१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरूमध्येबाट १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ। त्यस वर्ष एक लाख ७९ हजार ३९ जना व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए।

सुरक्षित आप्रवासन (सामी), ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले बताए।

धनुषाबाट ३८ हजार ५५३, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सिरहाबाट ३० हजार २११, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएका थिए।

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या सर्लाहीबाट एक हजार ३८९, बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४ छन्।

यसैगरी, सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रमा सेवा तथा परामर्श लिनेको सङ्ख्या कूल ६३ हजार १४० छ। जसमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति हुन्।

श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माले गत आर्थिक वर्ष २०८२/८३ मा ६७५ समस्या समाधान गरिएको बताए। उनले १५९ पीडितलाई पीडकबाट २२ करोड एक लाख ७८ हजार ४०३  रुपैयाँ फिर्ता गरिएको बताए।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, सीप, लागत, बीमा, कानुनी अधिकार लगायतका विषयमा सूचना तथा परामर्श प्रदान गर्दै आएको छ।

श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

वैदेशिक रोजगारीमा जानुअघि सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धन्जयकुमार सिंहको अध्यक्षतामा भएको थियो।

प्रकाशित: १० भाद्र २०८३ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App