछि बटुवा सास्ती भोग्न बाध्य छन्। नजिकैको महानगरपालिका कार्यालय छ, तर अधिकारीहरू आँखामा यस्ता अस्तव्यस्त सडक पर्न सकेका छैनन्।
पक्की सडकको स्थिति पनि खनिएका सडकभन्दा खास गतिलो छैन। सडक आसपास ढलको उचित निकास नहुँदा वर्षासँगै राजधानीका मुख्य सडक र चोक पोखरीझैं बन्ने गरेका छन्। यसले सबैभन्दा ठूलो समस्या ट्राफिक व्यवस्थापनमा पार्ने महानगरीय ट्राफिक महाशाखाका प्रमुख जयबहादुर चन्द बताउँछन्। उनका अनुसार महानगरको कुनै पनि सडकमा गतिलो ढलको व्यवस्था छैन। ढल व्यवस्थापन राम्रो नहुँदा उपत्यकाको तीनकुने, जमल, पुतलीसडक, मैतीदेवी, चाबहिल, माइतीघर, त्रिपुरेश्वर, थापाथली, टेकु, कुपन्डोल, माछापोखरी, बालाजु, ग्वार्को, बौद्ध, बालकुमारी, बल्खु, पुरानो बानेश्वरलगायत २० ठाउँमा पानी जम्ने गरेको छ।
सडकलाई पोखरी बन्न नदिने जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को हो भने सडकका दुईछेउमा रहेको ढल व्यवस्थापन डिभिजन सडक कार्यालयले गर्नुपर्छ। तर यी समस्या समाधानका लागि दुवै निकाय सुस्त देखिएका छन्।
मौसमी वा बेमौसमी वर्षापछि राजधानीको मुख्य सडक र चोक जलाम्य भएर सवारी आवतजावत अस्तव्यस्त बन्दा ड्युटीका ट्राफिकले पानी कटाउन गरिरहेको प्रयास राजधानीवासीका लागि नौलो दृश्य होइन।
कपनका प्रकाश कोइराला काठमाडौं बस्न थालेको ४० वर्ष पुग्न लाग्यो। उनले राजधानीका धेरै परिवर्तनलाई नजिकबाट नियालेका छन्। उनलाई यो कुनै योजनाबद्ध हिसाबले भएको विकास लाग्दैन। यसलाई उनी मानिसको चाप र समयक्रमसँगै हुँदै गएको सुविधाको क्रमिक विकासमात्रै मान्छन्।
उनको विचारमा न यो सहर बालबालिकामैत्री छ न महिलामैत्री। साँझ पर्न नपाई सार्वजनिक यातायात नपाउनुको झमेला देख्दा उनको मन पोल्छ। 'काम गर्न बसेका सरकारी कर्मचारीले मनोमानी नगरी राम्रोसँग काम गरे धेरै समस्या सुल्झन्थ्यो,' उनले भने, 'विकासका काममा साना निकायलाई पनि जिम्मेवार बनाउनुपर्छ। यथोचित बजेटको व्यवस्था गरेर उनीहरूले गरेको कामको अनुमगन स्थिानीय स्तरमै पनि हुनुपर्छ।'
सवारी सास्ती
सार्वजनिक यातायातको अव्यवस्थाले राजधानीमा रहेका सर्वसाधारणले सास्ती भोगिरहेका छन्। गोंगबु बस्ने २० वर्षीया अजिता उपाध्याय राजधानीमा साझा यातायातजस्तो ठूलो बसको खाँचो औंल्याउँछिन्। 'साझामा धेरै मान्छे पनि चढ्न मिल्छ,' उनले भनिन्, 'सिटै नपाए पनि उभिन त सजिलो हुन्छ। साना सवारी नहटाएसम्म जामको समस्या उस्तै हो।' उनको विचारमा सबैको चासोको विषय सार्वजनिक शौचालयको अभाव पनि हो। 'यहाँ सार्वजनिक शौचालय छैन भन्दा हुन्छ,' उनले भनिन्, 'जति छन्, तिनको दुर्गन्धले छिर्नै सकिन्न।'
रेवती अधिकारी काठमाडौं बालाजुकै बासिन्दा हुन्। सार्वजनिक यातायातको प्रयोगकर्ता उनलाई पनि गाडी चढ्ने कुरा सुन्नेबित्तिकै कन्सिरी तात्छ। दिनदिनै सहचालकको रुखो बोली, अभद्र व्यवहार र ठेलमठेलले उनी आजित भएकी छिन्। 'बस्नेभन्दा उठ्ने यात्रु धेरै हुन्छन्। बिहान–बेलुका सधैं गाडी चढ्न कुस्ती नै खेल्नुपर्छ,' उनले भनिन्, 'ठूला सवारी साधन भए त सास्ती कम हुन्थ्यो कि।'
पछिल्लो समय केही सडक विस्तारले सहर केही सुन्दर देखिए पनि सार्वजनिक यातायात र साँघुरा सडक नै ठूलो समस्या रहेको बुझाइ छ, कौशलटार बस्दै आएकी सुनु श्रेष्ठको। 'सानो सार्वजनिक धेरै हुँदा पहिलो समस्या यात्रुलाई पर्छ। सडकमा जामको समस्या पनि उत्तिकै,' उनले भनिन्, 'उभिएर नै कष्टपूर्वक यात्रा गर्नुपर्छ। यस्तोमा महिलामाथि हुने दुर्व्यवहारले थप कष्ट दिएको छ।'
