बिहान भेट्नेबित्तिकै भन्दै थिए, 'बिरामी छु।'
त्यही साँझ उनी मण्डला थियटरको मञ्चमा नाटक 'कोही किन बर्बाद होस्'मा प्रिन्सिपलको भूमिका गरिरहँदा भने बिलकुल तन्दुरुस्त देखिए। कामप्रतिको लगाव, शरीरमा चरित्र धारण गरेपछि आफैँलाई बिर्सिदिने शक्तिले नाटकका दर्शकमा सुनील- सम्मोहन बलियो छ। सुनीलसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः
मञ्चमा पुगेपछि आफूमा नाटकको पात्र कसरी बिताउनुहुन्छ?
वास्तवमा म पूरै पात्रभित्र छिर्दिनँ। अर्थात्, जिरोबाट सुरु गर्दिनँ। आधा पात्र, आधा आफ्नै अनुभव मिसाएर अभिनय गर्छु।
पात्रलाई यसरी आत्मसात् गर्नुहुन्छ। नाटक सकिएपछिसम्म पनि यिनले पछ्याउँछन्?
नाटकको ह्याङओभर पछिसम्म रहन्छ। मलाई जीवनमा नाटकका पात्रले धेरै दुःख दिएका छन्। वास्तविक जीवनमा ती फर्केर आइदिँदा निकै दुःख पाइन्छ।
ती पात्र फर्केर आएर के–केसम्म गरे?
एकदम धेरै गरेका छन्। सबै कुरा सेयर गर्नु हुँदैन।
कुन नाटकको पात्रले सबैभन्दा धेरै दुःख दियो?
ठाडै अर्थ लाग्छ, नाइँ। त्यो भन्यो भने त सबै कुरा सार्वजनिक भइगयो नि। जीवनमा रहस्य भन्ने चिज पनि बाँकी रहनुपर्छ।
(जीवनका बहुहिस्सा नाटककै लागि बिताएका उनले धेरै नाटक गरेका छन्। तीन नाटक 'न्यायप्रेमी', 'असम्बन्धित' र 'खरीको घेरो'बाट आफू तृप्त भएको बताउँछन् पनि। विजय मल्ललिखित 'कोही किन बर्बाद होस्'मा अभिनय गर्ने उनी आफैँले आकांक्षा राखेका हुन्।)
यो नाटक गर्न यति धेरै लालायित हुनुको रहस्य के हो?
आदरणीय दाइ विजय मल्लले लेखेको यो नाटकसँग मेरा केही संयोग छन्। कक्षा ९ मा पढ्दै गर्दा स्कुलमा मलाई नाटक खेल्न ध्रुवेको भूमिकामा चयन गरिएको थियो। साह्रै लज्जालु थिएँ। पछि नाटकमै आउँछु भन्ने के थाहा? गरिनँ। २०३६ सालमा एकेडेमीमा प्रशिक्षणका लागि छनोट गर्ने प्रक्रियामा मैले यही नाटकको जीवनाथ पात्रको अभिनय गरेँ। उमेरअनुसार यो नाटकका फरक पात्रमा अभिनय गर्नु पाउनु पनि संयोग हो। त्यसैले यसपटक गुरुको भूमिकामा आफैँ गर्ने इच्छा देखाएको हुँ। त्यसमाथि नाटकको निर्देशक शंकर रिजाल मेरो प्रिय भाइ हो। उसलाई 'सपोर्ट' होस् भन्ने पनि लाग्यो। मैले अभिनय नगर्याम चार/पाँच वर्ष भएको थियो। फर्किन पनि मन लाग्यो।
लामो समयपछि अभिनयमा फर्किनुभएको छ। कत्तिको गाह्रो हुँदो रहेछ?
कन्सस भइँदो रै'छ, गाह्रो हुँदो रै'छ।
उमेरले कि ग्यापले?
स्टामिना त मेरो छ अझै। तर, डर लाग्दो रै'छ।
के–केले तर्साउँदा रहेछन्?
आफैंसँग डराउनुपर्छ नि। अरू कोहीसँग प्रतिस्पर्धाको कुरो होइन यो। मैले नराम्रो गरेँ भने मलाई नै घाटा पुग्छ नि। आफूले गरेको अभिनयसँग स्पर्धा पनि गर्नुपर्योि। पहिलेभन्दा अझ राम्रो गर्नुपर्यो्।
तपाईंका पुराना दर्शकले पनि नाटक हेरिरहेका छन्। कस्तो छ भन्छन्?
सबैले राम्रै भन्छन्। तर, हिजो (शनिवार) अभि दाइ (अभि सुवेदी) आउनुभएको थियो। उहाँसँग भेट्न पाइनँ। फोन गरेर 'गाली गर्नुस्' भन्नेछु।
लामो समयदेखि अभिनयको गुरु पनि भइरहनुभएको छ। यो नाटकमा पनि गुरु हुुनुहुन्छ। आफ्नो दैनिकीजस्तै लाग्दो हो?
परिवेश फरक छ। तर, म मेरा व्यक्तिगत जीवनका अनुभवलाई नाटकमा प्रयोग गर्छु। यो मेरो अभिनयको 'मेथोड' पनि हो।
(अहिले रंगकर्म सम्मानित छ, विस्तारित छ र धेरै यसतर्फ आकर्षित पनि छन्। यी कुराको प्रसंग आउँदा बिरामी सुनील उत्साहित हुन्छन्। दुईजना दर्शकलाई नाटक देखाएर आरोहण गुरुकुलमा नाटक मञ्चन थालेका उनी त्यो समयका दर्शक र अहिलेका फरक देख्दैनन्। केबल फरक देख्छन्– माहोल।)
रंगमञ्चको वर्तमान स्थिति नियाल्दा के–के फेरिएछन्?
