९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनाव वैशाख २१ मा सार्न निलकण्ठ उप्रेतीको सुझाव

फाइल तस्बिर

पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आगामी निर्वाचन वैशाख २१ गते सारेर गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर दिन निर्वाचन तोकिएको मितिभन्दा करिब दुई महिना पछि सार्नुपर्ने उनको तर्क छ ।

शनिबार काठमाडौंमा आयोजित फागुन २१ मा तय निर्वाचनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उप्रेतीले लोकतन्त्रमा प्रत्येक नागरिकलाई मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्नुपर्ने बताए । तोकिएको मितिमा निर्वाचन गर्दा देशबाहिर रहेका मतदाताको सहभागिता सुनिश्चित गर्न कठिन हुने भएकाले केही समय पछि सारेर आवश्यक व्यवस्था मिलाउन सकिने उनको भनाइ थियो ।

‘वैशाख २१ गते निर्वाचन गर्दा के फरक पर्छ भन्ने मेरो धारणा हो,’ उनले भने, ‘भित्री र बाहिरी दुवै मतदातालाई मतदान गर्ने अधिकार दिन समस्या समाधान गर्न सकिन्थ्यो । संसारमा विभिन्न प्रविधि उपलब्ध छन्, ती प्रविधि प्रयोग गर्न सक्ने पर्याप्त विशेषज्ञ पनि हामीसँग छन् । त्यसलाई उपयोग गरेर हामी यो काम गर्न सक्छौं जस्तो लाग्छ ।’ उप्रेतीले ११९ वटा विभिन्न मुलुकमा रहेका नेपाली मतदातालाई पनि मतदानको अधिकार दिनुपर्नेमा जोड दिए ।

यद्यपि कार्यक्रममा बोल्दै पूर्वकार्यवाहक तथा पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्नुपर्ने स्पष्ट धारणा राखे । ‘निर्वाचन तोकिएको मितिमै हुन्छ, हामीले गर्नैपर्छ,’ उनले भने, ‘जेन–जी आन्दोलनले हामीलाई थप सचेत र सजग बनाएको छ, त्यसैले सबै मिलेर निर्वाचन सफल बनाउनुपर्छ ।’

त्यस्तै, संविधानसभा सदस्य तथा कानूनविद् डा. खिमलाल देवकोटाले विद्यमान संवैधानिक प्रावधानमा संशोधन नगरी गरिने निर्वाचनले मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने दाबी गरे ।

 

प्रकाशित: २६ पुस २०८२ २०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App