१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

‘नयाँ’ भनिएकाहरूको एकता १२ दिन टिकेन

कुलमानको दुखेसो: रास्वपासँगका १२ दिन जीवनकै पीडादायी

पुस १३ गते सबेरै एउटा तस्बिरले नेपाली राजनीति तरंगित पार्‍यो । तस्बिरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सँगै बसेर केही थान पत्रमा हस्ताक्षर गर्दै थिए। 

ती पत्र थिए, रवि–बालेन सात बुँदे सम्झौताका । सम्झौताअनुसार बालेन रास्वपामा गाभिने भए, रास्वपाले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने भए। 

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले देश अन्योलमा छ । पुराना दलमाथि राजनीतिक वृत्तमा केही लाञ्छना लागेका छन् । उनीहरूप्रति नकारात्मक भाष्य छरपस्ट छन्। 

यही बेला सामाजिक सञ्जालमा ठुलो संख्यामा ‘फ्यान फलोइङ’ भएका नेताहरू बालेन–रवि एकै ठाउँमा आउँदा मुलुकको राजनीति तरंगित हुने नै भयो । उनीहरूका समर्थकले त्यहीँ एकतालाई ब्रान्डिङ गर्दै थप राजनीतिक माहोल बनाउन थाले। 

दोस्रो दिन(पुस १४ गते) थप अर्को तस्बिर उसैगरी आयो । त्यसमा पछिल्लो समय लोकप्रिय मानिएका, तत्कालीन मन्त्री कुलमान घिसिङ पनि थपिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएर चर्चा कमाएका उनलाई एकथरी जमातले ‘उज्यालो अभियन्ता’का रूपमा प्रसिद्धि दिन्छ । दशकअघि नेपालमा व्याप्त लोडसेडिङ हटाउन भूमिका खेलेकामा उनको बलियो ब्रान्डिङ गरिएको छ । जसको जगमा उनी लोकप्रिय नेता बन्ने होडमा छन्। 

यसरी पछिल्लो समय तीन ‘लोकप्रिय’ भनिएका पात्रहरू एकै फ्रेममा समाहित भएर, एउटै पार्टी बनाएर चुनावमा गए पुराना दललाई चुनौती सिर्जना गर्ने अड्कलबाजी चलिरहेको थियो । रास्वपाले त चुनावमा अब आफ्नो बहुमत ल्याउन कसैले रोक्न नसक्ने भन्न थालेको थियो । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले फागुन २१ को निर्वाचनमा रास्वपा १५१ सिट जित्ने घोषणा गर्न थालेका थिए, भने सभापति लामिछाने उनै स्वर्णिमलाई आगामी वर्षको बजेट लेख्न आह्वान नै गर्न थालेका थिए। 

तर, नयाँ भनिएकाहरूको त्यो एकता १२ दिन पनि नटिक्दै भताभुङ्ग हुने क्रम सुरु भएको छ । पहिलो चरणमा रास्वपासँग कुलमान नेतृत्व समूह बाहिरिएको छ । उनी सम्मिलित उज्यालो नेपाल पार्टी(उनेपा)सँगको एकता रास्वपाले भंगको घोषणा गरेको छ । 

रास्वपा र उनेपाबिच १२ दिनसम्म चलेको शक्ति बाँडफाँट र समायोजनको विषयमा सहमति जुट्न नसकेपछि दुवै शनिवार एकता भंगको घोषणा गरेका छन् । पहिले यो निर्णय रास्वपाले नै गरेको हो ।    

रास्वपाले शनिवार आकस्मिक रूपमा सचिवालय बैठक डाँकेर अब कुलमानसँगै अघि बढ्न नसकिने निष्कर्ष निकालेको थियो । बैठकमा सभापति रविले उनेपा पक्षबाट दिनहुँ नयाँ नयाँ माग आइरहेको, ती मागहरू पूरा गर्न सकिने अवस्था नरहेको र ती मागकै कारण भविष्यमा पार्टीको एकता खलबलिन सक्ने भएकाले अगाडि बढ्न नसकिने निष्कर्ष सुनाएका थिए । 

रास्वपाका अनुसार कुलमानले बालेन भन्दा माथिल्लो वरियतासहित पार्टीमा स्थान खोजेका थिए । तर, रास्वपाले बालेनलाई वरिष्ठ नेता बनाएर सभापति रविपछिको वरियता दिइसकेकाले कुरा मिल्न नसकेको बताएको छ । 

‘कुलमान घिसिङ जीको वरियता, महामन्त्रीसहित पदाधिकारी, केन्द्रीय समिति र समानुपातिकमा ठुलो संख्यामा सुनिश्चितता जस्ता सहमति गर्दा नआएका कुरा नै ल्याएर उहाँहरू अनावश्यक झमेला गरिरहनुभयो,’ रास्वपा नेता शिशिर खनालले भने,‘पार्टीकै नाम फेर्नुपर्ने, कतिपय मान्नै नसकिने राजनीतिक एजेन्डा पनि आएपछि एकता अगाडि बढाउन नसकिने निष्कर्षमा पुगेका हौँ ।’ 