पहिला गुरुकुलमात्रै थियो, अहिले पाँच/छ वटा नाटकघर छन्। सबैतिर नाटक छन् र दर्शक पनि गइरहेका छन्। 'द्याट्स गुड' नि।
कुनै दिन दुईजना दर्शकमाझ नाटक देखाइरहँदा यो माहोलको अपेक्षा थियो?
तीनटा जति नाटकघर काठमाडौँमा चल्छन्जस्तो लागेको थियो। छ वटा छन्, चलिरहेका छन्। यो अपेक्षाभन्दा बढी हो।
(सुनील संयोगमा असाध्यै विश्वास गर्छन्। जीवन स्वयं एउटा संयोग हो भन्छन्। जीवनमा आइलाग्ने धेरै कुरा संयोग हुन् भन्छन्। जस्तो कि आफू नाटकमा आइपुग्नु पनि।)
कस्तो थियो त्यो संयोग?
रमेश बुढाथोकी मेरो क्लासमेट थियो। उसको संगतले नाटकमा आएँ। जँघार पसिसकेपछि तिघ्रा किन कमाउनु भनेर यतैतिर हेलिएँ।
तपाईंले अभिनय गरेको पहिलो नाटक कुन थियो?
'सत्यको खोज'। मैले पर्दापछडि रहेर उद्घोषण गरेको थिएँ।
कुनबाट देखियो अनुहार?
'धुवाँ' भन्ने नाटकबाट।
अहिले तपाईंका विद्यार्थी जताततै फैलिरहेका छन्। खुशी लाग्दो हो नि?
खुशी त लाग्छ तर ती राम्रा विद्यार्थी पाउनु पनि एउटा संयोग हो।
संयोगमा विश्वास गर्नुहुन्छ। तपाईंको जीवनको सबैभन्दा सुन्दर संयोग के हो?
निशा (शर्मा) सँग भेट हुनु।
(जीवनभर अभिनय गर्न र अभिनय सिकाउनमै व्यस्त छन्। नाटकतिर नआएका भए शिक्षक हुन्थे। किनभने, स्कुल पढाउने शिक्षक हुने सपना थियो उनको। तर, सुनील आफूले अभिनय सिकाइरहेको कुरा स्विकार्न चाहँदैनन्।)
त्यसो भए यतिका शिष्यहरूलाई के सिकाएर पठाउनुहुन्छ?
अभिनय त जसले पनि सिकाउन सक्छ वा जानेको हुन्छ। म त जीवन र अभिनयको 'कनेक्सन' कहाँनेर छ, त्यो सिकाउने कोसिस गर्छु।
जीवन र अभिनयबीच अन्तर त पक्कै पनि छ?
अभिनय हावाबाट त आउने होइन। त्यो जीवनबाट आउने हो। आफ्ना अनुभव र भोगाइबाट आउने हो। त्यही चिज हामी 'मिस' गरिरहेका हुन्छौँ। म त्यही कुरा सिकाउँछु।
यही दृष्टिबाट हामीले बाटोमा हिँडिरहेका मान्छेलाई हेर्यौँ भने ऊ जीवन जिइरहेको जस्तो देखिएला वा एक्टिङ गरिरहेको?
जीवन र एक्टिङमा फरकै छैन। हामी सोच्छौँ, एक्टिङ भनेको लाउड गर्नुपर्छ, त्यहीँनेर चुकिरहेका हुन्छौँ। जसले जीवनका भोगाइ जस्ताको तस्तै उतार्न सक्छ, त्यही हो राम्रो एक्टर। हरेक मान्छेले जीवन पनि भोगिरहेको र सँगै एक्टिङ पनि गरिरहेको हुन्छ। जस्तोः तपाईं आफ्नो सम्पादकसँग कस्तो व्यवहार गर्नुहुन्छ र भाइसँग कस्तो गर्नुहुन्छ? हो, यस्तै फरक पात्रसँग फरक व्यवहार गर्नु वा फरक पात्र हुँदा फरक हुनु नै एक्टिङ हो र जीवन यसरी नै जिइरहेका छौँ। अभिनय र जीवनबीच साह्रै पातलो रेखा छ।
(उनका चेलाहरू फिल्म क्षेत्रमा छन् र जमिरहेका छन्। तर, उनले आफ्नो अभिनय जीवनको उत्कर्षमा समेत फिल्ममा अभिनय गर्ने मोह राखेनन्। )
आफ्ना चेलाहरू फिल्मतिर बढी आकर्षित भइरहेको कस्तो लाग्छ तपाईंलाई?
यो त राम्रो नि । फिल्म र नाटक एकअर्काका दुश्मन त होइनन्। उनीहरूले इज्जत कमाइरहेका छन्।
(दाम कमाउने कुरालाई उनले महत्वमा राखेनन्। 'दाम पनि' भनेर जोड्दा हाँसेर टारिदिए।)
कस्ता लाग्छन् नेपाली फिल्म?
पछिल्लो समय राम्रा फिल्म बनिरहेका छन्। त्यति फिल्म हेर्दिनँ। पछिल्लो समय 'कबड्डी' हेरेँ, मन पर्योै। निगम श्रेष्ठले बनाउन लागेको 'जार' र अपिल विष्टको 'झुम्की'बाट पनि अपेक्षा छ।
नाटकबाहेक के कुरामा रुचि छ?
पढ्छु, घुम्छु। नेपालका पाँचवटा जिल्ला पुग्न बाँकी छ। मेरो 'पर्सनल लाइब्रेरी' पनि शानदार छ।
प्रकाशित: २४ पुस २०७१ ००:३३ बिहीबार