यस्तो समस्या समाधानका लागि साझा यातायातजस्तो लामो आकारको बस चलाउनुपर्ने उनको तर्क छ। 'अहिलेको बजेटमा पनि ४० सिटे गाडीमा ९५ प्रतिशत कर छुटमा आयात गर्ने व्यवस्था गरिएको छ,' उनले भनिन्, 'यातायात व्यावसायीले यसको लाभ उठाएर यात्रुलाई सुविधा दिनुपर्छ। यसले ट्राफिक जाम तथा सवारी नपाउने समस्या समाधान गर्न सक्छ।'
रेवतीलाई राजधानीमा दिक्क लाग्ने अर्को पाटो भनेकै साँघुरा सडकपेटी हुन्। काठमाडौंका सडक चौडा पारिएपछि सडकपेटी साँघुरिएकाले पैदलयात्रुलाई समस्या हुने गरेको उनी बताउँछिन्। 'दुई जना सगँसँगै हिँडिसकेपछि तेस्रो व्यक्तिलाई हिँड्नै मुस्किल पर्छ,' उनले भनिन्, 'केही सडकपेटी त एक जनाभन्दा बढी हिँड्नै नमिल्ने खालका पनि छन्। त्यसमाथि सडकपेटीमै राखिएका फुटपाथे पसलले अझ तनाव थपिदिन्छ।
'मलाई त प्रत्येक गर्मीयाममा धुलोले गर्दा आँखामा एलर्जी हुने गरेको छ,' काठमाडौंलाई प्रदूषणको राजधानी भन्दा फरक नपर्ने उनको तर्क छ।
छाडा चौपाया
सडकमा छाडा छोडिने चौपाया अर्को ठूलो समस्या हुन्। केही समययता काठमाडौं महानगरपालिकाले छाडा चौपायालाई नियन्त्रणमा लिने गरे पनि राख्ने ठाउँको अभाव हुँदा त्यसलाई निरन्तरता दिन सकेको छैन।
कीर्तिपुर निवासी कपिल बस्नेतसँग चौपायाका कारण दुर्घटनामा परेको तितो अनुभव छ। प्रेमिका भेट्न आफ्नो कोठाबाट चिटिक्क परेर निस्केका उनको बाइक बल्खु नपुग्दै छाडा छोडिएको बहरसँग ठोकिन पुग्यो। उनी हिलाम्मे सडकमा बर्लङ्ग बजारिए। लुगा हिलाम्मे भयो। हात र खुट्टामा चोट लाग्यो। चिटिक्क परेर डेटिङमा हिँडेका उनी मेडिकलमा उपचार गराएर घर फर्किनुपरेको थियो।
विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्नेका लागि टाउको दुखाइको विषय डेराको समस्या पनि हो। काठमाडौं शंखमूलमा १० वर्षदेखि डेरामा बस्दै आएकी सन्ध्या श्रेष्ठ घरबेटीको किचकिचबाट यति बेला तनावमा छिन्। उनका अनुसार घरबेटीले आवश्यक रकम लिए पनि बहालमा बस्नेलाई न्युनतम सुविधा पनि दिँदैनन्। यस्तै कारण उनी एउटा घरमा केही महिनामात्रै बस्दै आएकी छिन्। 'शंखमूलमा चार वटा कोठासहितको फ्ल्याट लिएर बस्दा चार महिना पनि चार वर्षजस्तो लागेको थियो,' उनले भनिन्, 'महिना पूरा नहुँदै भाडा उठाउन आउने घरबेटीले खानेपानी कहिले पनि उपलब्ध गराएनन्।' घरमा पाहुना आउँदा बाथरुम र इनारको पानी बन्द गरिदिने घरबेटीको व्यवहारले आजित भएकी उनले एकपटक त प्रहरी नै बोलाएकी थिइन्। 'सुविधाअनुसार घरभाडा दर निर्धारण गर्ने मापदण्डको व्यवस्था गरिनुपर्यो ,' अब बन्ने संविधानले घर भाडामा बस्नेहरूको न्युनतम सुविधा उल्लेख गर्नुपर्ने माग राख्दै उनले भनिन्।
अस्तव्यस्त राजधानी देखेर आजित हुनेहरू यसमा सुधार आउनेमा आशावादी भने छन्। अधिकांशलाई सरकारले भन्दा नागरिकले नै सहरलाई व्यवस्थित बनाउने अभिभारा लिए छिट्टै परिवर्तन हुने उनीहरूको अपेक्षा छ। बानेश्वर कि बबिता पाठकका अनुसार स्थानीयले सरकारको खिल्ली उडाउन हिलो बाटोमा धान रोप्नुको साटो हिँड्नलाई सहज बनाउन ढुंगा हाले राम्रो हुन्थ्यो। 'नछिर्नु हिलोमा छिरिसकेपछि सबैलाई सजिलो हुनेगरी ढुंगा हालेको भए हुन्थ्यो,' उनले भनिन्, 'एक छिन सरकारको खिल्ली उडाएर के गर्नु? भोलिदेखि फेरि त्यही हिलो कुल्चिने त?' यस्ता स–साना कुरामा ध्यान दिने हो भने सरकारलाई गाली गर्ने नपर्ने बताउँछिन्, उनी।
शंकरदेव क्याम्पसका विद्यार्थी मनोजकुमार भट्ट पनि अनेक समस्याका बीच आफू आशावादी रहेको बताउँछन्। 'बिस्तारै परिवर्तन हुँदै गइरहेको छ,' उनको सकारात्मक जवाफ छ, 'अवश्य नै हाम्रो राजधानी सुन्दर र हराभरा हुनेछ।'
प्रकाशित: ८ श्रावण २०७२ २२:५० शुक्रबार