उता उनेपा पक्षमा ठुलो संख्यामा पहिचानवादी राजनीतिबाट आएको शक्ति पनि थियो । उनीहरूले रास्वपाको वैचारिक स्पष्टता, संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणालीमा पनि स्पष्टता खोजेका थिए । त्यसमा पूरक सम्झौता हुनुपर्ने उनेपा पक्षको माग थियो । जसमा सबैजसो कुरामा रास्वपा पूर्णतः सहमत देखिएन । 

रास्वपाले एकता भंगको निर्णय गरे लगत्तै उनेपाको पनि केन्द्रीय समिति बैठक बसेको थियो । उनेपाले पनि रास्वपासँगको एकता भंग गर्दै आफ्नै पार्टी अघि बढाउने निर्णय गरेका छ । यस्तै यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई उक्त भूमिकाबाट बिदा गर्दै कुलमानलाई अध्यक्ष बनाएको छ । 

कुलमानले आफूहरू लचक हुँदाहुँदै पनि रास्वपाले एकतर्फी एकता भंग गरेको गुनासो गरे । ‘हामीले एकता जोगाउन धेरै हदसम्म लचक भएका हौँ । मैले प्रधानमन्त्री पनि चाहिँदैन, उपसभापति पनि चाहिँदैन, म सदस्य मात्रै बस्छु पनि भनेको हुँ,’ बैठकपछि पत्रकार सम्मेलन गर्दै कुलमानले भने, ‘तर उहाँहरूले गलत हल्ला फैल्याइरहनुभएको छ । उहाँहरूले भने जस्तो हामीले बार्गेनिङ पनि गरेका छैनौँ ।’ 

तर, रास्वपाबाट आफूहरूमाथि अपमान भएको कुलमानले आरोप लगाए । ‘उहाँहरूलाई हामी नचाहिएको जस्तो देखियो । हामी जबरजस्ती गएर मिलेजस्तो व्यवहार गरियो । तै पनि देश र जनताको, जेनजी भावनाअनुसार एकता जोगाउन हामी लागेकै हौँ,’ उनले अगाडि भने । तर, कुरा गर्दागर्दै एकाएक रास्वपाबाटै एकता भंगको कुरा आएको उनले बताए।

‘सुदनले जबरजस्ती गरे, हतारमा एकता’ 

उनेपाले रास्वपासँगको निकै हतारमा भएको पनि निष्कर्ष निकालेको छ । त्यसो गराउनमा हामी नेपालका संस्थापक सुदन गुरुङको भूमिका रहेको पनि कुलमानले बताए । समानुपातिक सूची बुझाउने अन्तिम दिन (पुस १४ गते) राति ८–९ बजे हतारमा सम्झौता गराइएको उनले बताए । त्यसो गर्दा आफूहरूले समानुपातिक सूची समेत बुझाउन नपाएको उनको गुनासो छ।

‘उहाँ(सुदन)हरूले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिलेको हो। जेनजीका साथीहरूको भावना सम्पूर्ण नेपालीको भावना कदर गर्नुपर्छ भनेर मिलेको हो,’ कुलमानले भने। ‘वास्तवमा यो हाम्रा लागि पछिल्ला १२ दिन अत्यन्त पीडादायी भयो, अत्यन्तै हाम्रो साथीहरू समर्थक र शुभेच्छुक साथीहरूलाई पीडा भएको छ,’ कुलमानले भने । रास्वपाले आफूहरूलाई पूरै व्यस्त राखेर कुनै गतिविधि गर्न नदिएको र अन्तिममा एकता नै भंग गरेर धोका दिएको उनले सुनाए। 

चिममै चुनाव लड्ने, १६५ क्षेत्रमै उम्मेदवारी 

उनेपा अध्यक्ष कुलमानले अब ‘चिम’ चुनाव चिन्हमै प्रत्यक्ष निर्वाचन लड्ने बताए । यस्तै १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने पनि बताए । समानुपातिकका विषयमा रास्वपामा सम्मिलित आफ्ना उम्मेदवार सम्भवतः रास्वपाले हटाइसकेको जानकारी दिए ।

‘समानुपातिकमा सकेसम्म अर्को कुनै दलसँग सहकार्य गर्छौँ । नमिले प्रत्यक्ष मात्रै भए पनि चुनावमा सहभागी हुन्छौँ,’ कुलमानले भने। चुनावी गठबन्धनका लागि भने सबै दलसँग खुल्ला रहेको पनि उनले सुनाए। उनले भने,‘रास्वपासँग पनि गठबन्धन हुनसक्छ । हामी सबैसँग, सबै विकल्पमा खुला रहनेछौँ।’

प्रकाशित: २६ पुस २०८२ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App